• आइतबार-श्रावण-४-२०८२

सुनसरी–झापा सीमा क्षेत्रमा लागुऔषध तस्करी बढ्दै, एकैदिन ५ जना पक्राउ

बढ्दो चिन्ता : स्थानीय युवा झन् जोखिममा

विराटनगर, साउन ४ गते — लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेका ५ जनालाई सुनसरी र झापाबाट प्रहरीले पक्राउ गरेको छ। साउन ३ गते (शुक्रबार) जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा, बरगाछी, अमरहाट र बुधबारेबाट विभिन्न प्रकारका लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार इनरुवा नगरपालिका–६ स्थित मुख्य सडक खण्डमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र ३ हजार ६ सय ९४ क्याप्सुल नियन्त्रित औषधीसहित इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादव पक्राउ परेका हुन्। प्रहरीले उनीहरू सवार मोटरसाइकल (ना.५५प.५७१७) मा शंकास्पद रूपमा यात्रारत रहेको देखेपछि तलाशी गर्दा लागूऔषध बरामद भएको जनाएको छ।

त्यस्तै, सुनसरीकै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले सोही क्षेत्रका २१ वर्षीय बिश्व लिम्बुलाई ९३० चक्की नियन्त्रित औषधीसहित पक्राउ गरेको हो। प्रहरीले लामो समयदेखि लागू औषध दुव्र्यसन र तस्करीको शृंखलामा रहेका स्थानीय युवा समूहहरूलाई निगरानीमा राख्दै आएको थियो।

यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–४ का ३२ वर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ। मनोजलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। गाँजा अन्यत्र पु¥याउने तयारीमा रहेका बेला उनलाई पक्राउ गरिएको जनाइएको छ।

यसैबीच, झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ का २२ वर्षीय साजन मगरलाई ६३० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको हो। प्रहरीले उनलाई गाउँको सवारी चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। उनी ब्राउन सुगर लुकाएर गाउँको सीमा नजिक पुर्‍याउने प्रयासमा रहेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ।

लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता

विराटनगरस्थित लागू औषध नियन्त्रण ब्युरोका एक अधिकृतले “लागूऔषधजन्य अपराध नियन्त्रण गर्न दैनिक गस्ती, सूचना संकलन, र निगरानी कार्यलाई तीव्रता दिइएको” बताए। उनका अनुसार, सीमा क्षेत्रमा हुँदै आएको लागू औषध तस्करीको प्रवृत्ति पछिल्लो समय स्थानीय युवा र सीमावर्ती सञ्जालहरूसँग मिलेर सुनियोजित रूपमा सञ्चालन हुँदै आएको छ।

बढ्दो चिन्ता : स्थानीय युवा झन् जोखिममा


प्रहरी स्रोतका अनुसार, सस्तो मूल्यमा सहरबजारमा सहज रूपमा उपलब्ध हुने ब्राउन सुगर, स्पास्मो प्रोक्सिवन, नाइट्रोभेट लगायतका औषधिहरूको प्रयोग युवाहरूमा खतरनाक दरमा बढ्दै गएको छ। ती औषधीहरू भारतबाट तस्करी गरी ल्याइने गरिन्छ भने केही घरेलु स्रोतबाट पनि आपूर्ति भइरहेको आशंका प्रहरीले जनाएको छ।

थप अनुसन्धान जारी
पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। अदालतबाट म्याद लिएर विस्तृत अनुसन्धान तथा तिनीहरू जोडिएको सञ्जालको पहिचान गर्न प्रहरीको टोली परिचालित गरिएको छ। लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याउने प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले पनि यस विषयमा कडाइका साथ निगरानी राख्ने प्रतिबद्धता जनाएको छ। लागूऔषधका कारण समुदायमा देखिएको सामाजिक विघटन र अपराध प्रवृत्तिलाई नियन्त्रण गर्न समाजका सबै पक्षबाट सहयोग आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस