काठमाडौं, २८ माघ : फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको ४ वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्यो ।
मङ्सिर २४ गते पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को मोटरसाइकल सुन्धारामा पार्किङ गरेको ठाउँबाट हरायो । उक्त मोटसाइकल पनि भर्खरै ट्राफिक प्रहरीले फेला पा¥यो । यस्तै विसं २०७१ माघमा स्वयम्भूबाट हराएको शङ्करलाल तामाङको १५० सिसिको मोटरसाइकल फेला प¥यो । पछिल्लो समय अव्यवस्थित रुपमा जथाभावी पार्किङ गर्दा उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मात्र उपत्यकाका विभिन्न स्थानबाट हराएका १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । हराएका मोटरसाइकलमध्ये धेरैजसो नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङमा फेला पर्ने गरेको छ ।
महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्त व्यक्ति सचेत बन्न नसक्दा धेरै सवारी साधन उपत्यकाबाट हराउने गरेको बताउँछन् । “उपत्यकाबाट हराएका सवारी साधनमध्ये सबैभन्दा धेरै काठमाडौँका छिमेकी जिल्लामा पुग्ने गरेको छ,” उनी भन्छन् ।
सवारी साधन हराएमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्नाका साथै १०३ मा उजुरी टिपाउन पनि प्रमुख पन्त अनुरोध गर्छन । घर, सार्वजनिकस्थल र पार्किङबाट धेरै मोटरसाइकल हराउने गरेको छ ।
हराएका मोटरसाइकलका बिमित रकम सम्बन्धित कम्पनीबाट लिइसकेको हुँदा मोटरसाइकल लिन नआउने गरेको पाइएको छ । यस्तै पुराना मोटरसाइकल नवीकरण गर्न धेरै पैसा लाग्ने हुँदा पनि फिर्ता लिन नआउने गरेको समेत महाशाखाले जनाएको छ ।
यस्तै धेरै मोटरसाइकल चोरी हुनेमा पल्सर, बुलेट, अपाचे रहेका छन् । रातको समयमा धेरै सवारी साधन चोरी हुन्छ । नयाँ मोटरसाइकल चोरी गरेर पुराना सवारी साधनमा इञ्जिन र चेसिस हालेर बेच्ने समेत गरिएको पाइएको छ ।
चालू आर्थिक वर्षमा ६ सय ४७ मोटरसाइकल हराएका निवेदन महाशाखामा परेको छ । हराएका मोटरसाइकलमध्ये २ सय ३३ मोटरसाइकल चोरलाई पक्राउ गरी कारबाही गरिसकिएको छ । महाशाखाले ४२ मोटरसाइकललाई अनुसन्धान पश्चात आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाएको छ ।
यस्तै मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अहिले २९ मोटरसाइकललाई नियन्त्रणमा लिनाका साथै ४८ जनालाई कारवाहीका लागि मुद्दा प्राप्त भएको महानगरीय ट्राफिक महाशाखा पीडित सहायता एकाइ प्रमुख रुद्रबहादुर शाहीले जानकारी दिए ।
महाशाखाले चालू आर्थिक वर्षमा ५ हराएका चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइ कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ भने १ चारपाङ्ग्रे सवारी साधनलाई सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका व्यक्तिमध्ये कयौँ पटके चोरसमेत रहेको अनुसन्धानबाट खुलेको छ । फौजदारी संहिता ऐनको परिच्छेद २० मा चोरी गर्ने वा गराउने व्यक्तिलाई २ वर्षदेखि ७ वर्षसम्म कैद र २० हजारदेखि ७० हजारसम्म जरिवना हुने व्यवस्था छ । (रासस)



