• मंगलबार-बैशाख-११-२०८१

भारतको गृह मन्त्रीको जिम्मेबारी अमित शाहलाई

 

नयाँ दिल्ली, १८ जेठ (रासस÷एएनआई) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिनुभएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत हुनुभएका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रुपमा गृह मन्त्रालयको जिम्मेबारी दिनुभएको अधिकारीले बताएका छन् ।

 

गृहमन्त्रीका रुपमा शाहलाई विषेश गरेर आतङ्कवाद, माओवादी द्वन्द्व र काश्मिर समस्या मुख्य चुनौतीका रुपमा रहेका छन् । उहाँले अर्का प्रभावशाली नेता राजनाथ सिंहको ठाउँमा अहिले जिम्मेबारी पाउनुभएको हो । प्रधानमन्त्रीका रुपमा मोदीको पहिलो कार्यकालमा सिंह गृह मन्त्री रहनु भएको थियो ।

 

नयाँ गृह मन्त्रीको जिम्मेबारी पाउनु भएका शाह भारतमा अनुभवी र परिपक्व नेताका रुपमा चिनिनुहुन्छ । यसअघि सन् २०१४ मा पार्टीले भारी मत ल्याउदा उहाँ उत्तर प्रदेशको पार्टी प्रमुख हुनुहुन्थ्यो । त्यति बेला कुल ८० सिटमा भाजपाको गठबन्धनले ७३ सिटमा जित हासिल गरेको थियो ।

 

अहिले भने उहाँ केन्द्रीय निर्वाचन प्रचारप्रसार अभियानको मुख्य नेतृत्वकर्ता हुनुहुन्थ्यो । देशभरी अहिले भाजपाले ३०३ सिट जित्नुमा उहाँको ठूलो भूमिका रहेको मानिन्छ । भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि अहिले नयाँ सरकार बनेको हो ।

 

नयाँ कार्यकालका लागि प्रधानमन्त्री मोदीसहितका मन्त्रीहरुले गत बिहीबार सपथ ग्रहण गर्नु भएको थियो । सपथग्रहण समारोहमा स्वदेशीसहित विदेशी विशिष्ट पाहुनाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस