बाँके, १७ माघ : सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय प्रदेश नं ५ मा सङ्गठित आर्थिक अपराध तथा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । जुवाघरदेखि बैंकमा हुने ठगीका मुद्दा प्रहरीमा दर्ता हुने क्रम बढेकाकाले यस्तो स्थिति देखिएको हो ।
प्राप्त तथ्याङ्कमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र सङ्गठित आर्थिक अपराध र बंैकिङ कसुरसम्बन्धी ५३१ उजुरी परेका छन् । तीमध्ये ४४८ सङ्गठित आर्थिक अपराधसम्बन्धी र ८३ बैंकिङ कसुरका रहेको प्रदेश प्रहरी मुख्यालयले जनाएको छ ।
मुख्यालयका अनुसार प्रदेशमा साउनदेखि पुस मसान्तसम्म ५२५ आत्महत्यासम्बन्धी घटना दर्ता भएकामा झुण्डिएर ३४९, बिषसेवन गरेर १४१, पानीमा डुबेर ४ र विविध आत्महत्या १३ का साथै आत्महत्या प्रयासका १८ उजुरी दर्ता भएका छन् । आत्महत्याजस्तो अपराध नियन्त्रणका लागि समाजमा मनोपरामर्श कार्यक्रम गर्नुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन् ।
हतियारधारी अपराधीविरुद्ध प्रदेश प्रहरी कडारूपमा प्रस्तुत हुने प्रदेश नं ५ का प्रहरी नायव महानिरीक्षक (डिआइजी) पिताम्बर अधिकारीले बताए । अपराधिक क्रियाकलापमा लागेका विरुद्ध 'इन्काउन्टर' भइरहेका बेला डिआइजी अधिकारीले त्यस्ता अपराधीविरुद्ध आगामी दिनमा प्रहरी झन् सशक्त भएर अघि बढ्ने बताए ।
हतियारसहितको सङ्गठित अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटना प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उहाँको भनाइ थियो । सवारी साधन दुर्घटना नियन्त्रण प्रदेश नं ५ का लागि चुनौतीपूर्ण बनेकाले महेन्द्र राजमार्गमा रात्रिकालीन सवारी दुर्घटना नियन्त्रण गर्न विशेष अभियान चलाउन लागेको डिआइजी अधिकारीले जानकारी दिए ।
प्रदेश सरकारसँगको समन्वयमा प्रहरीले बर्दघाटदेखि चिसापानीसम्म सिसीटिभी क्यामरा जडान गर्ने योजना बनाएर प्रक्रिया अघि बढाएको, मातहतका प्रहरी कर्मचारीलाई प्रचारमुखीभन्दा परिणामुखी बन्न निर्देशन दिइएको, पहुँच नभएकालाई सहजै सेवा उपलब्ध हुने वातावारण सिर्जना गर्न पहल गरिरहेको छ । (रासस)




