काठमाडौं, नेपाल प्रहरीमा एसएसपी पदको बढुवा सिफारिसमाथि उजुरी परेपछि सम्पूर्ण बढुवा प्रक्रिया आजसम्म रोकिएको अवस्था छ । २०८२ साउन ५ गते बसेको बढुवा समितिले ११ जना एसपीलाई एसएसपीमा सिफारिस गर्दा वरिष्ठता सूचीको शीर्षमा रहेको दावी गर्ने एसपी विमल बस्नेतले आफ्नो नाम बढुवा सिफारिसमा नपरेको भन्दै उजुरी दर्ता गराएको हो ।
हाल अमेरिकामा रहेका बस्नेतले प्रहरी नियमावली, २०७१ को दफा ४२ अनुसार आफ्नो वारिसमार्फत उजुरी दिएका हुन् । पाँच वर्ष बढुवा रोकिएर पुनः सेवामा फर्किएका उनी ‘नमस्ते’ टोलीका सदस्यका रूपमा चिनिन्छन् ।
उक्त उजुरी लोक सेवा आयोग अध्यक्ष, मुख्यसचिव र कानून सचिवको उजुरी छानबिन समितिमा पुगेर टुंगो लाग्नु पर्नेछ । उजुरी समितिले निर्णय नदिएसम्म एसएसपी मात्र नभई एसपी र डिएसपीको समेत बढुवा प्रक्रिया होल्डमा पर्नेछ ।
यसपटक बढुवा सिफारिसमा परेका केही एसपीहरू चाहिं विगतमा अनुशासनहीनता र अनियमिततामा मुछिएको पृष्ठभूमि भएका पाइएको छ । वरिष्ठता र कार्यसम्पादनको सट्टा राजनीतिक तथा आन्तरिक चलखेलको प्रभाव परेको आरोप लाग्दै आएको छ ।
उजुरीले प्रहरी संगठनको बढुवा प्रणाली र पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ । २०८२ साउन १९ गतेसम्म पनि उजुरीको टुंगो नलाग्दा बढुवा भएका सबै दर्जाका अधिकारीहरूको दर्ज्यानी प्रक्रिया प्रभावित भएको छ ।



