काठमाडौं । नेपालको राजनीतिमा अमेरिकीहरुको प्रभाव कूटनीतिक क्षेत्रले आवश्यकताभन्दा बढी महसुस गर्न थालेको चर्चा सुरु भएको छ । नयाँ राजदूत रैण्डी बेरीको आगमनपछि जनस्तरको सम्बन्धलाई बढी प्रभावकारी बनाउन खोजेको कुरा ‘‘नेपाली जनतासंग गफगाफ’ ले पनि पुष्टि गर्दछ । ‘‘नेपाली जनतासंग गफगाफ’ को यो अभियानका बारेमा सामाजिक सञ्जालमा अहिले बहसको विषय बनेको छ ।
अमेरिकी राजदूत बेरीको ‘गफगाफ’ र भेटघाट हिंडडुलका बारेमा बुद्धिजीवीहरुबीच दुईथरी मत प्रकट हुने गरेको छ । कसैले दुई देशबीचको सम्बन्ध विस्तार र मजबुत बनाउन जनतासंगको भेटघाट आपत्तिजनक नहुने बताएक छन् भने कसैले परराष्ट्र मन्त्रालयको अनुमति बेगर कूटनीतिज्ञहरुले हिंडडुल र भेटघाट गर्नु बेठीक भन्ने मत प्रकट गर्ने गरेका छन् ।
अमेरिकी राजदूतावास हाल व्यापारिक पाटोमा पनि प्रभावविस्तरमा रहेको पाइन्छ । अर्थात् राजनीतिक शक्ति, आर्थिक सार्मथ्य र वैचारिक समूहलाई प्रभावमा राखेको अमेरिकाले पछिल्ला दिनमा एउटा मुद्दा निकै उठाइरहेको छ, त्यो हो उत्तरकोरियाको सन्दर्भमा ।
उत्तरकोरियाको राजनीतिलाई अमेरिकी आँखाबाट विश्लेषण गर्न सुझावमात्र दिइरहेको छैन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर नै दबाब दिइरहेको स्रोत बताउछ । विदेशमन्त्री माइकल पोम्पियोले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणको बेलामा होस् वा केपी ओलीलाई २०७५ फागुनमा पत्र पठाएर पनि तिब्बती एजेण्डा र उत्तर कोरियाको एजेण्डाका बारेमा गुनासो गर्न नछुटाएको परराष्ट्र स्रोत बताउछ । स्रोत भन्छ, उल्लेखित दुई विषयमा अमेरिकीहरुले नेपाललाई साथ लिन खोजेका छन् ।
यो क्रमले तिब्रता लिइरहेका बेला नेपालमा उत्तरी कोरियाका व्यवसायीको लगानी भएका क्षेत्रमाथि आक्रमण पनि सुरु भएको स्रँेतको दावी छ । नेपालमा बसोबास गर्ने उत्तर कोरियाली नागरिक र उनीहरु सञ्चालन गरिरहेका व्यवसायलाई प्रतिवन्ध लगाउन अमेरिकी दबाब बढ्न थालेको परराष्ट्र स्रोतले साँघुलाई बतायो ।
कमलादी, दरबारमार्ग वरिपरि उत्तरी कोरियन नागरिकको लगानीमा केही रेष्टुरेन्टहरु संचालित छन् । त्यसैगरी, तनहुँको दमौलीमा एउटा अस्पताल पनि उनीहरुले सञ्चालन गरिरहेका छन् । ती व्यवसायिक संस्थाहरुलाई वन्द गराउने अभियानमो अमेरिका रहेको चर्चा पनि कूटनीतिक क्षेत्रमा हुने गरेको छ । नेपालका विभिन्न स्थानमा काम गरिरहेका उत्तरकोरियाली नागरिकलाई निकाला गर्न पनि सरकारलाई अनौचारिकरुपमा दबाब दिइरहेको छ ।



