• बुधबार-बैशाख-१२-२०८१

जापानको नागोयामा नेपाल फेस्टिवलको तयारी तिब्र

 

नागोया, जेठ २३ । जापानको तेश्रो ठुलो शहर नागोयामा नेपाल फेस्टिवल हुने भएको छ । यसका निम्ति आवश्यक तयारी तिब्र गतिमा अघि बढिरहेको आयोजकले बताएका छन् । उक्त फेस्टिवल नेपाली राजदुतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन लागेको हो । फेस्टिवललाई सफलतापूर्वक सम्पन्न गर्न जापानस्थित विभिन्न संघसंस्थाहरु सहआयोजकका रूपमा रहने बताइएको छ । नागोयास्थित साकायामा जुन १५ र १६ गरि दुई दिन सञ्चालन हुने फेस्टिवललाई भव्य र सभ्य बनाउन मूल आयोजक समिति र विभिन्न उपसमितिहरु लागिपरेका छन् ।

 

पहिलो दिन जुन १५ मा जापानका लागि नेपाली राजदुत् प्रतिभा राना बाट उद्घाटन हुने उक्त फेष्टिवलमा आइची प्रिफेक्चरका गभर्नर ,नागोयाका उपमेयर,ओबु सिटीका मेयर,जापानका सांसद लगाएत जापानका उच्च अधिकारीहरु विशिष्ट अतिथिका रुपमा उपस्थिति रहने कार्यक्रम संयोजक एवं एनआरएनए एसिया प्यासिफिक उप(संयोजक पारस मणि पोखरेलले बताए । कार्यक्रममा एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, अमेरिका संयोजक गौरीराज जोशी लगाएतका पदाधिकारीहरुको पनि उपस्थिति हुने बताइएको छ । 


नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा जापानीहरुलाई नेपाल चिनाउन जापानको नागोयामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए जापानका पूर्व अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक पोखरेलको भनाई छ । साथै अब देखि प्रत्येक बर्ष नागोयामा पनि फेष्टिवललाई निरन्तरता दिने बताए । फेस्टिवलको अन्तिम तयारीको वारेमा छलफलको लागी एनआरएनएका केन्द्रिय अध्यक्ष भवन भट्ट,जापानका लागी नेपाली राजदुत प्रतिभा राणाको उपस्थितीमा नागोयामा जुन १४ मा वृहत भेला हुने बताइएको छ ।

 

फेष्टिवल जापानमा रहेका सवै नेपालीहरुको साझा कार्यक्रम भएकोले यसलाई भव्य र सभ्य तरिकाबाट सम्पन्न गर्न लागिपरेको नेपाल फेष्टिवल आयोजक समितिका उप(संयोजक यम खत्रीले बताए । साथै सबै नेपालीहरुलाई उक्त फेष्टिवलमा सहभागी हुन खत्रीले अनुरोध पनि गरेका छन् । जापानमा नेपालीहरुको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यस प्रकारको फेष्टिवलले नेपाली नेपालीहरु विच एकआपसमा मेलमिलाप कायम गर्ने र जापानमा नेपालको कला र संस्कृतिहरु प्रदर्शन गरी दुईदेशबीचका सांस्कृतिक तथा पयर्टकीय सौहार्दता कायम गर्न सकिने आयोजकको दाबी छ । 

 


फेष्टिवलमा विभिन्न समुदायका नेपाली झाँकीनाच प्रस्तुत साथै स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक कार्यक्रम पनि रहेको छ । कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , जातिय नुत्य तथा  नेपाली फेसन सो र नेपाली पंचेवाजाहरुको समेत प्रस्तुति रहने आयोजकले बताउँछन् ।
 

प्रतिकृया दिनुहोस