विराटनगर, असोज १३ गते । सुनसरी र मोरङ जिल्लामा प्रहरीले ठूला मात्रामा लागू औषध बरामद गर्दै २ जनालाई पक्राउ गरेको छ।
धरानमा २७५ किलो गाँजा बरामद
विशेष सूचनाको आधारमा असोज १२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–४ स्थितमा छापा मार्दा ठूलो मात्रामा गाँजा फेला पारेको हो।
प्लास्टिकको बोरामा प्याक गरी राखिएको २७५ किलोग्राम गाँजा बरामद गरिएको छ। यस क्रममा धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बेवारिसे अवस्थामा ४७ किलो गाँजा
यसैबीच, कोशी गाउँपालिका–५ स्थित अस्थायी प्रहरी पोस्ट कटानले बेवारिसे अवस्थामा रहेको ४७ किलोग्राम गाँजा बरामद गरेको छ।
ट्रामाडोल बरामद
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ बाट प्रहरी चौकी भोक्राहाले ट्रामाडोल ६८६ पत्ता (६,८६० क्याप्सुल) बरामद गरेको जनाएको छ।
मोरङको विराटनगर–११ बाट वडा प्रहरी कार्यालय विराटनगरको टोलीले उदयपुर चौदण्डीगढी गाउँपालिका–४ की २१ वर्षीया इसिका मगरलाई पक्राउ गरेको छ।
उनको साथबाट ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस बरामद गरिएको छ।
थप अनुसन्धान जारी
पक्राउ परेका दुवै जना तथा बरामद भएका लागू औषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



