जाजारकोट, २४ माघ : बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा ६ वर्षपछि बिजुली बत्ती बल्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । अब गाउँमा २४ घण्टा नै बिजुलीको सुविधा भएपछि वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी दङ्ग छन् ।
गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत क्षेत्रका ३ सय ३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको सेपुखोला लघु जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष वेदराज सिंहले जानकारी दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको अनुदान, नगरपालिका तथा स्थानीयवासीको जनश्रमदान गरी कूल रु २ करोड लागतमा विद्युत् आयोजना निर्माण भएको हो । बिजुली बाल्न प्रतिघरपरिवारले १ महीना बढी श्रमदान गरेका थिए । गाउँमा बिजुली बत्ती बलेपछि वडापालिका, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, पशु उपशाखालगायत कार्यालयको कामकाजमा सहज भएको छ ।
बिजुली बलेपछि बालबालिकालाई पढ्न लेख्न प्रत्यक्ष फाइदा पुगेको छ भने बालबालिकामा पढ्ने बानीको पनि विकास भएको विद्यार्थी मानकुमारी बुढाले बताइन् । (रासस)



