• बिहीबार-बैशाख-१३-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

सरकारले गएको साता पस्तुत गरेको नयाँ बजेटले
सरकारले रिझाउन खोजेको तप्का र समूहमा एक प्रकारको प्रसन्नता छ ।


त्यो साँचो हो, त्यसलाई लिएर खिचलो उठाइ रहनुहुन्न ।


सरकारको समृद्धिको यात्रामा ‘रिझाउनु’ भन्दा अर्को विकल्प पनि थिएन ।


‘रिझाउनु’ सरकारको बजेटको मेरुदण्ड हुन्छ, जब ।


भन्नै पर्छ, जुत्ता लाएर गाडी चलाउँदा मात्र सुरक्षित होइन्छ ।


मुलुकको पूर्वी शहर धरान पुग्नु अघि तरिने सेउती खोला पारि
एकजोर जुत्ताको तस्बिरमा ध्यान तानिने विज्ञापन बोर्ड राखिएको छ ।


गाडी चलाउँदा जुत्ता लाए सुरक्षित होइन्छ भनेर ।


हेर्दा सामान्य र कसैलाई नबिझाउने विज्ञापन बोर्ड छ ।


गाडी लाइनमा भएकाहरू गाडी चलाउँदा जुत्ता लाउँदैनन, सामान्य विषय हो ।


पूर्वतिर गाडी दुर्घटनाका कारक पनि त्यसलाई मानिएको छ, त्यो पनि सामान्य हो ।


विज्ञापनको बिषयलाई अधिकांश सार्वजनिक गाडी चलाउनेहरू बेवास्ता गर्दछन् ।


तर, त्यो विज्ञापनले एउटा नेपालीलाई धेरै कुरामा हसाउँछ ।


तपाईलाई सामान्य थेत्तर मान्छे जस्तै हाँस्न मन लाग्दैन, फाल्टु कुरा हो । 

यतिखेर सरकारले आफ्नो खर्च बर्चको बजेट पेश गरिरहँदा


समृद्ध नेपालको कुन चार्हि धुलो टकटक्याइएको हो ।


कम्तीमा धरानका मानिसहरूलाई चाहिं पत्तो छैन ।


बगर खोलामा खाइने  सँुुगुर खुरमा पनि त्यो देखिएको छैन ।


पूर्वी पहाडका सदरमुकाम केन्द्रहरूमा आजभोलि ध्यान तानिने दृश्य देखिन्छन् ।


रातभरि लरिकालरि झर्दो गोरुका बथान
र, दिनभरि लर्कोलर्कोमा तल झर्दो तन्नेरी हुल ।


बजेट त आयो हौ भनेर तिनलाई टोक्नुस् कि
ती खितिखिति हाँस्छन् र ठाडो घाँटी लाएर खोए बिक्रे तान्छन् ।


तिनको हातमा उमेर बढाएर बनाएको नागरिकता र पासपोर्टको कपी हुन्छ ।


जस्तो गोरुहरूको कुदाई पारि सिमानासम्म हुन्छ ।


त्यस्तै तिनको सपनाको रेल जपान र कोरियासम्म मात्र हुन्छ ।


माफ गर्नुस्, लिड्डीय विभेद नभन्नु होला ।


पुरुष जनेन्द्रीय हुनेहरू पहाडमा अटाएनन् ।


चाहे ती गोरु हुन कि तन्नेरी पुरुष ।


खेदी खेदी लाहुर भएको पहाड हो ।


खेदिएर सपना खोजी हिंड्नेहरूबाट फेरि पनि सुनसान छ ।


पहाडमा गोरुको बिउ नि नभेटिने भो, हौ ।


पहाडमा गाई ब्याउन छोेडेको दिन
हाम्रा अर्थमन्त्रीले भन्नेछन्
गाई ब्याउन सक्ने बनाउने मर्द गोरुका लागि फलानो भत्ता 
कि होइन भने एकल गाईका लागि सुरक्षा भत्ता ।


हन के भा’को हौ, पहाड रित्तो भो ।


काठमाण्डौंसित भाका छोप्न नसक्नेगरी थलिएको छ, पहाड ।


र, यस्तोमा सरकार रिझाउने  मात्र कुरा गर्दा
कम्तीमा धरानेहरूलाई चाहिं बजेटले नबोल्ने बनाएको छ ।


त्यसैले भानु चोक वरिपरिका गाडी लाइनका मानिसहरूलाई सोध्नुस् कि
ती भन्छन, बजेट त सरकारको कुकुर मस्ती हो, सर ।


गाडीवाल साथीहरूको कुरा सुनेर कत्ति हाँस्नु हौ ।


कुकुर मस्तीमा न दायित्व, न जोखिम न त जवावदेहिता नै
र, बजेट यस्तै भएको छ, पूर्वतिर ।


न हिजो गरेको बाचा जोख्छ, न भोलिको जोख्ना नै हेर्छ ।


अर्थमन्त्री बजेट बान्ता गर्छन, धरानमा यसलाई कुकुर मस्ती भनिन्छ ।

प्रतिकृया दिनुहोस