काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने भएको छ ।
कांग्रेसले एक विज्ञप्ती जारी गर्दै भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै कांग्रेसले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी गराएको हो ।
आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, पार्टीका ऐतिहासिक भवनहरू, व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण, लुटपाट र आगजनी भएको साथै पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवासहित नेतामाथि समेत सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वि.सं. २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बी.पी. कोइरालाले ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिपश्चात् कांग्रेसले निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको थियो ।




