विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू सहभागी हुने गरी “सेमिनार अन् कोशी लिडरसिप् : इन्स्पाएरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स” कार्यक्रम सम्पन्न गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारी अधिकृतहरूको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकता, केन्द्र र प्रदेशबीचको सहकार्य तथा नेतृत्व क्षमताबारे गहन अन्तरक्रिया गरिएको थियो ।
हालै मधेश र बागमती प्रदेशमा यस्तै सेमिनार सम्पन्न भएकोमा यसपटक कोशी प्रदेशमा निरन्तरता दिइएको र आगामी दिनमा अन्य प्रदेशमा पनि क्रमशः आयोजना गरिने बैंकले जनाएको छ ।
आर्थिक सूचकमा दोहोरो अंकको प्रगति
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म बैंकले कर्जा, निक्षेप र खुद व्याज आम्दानीजस्ता प्रमुख सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । समिक्षा अवधिमा कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो ।
निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसअनुसार कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । त्यस्तै, खुद व्याज आम्दानी ११.२० प्रतिशतले वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ । सम्पत्ति प्रतिफल दर (ROA) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत कायम भएको छ, जसले बैंकको तरलता तथा जोखिम व्यवस्थापन सन्तुलित रहेको संकेत गर्छ ।
नवीनतम सेवा र अवार्ड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ अवार्ड जितेको छ । बैंकले केही समयअघि फोनपेसँग सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो । यसैगरी, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र रेमिट्यान्स नम्बर सेवा सुरु गरेको छ ।
हाल बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा–रहित बैंकिङ इकाइमार्फत १९ लाख ३० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।



