काठमाडौं । ०८२ भदौ ३० गते मुलुकको गृह प्रशासनको जिम्मेवारी संहाल्ने अवसर कानून व्यवसायीसमेत रहेका ओमप्रकाश आर्याललाई मिलेको छ । रोचक विषय त यसअघि मन्त्रालयको नेतृत्व गरेका निवर्तमान मन्त्री रमेश लेखक पनि कानून व्यवसायी नै रहेका थिए । तरपनि मन्त्रालयको सरुवा र बढुवामा मनपरी गर्ने काम र भिजिट भिसा प्रकरणमा भने मन्त्री लेखक नभएर सचिव गोकर्णमणि दुवाडी हावी रहेकोमा कर्मचारीहरु भने अति नै असन्तुष्ट रहेका थिए । रिट हाल्न रमाउने नव नियुक्त मन्त्री अर्यालले अब उनै बद्नाम गृह सचिव दुवाडीलाई निरन्तरता दिएको खण्डमा प्रश्न उठ्ने अवस्था छ । कारण जेन–जी आन्दोलन दमनको नेतृत्व गरेका गृहसचिव दुवाडीलाई कायम राख्दा जेन–जी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न नसकिने भनाई कर्मचारीहरुबाटै बाहिर आउन थालेका छन् ।
हुन त मन्त्री अर्याल पनि राजनीति भन्दा पनि सार्वजनिक सरोकारको मुद्दाबाट उदाएका कानून व्यवसायी मानिन्छन् । उनी संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्षसमेत हुन् । उनले मानव अधिकारको विषयमा एलएलएम गरेको बताइन्छ । राष्ट्रिय मानव अधिकार आयोगमा काम समेत गरेका थिए । उनको राजनीति पृष्ठभूमि विद्यार्थीकालमा नेकपा एमाले अखिलबाट सुरु भएको बताइन्छ । एमाले पार्टीसँग वितृष्णा बढेपछि उनी २०७३ सालदेखि सो पार्टीको आवद्धता छाडेर विवेकशील साझा पार्टीमा आवद्ध भएका थिए ।
चार महिना सो पार्टीमा रहेर काम गरेपछि उनी आफ्नो व्यस्तताका कारण जनाउँदै राजीनामा दिएर कानून व्यवसायमा बढी सक्रिय भएको बताइन्छ । अधिवक्ता अर्याल ऐतिहासिक मुद्दाहरूका लागि परिचित हुन् । तर, यस पटक संविधानको धारा १३२(२)को उल्लंघन गर्दै प्रधानमन्त्री बनेकी सुशीला कार्कीको मन्त्रिपरिषदमा गृह र कानून मन्त्री समेत खुसी साथ बनेका छन् । प्रश्न उठ्छ वर्तमान संविधान जीवित राखेर कसरी संविधानको पालना र कानूनी राज्यको वकालत गर्लान् ?
मन्त्री अर्यालको गृह प्रशासनमा भन्दा पनि कानूनतर्फ नै बढी अनुभव रहेको अवस्था छ । यतिखेर गृहमा अनुभवी भन्दा पनि राजनीतिक पहुँचको आधारमा सहसचिवहरुले महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु पनि अनुभव, कार्य सम्पादन मूल्यांकनको आधारमा खटाइएको छैन । त्यसकारण पनि उनीहरुबाट अन्तरिम सरकारको स्पिरिड अनुसार काम गर्ने देखिंदैन । गृह प्रशासनमा लामो समय काम गरेका अनुभवी सहसचिवहरुलाई सचिव दुवाडीले काखापाखा गर्दै गृह मन्त्रालय बाहिर खेदेका थिए ।
राष्ट्रिय भाउजु आरजुका प्रिय गृह सचिव दुवाडीले निवर्तमान मन्त्री लेखकलाई गुमराहमा पारेर स्वार्थको आधारमा कनिष्ठ र गृह प्रशासनको अनुभव नभएका सहसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीमा खटाएको थुप्रै उदाहरण छन् । भक्तपुर र रुपन्देहीमा यसअघि कतै सिडिओ भएर अनुभव नभएकाहरुलाई खटाउनुले पनि सचिव दुवाडीको नियत कस्तो रहेछ भन्ने कुरा मन्त्रालयका कर्मचारीले राम्रोसंग बुझिसकेका छन् । निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई ‘चित्त बुझाएर’ विशेष क्षमता र अनुभव नभए पनि गृह सचिवमा बाजी मार्न सफल भएका थिए ।
यी र यस्तै सचिवहरुलाई निरन्तरता दिएको खण्डमा अन्तरिम सरकारले आगामी २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन कसरी सहज रुपमा सम्पन्न गर्न सक्ला भन्ने आशंकासमेत जन्मिएको छ ।
पछिल्लो समय मन्त्री अर्याल काठमाडौ“ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहको कानूनी सल्लाहकार भएर काम गरेको र जेन–जी आन्दोलनभित्री योजनाकार भनेर पनि चर्चित रहेका छन् । त्यस कारण जेन–जीले सफलता प्राप्त गरेस“गै गृह मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सफल भएका छन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दायर भएको रिटबाट एकाएक चर्चाको शिखरमा पुगेका थिए ।
अर्यालले अख्तियारमा कार्की नियुक्त हुनु अघिदेखि उनको नियुक्ति रोक्न र बदर गर्न माग गर्दै अदालतको ढोका ढक्ढक्याएर तत्कालीन सरकारको ध्यानाकर्षण समेत गर्दै आएका थिए । लोकमानविरुद्ध लड्न उनले सर्वोच्चमा तीन पटक रिट लिएर जानु परेको थियो । दुई पटकसम्म असफल भएका अर्याल तेस्रो पटक लोकमानलाई पदच्यूत गर्न सफल भएका थिए । अर्यालले २०६९ चैत ७ मा कार्कीको नियुक्तिविरुद्ध पहिलोपटक अदालतमा मुद्दा दायर गरेका थिए ।
२०७० वैशाख २२ मा संवैधानिक परिषद्ले अख्तियार प्रमुखमा लोकमानलाई सिफारिस गरेपछि दोस्रो पटक अर्याल रिट लिएर अदालत गएका थिए । अदालत प्रशासनले उनको रिट प्रवेशमा रोक लगाउन खोज्यो । उनको रिट दरपिठ भयो । दरपिठविरुद्ध अर्को निवेदन लिएर अर्याल इजलास गएका थिए । एकल इजलासले सर्वोच्च प्रशासनको दरपिठ बदर गर्दै २०७० वैशाख २७ गते निवेदन दर्ताको आदेश गरेस“गै २०७० वैशाख २९ गते अर्यालको रिट दर्ता भएको थियो ।
२०७१ असोज ८ गते गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलासले लोकमानविरुद्धको रिट खारेज ग¥यो । अदालतबाट निराश भएर फर्किएका अर्यालले सो मुद्दा पुनरवलोकनका लागि पुनः निवेदन दिए । २०७२ मंसिर १० मा दिएको पुनरावेदन निवेदनपछि उनको तेस्रो प्रयास भने सफल भयो । सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति गर्दाका सन्दर्भमा भएका काम कारबाही उत्पेषणको आदेशद्वारा बदर हुने ठहर गरेको थियो ।
पछिल्लो समय निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीस“ग जोडिएको गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको निर्णयविरुद्धको एक निवेदक अर्याल नै थिए । यो रिटमा सर्वाेच्चले सट्टापट्टा र शोधभर्ना निर्णय उल्ट्याएको थियो । सर्वोच्चले परमादेश जारी गरेपछि ओली नेतृत्वको सरकारले फैसला कार्यान्वयन नगरेपछि उनले ओलीलाई अदालतको अवहेलनामा पदच्युत गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । उनले दायर गरेको रिट अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । दुई तिहाइको सरकारका बलिया निवर्तमान प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा रिट दर्ता गरे पनि मुद्दाको पेसी धकेलिँदै आइरहेको छ ।
राज्यलाई आउने सम्पत्ति कुनै ठुलो व्यापारिक घरानाको हातमा जानबाट रोक्नका लागि अर्यालले रिट दायर गरेका हुन् । सार्वजनिक सरोकार र राज्यको सम्पत्ति बचाउन उनको प्रयास अझै पनि निरन्तर जारी रहेको बताइन्छ । त्यतिमात्रै होइन, ओली नेतृत्वको सरकारले २०७७ सालमा गरेको संसद विघटनविरुद्ध पनि अर्यालले रिट दायर गरेका थिए । संविधान कुल्चेर भएको निर्णयलाई चुनौती दिँदै अर्यालसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासले संसद विघटन बदर गर्नुका साथै प्रतिनिधि सभा पुनस्र्थापित गरेको थियो ।
त्यही संसद विघटनकै कारण देखाएर ओलीले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति गरेका थिए । ओलीले संविधान कुल्चेर आफूखुसी गरेका नियुक्तिविरुद्ध दायर गरेको रिटको सुनुवाइ हुन चार वर्षभन्दा बढी लाग्यो । सर्वोच्चले सो रिटमा संवैधानिक पदाधिकारीको नियुक्ति बहुमतले सदर गरेको थियो । चार वर्ष राजनीतिक दाउपेचमा अल्झिएको ५२ जना संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिट खारेज भएस“गै रिट निवेदक अर्यालले सर्वोच्चको फैसलाले अदालतको जग नै हल्लिएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।
उनले अबको न्यायालयले न्याय कसरी दिन्छ भनेर सोच्नपर्ने बेला आएको प्रतिक्रिया दिएका थिए । उनले त्यतिबेला नै न्यायालयको पुनर्संरचना आवश्यक रहेको औ“ल्याएका थिए । संविधानको धारा १३२(२) कुल्चिएर गठन भएको मन्त्रिपरिषदमा गृह र कानून मन्त्रालयको कार्यभार अर्यालकै काँधमा आएकाले संविधानको पालना, न्यायालयको पुनर्संरचनामा र गृह प्रशासनमा उनको भूमिका कस्तो रहला भन्ने आउने दिनले बताउनेछ ।



2025-10-01-05-10-43.jpg)
