• आइतबार-श्रावण-४-२०८२

चिनियाँ राष्ट्रपति सी जिनपिङको रहस्यमय अनुपस्थिति : सत्ताभित्रको तनाव कि रणनीतिक मौनता ?

राष्ट्रपति सी काे अनुपस्थित हुँदा प्रधानमन्त्री अग्रपंक्तिमा

काठमाडौं, २०८२ साउन ३ गते । हालैको केही समयदेखि चिनियाँ राष्ट्रपति सी जिनपिङ (Xi Jinping) न औपचारिक कार्यक्रममा देखिएका छन्, न त कुनै अन्तर्राष्ट्रिय सम्मेलन वा कूटनीतिक भ्रमणमा भाग लिएको प्रमाण देखिएको छ। शक्तिशाली राष्ट्रको सर्वेसर्वा मानिने सी जिनपिङको यस्तो दीर्घ अनुपस्थितिले अन्तर्राष्ट्रिय समुदायमा अनेकन अडकलबाजी र विश्लेषणको लहर उठेको छ । खासगरी २०२५ जुलाई ७ र ८ मा ब्राजिलको रियोमा सम्पन्न BRICS सम्मेलनमा उनको अनुपस्थितिले थप प्रश्नहरू जन्माएको हाे।

ब्रिक्स सम्मेलनमा अनुपस्थित : सामान्य "तालिका समस्या" कि असामान्य राजनीतिक संकेत ?


ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को वार्षिक शिखर सम्मेलनमा चीनका राष्ट्रपति व्यक्तिगत रूपमा सहभागी नहुनु उनी सत्तामा आइपछि याे पहिलोपटक हो। चिनियाँ विदेश मन्त्रालयले “तालिका समस्या (scheduling conflict)” भन्दै अनुपस्थिति सफाइ दिएको छ। तर, यति संवेदनशील र उच्चस्तरीय कार्यक्रममा राष्ट्रपतिले अनुपस्थित हुनु केवल तालिकाको विषय मात्रै हो कि ?–भन्ने प्रश्न कूटनीतिक क्षेत्रमा स्वाभाविक रूपमा उठेको छ।

उनको सट्टामा प्रधानमन्त्री ली चियाङ (Li Qiang) ले चीनको प्रतिनिधित्व गरे, जसलाई कतिपय विश्लेषकले नेतृत्वको वितरित मोडेलको संकेत मानेका छन्, भने अन्य विश्लेषकले सत्ता सन्तुलनमा भित्रि हलचलको संकेतका रूपमा पनि हेरेका छन् ।

रहस्यमय अनुपस्थिति : ब्रिक्स मात्रै होइन, दुई महिना लामो सार्वजनिक ओझेल


 आज  २०२५ जुलाई १९ भयाे । तर,  मे २० देखि आजसम्मको बीचमा पनि राष्ट्रपति सी जिनपिङ कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । यति बेला चिनिया सरकारी सञ्चार माध्यमहरू समेत मौन छन्। चीन जस्तो सत्ताकेन्द्रित व्यवस्थामा राष्ट्रप्रमुखको यस्तो दीर्घ अनुपस्थिति अस्वाभाविक मानिदैछ।

अघिल्लो वर्ष पनि सी जिनपिङका नजिकका कतिपय सैन्य तथा सुरक्षा अधिकृतहरूलाई नाटकीय तरिकाले हटाइएको थियो । जसमा रक्षा मन्त्री ली शाङफु र रकेट फोर्स प्रमुख हटाइएका थिए। यो क्रमसँग सीको सार्वजनिक गतिविधिमा आएको अन्तरले चिनियाँ उच्च नेतृत्वमा अविश्वास र सत्ता पुनःसंरचनाको सन्देह बढाएको छ।

शक्ति संघर्षको संकेत ?
New York Post, India Express र ChinaScope लगायतका विश्लेषणात्मक स्रोतहरूले ब्रिक्स सम्मेलनमा अनुपस्थितिलाई केवल कूटनीतिक प्राथमिकता नभई, चिनियाँ सत्ताको आन्तरिक द्वन्द्वको लक्षणका रूपमा चित्रण गरेका छन् । कतिपयले राष्ट्रपति सीको “राजनीतिक पुँजी” क्रमशः क्षयी हुँदै गएको र उनलाई प्रतिवाद गर्ने अधिकारीहरूको संख्या बढिरहेको अनुमानसमेत गरेका छन्।

यसबाहेक, चीनमा बढ्दो आर्थिक संकट–खासगरी सम्पत्ति बजारको अवनति, युवा बेरोजगारी, वैदेशिक लगानीको घट्दो दर र आन्तरिक ऋण संकट–को कारण सी जिनपिङमाथि सत्ताभित्रैबाट आलोचना बढ्न थालेको भनिन्छ।

राष्ट्रपति सी काे अनुपस्थित हुँदा प्रधानमन्त्री अग्रपंक्तिमा


ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री ली चियाङको उपस्थितिले यतिबेला सत्ता व्यवस्थामा नेतृत्वको भूमिकाबारे नयाँ बहस सुरु भएको छ। केही विश्लेषकका अनुसार, चीनले “दोहोरिएको सत्ताधारी संरचना (dual power structure)” को अभ्यास गर्न थालेको देखिन्छ। राष्ट्रपति विदेश मामिलामा पछि हट्दै आन्तरिक समायोजनमा केन्द्रित हुन थालेको अनुमान पनि गरिएको छ।

यस्तो अवस्थामा ली चियाङको भूमिका बढ्नु, प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा चीनको प्रतिनिधित्व गर्नु, र उनीप्रति पश्चिमी मुलुकहरूको चासो बढ्नु-यी सबैले “सत्ता सन्तुलनको नयाँ अध्याय” लेख्न थालेको संकेत दिन्छ।

आगामी संकेतहरू कुनतर्फ ?


सी जिनपिङ आगामी APEC Summit, G20 बैठक, वा संयुक्त राष्ट्रसंघको महासभा जस्ता कार्यक्रमहरूमा सहभागी हुनेछन् कि हुँदैनन् भन्ने कुराले धेरै कुरा स्पष्ट पार्नेछ। यदि यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि सी अनुपस्थित रहिरहे भने, चीनको सत्ताको आन्तरिक संरचना गहिरो संकटतर्फ उन्मुख छ भन्ने अनुमानलाई बल पुग्नेछ।

निष्कर्ष : केवल अनुपस्थिति होइन, रणनीतिक युगान्तकारी मोड ?


सी जिनपिङको पछिल्लो गतिविधि वा अनुपस्थितिबाट दुईवटा सम्भावना देखिन्छ: १. रणनीतिक मौनता–जस्तै, सत्तामा भएको असहजता सन्तुलन गर्न, अथवा कूटनीतिक रूपमा आफूलाई बचाएर नयाँ नीतिगत कार्यक्रमको तयारी गर्न।


२. सत्ता स्खलनको प्रारम्भ ?–यदि उनलाई सत्ता भित्रबाटै चुनौती दिइँदैछ भने चीनको नेतृत्व संरचना आगामी दिनमा परिवर्तनको दिशातर्फ जान सक्छ।

तर जुनसुकै कारण होस्–चीनका राष्ट्रप्रमुखको यस्तो ओझेल र दीर्घकालीन मौनता विश्व कूटनीतिको लागि एउटा संकेतक बनेको छ।

सन्दर्भ सामग्रीहरू:
ABC News, Chinese Service (2025-06-26)

The Indian Express, BRICS Analysis (2025-07)

Chinascope.org Political Update (2025-07)

New York Post Opinion, July 2025

Yahoo News Asia, HK & TW Editions

प्रतिकृया दिनुहोस