महोत्तरी, ३ साउन । गत असार -२२ गते काठमाण्डौको जडिवुटीमा दुर्घटना परेर घाइते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण मृत्यु भएको आरोप लागेको छ ।
घाइते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडि डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारक लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाइतेलाई उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगे पछि उपचारको क्रममा चिकित्सकहरुले मृत्यु घोषणा गरेको दावी गरेको छ ।
यही विचमा बाहिरिएको सिसिटिभी फुटेज हेर्दा भने प्रहरीले डिकीमा अमानवीय ढंगवाट कोचिएको देखिएको छ । फुटेजमा ईनड्राइभ ट्याक्सीलाई बोलाएर घाइतेलाई पछाडि डिकीमा राखिएको र प्रहरीहरु अगाडि बसेको देखिन्छ । यही विषयलाई लिएर मृतक थापाका परिवारले अमानवीय ढंगवाट प्रहरीले गरेको लापरबाही कै कारण मृत्यु भएको दावी गर्दै मानवअधिकारवादीहरुलाई गुहारेका छन् ।
मृतक थापाका भाइ अनिल थापाले रहस्यमय ढंगले दाजुको मृत्यु भएको बताउँदै घटनाको विषयमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गरेका छन् । पीडित परिवारले हिजाे मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् । उजुरीमा प्रारम्भिक रुपमा सिसिटिभी फुटेज हेर्दा प्रहरीले अमानवीयता देखाएको कारण मृत्यु भएको बताउँदै नेपालको संविधान तथा मानवअधिकारको गम्भीर उल्लघंन भएको उजुरीमा उल्लेख गरिएको छ । पीडित परिवारले घटनाको सत्यतथ्य छानविन गरी न्याय दिलाउन र उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।
घटनाका सम्बन्धमा कतिपय शंकास्पद तथ्यहरु समेत देखिएको बताउँदै मृतकका भाइ अनिलले थप सिसिटिभी फुटेज माग्दा अस्पताल र प्रहरीले सार्वजनिक गर्न आनाकानी गरेको गुनासो गरेका छन् । महोत्तरी बर्दिवास-८ निवासी मृतक थापाका श्रीमती र दुई छोरीहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस