• आइतबार-श्रावण-४-२०८२

सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद


धरान (सुनसरी), ३ साउन : सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु छ करोड ९० लाख ३९२ बराबर  भन्सार छली गरिएका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ ।

 

गणअन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले यस अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्री सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उहाँले बताउनुभयो ।

 

सोही अवधिमा रु १८ लाख ७५ हजार एक सय ३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरी राजस्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

 

भन्सार छली तथा अवैध ओसारपसारमा सङ्लग्न ६४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाइएको गण प्रमुख थापाले बताउनुभयो । 

 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजङग थापाले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताउनुभयो । उहाँले स्थानीय समुदायसँगको सहकार्यमा उपलब्ध स्रोतसाधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइएको बताउनुभयो ।  
---

 

प्रतिकृया दिनुहोस