काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र गृहमन्त्री रमेश लेखक शालीन, भद्र, सरल र व्यवहारिक नेता गनिन्छन् । सुदूर पश्चिम प्रदेश निवासी मन्त्री लेखक पार्टी सभापति शेरबहादुर देउवाको आशीर्वादकै कारण विगत आठ महिनादेखि गृह मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् । त्यसअघि उनी नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका थिए । उनले यतिखेर गृह मन्त्रालयको कमाण्ड गरिरहँदा पनि सुदूरपश्चिम प्रदेशका कर्मचारीहरु भने उपेक्षित हुनु परेको गुनासो गर्दै हिंडेको भेटिन्छन् ।
मन्त्री लेखकको अरुचीका कारण निजामती प्रशासनमा कार्यरत सुदूरपश्चिमवासी कर्मचारीहरु मन्त्रालयमा भित्रिन सकेका छैनन् । भित्रिएकाहरुलेसमेत उचित जिम्मेवारी पाउन नसकेको भन्दै उनीहरु मन्त्री लेखकप्रति असन्तुष्ट रहेको बुझिएको छ । मन्त्रालयमा कार्यरत अधिकृत, उपसचिव, सहसचिव र सो प्रदेशका सचिवहरूले खासै सेवा गर्ने अवसर पाउन नसकेको भन्दै तीव्ररुपमा असन्तुष्टि जनाउँदै आएका छन् । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमध्ये यतिखेर सुदूरपश्चिमवासी सहसचिवस्तरका जम्मा एकजना मात्र रहेको स्रोतले जानकारी दिएको छ ।
त्यसपछि त झन कर्मचारीहरु मन्त्री लेखकप्रति थप असन्तुष्ट हुन पुगेको बताइन्छ । सुदूरपश्चिम निवासी सहसचिव लिला प्रसाद शर्मा मात्र एक जना सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छन् । उक्त जिल्ला सहसचिवस्तरका सिडिओका लागि त्यति आकर्षक जिल्ला मानिदैन । उनी सहकारी विभागको रजिस्ट्रार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक पनि भइसकेका हुन् । तर, उनलाई मन्त्री लेखकले आकर्षक र काम गरेर देखाउने जिल्लाको कमाण्ड नदिएको भन्दै मन्त्रालयमा कार्यरत सुदूरपश्चिम निवासी कर्मचारीले असन्तुष्टि जाहेर गरेको बुझिएको छ ।
अनुभवहीनलाई महाशाखा प्रमुख
मन्त्री लेखकले काठमाडौं, ललितपुर, मोरङ, झापा, सुनसरी, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, रूपन्देही, बाँके, कास्की, कैलाली र कञ्चनपुरको सिडिओमा भने अन्य सहसचिवहरुला प्राथमिकता दिएका छन् । त्यसमा पनि आकर्षक र मालदार जिल्लाहरुको सिडिओमा पर्वत र स्याङ्जालीलाई बढी प्राथमिकता दिएको सुदूर पश्चिमवासी सहसचिवहरूले आरोप लगाउदै आएका छन् ।
सहसचिव शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख भएर जिम्मेवारी निर्वाह गरिकेका छन् । तरपनि सहसचिवको लागि खासै रुचीकर नमानिने जिल्लामा शर्मालाई मन्त्री लेखकले अपमान गरेर सिन्धुलीमा पठाएको मन्त्रालयका कर्मचारीहरु चर्चा गर्छन् । गृह मन्त्रालयमा मन्त्री लेखकले पर्वत, दैलेख र स्याङजाकाहरूलाई काखी च्यापेर महत्वपूर्ण जिम्मेवारी दिएको आरोप खेप्दै आएका छन् । यसकारण पनि सुदूरपश्चिम प्रदेशका कांग्रेसनिकट कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
गृह सचिव गोकर्णमणि दुवाडी धादिङका चतुर सचिव मानिन्छन् । सुदूर पश्चिमका विनोद प्रकाश सिंहसहित तीनजना सचिव रहेका छन् । यति हुँदा पनि कुनै एकजना गृह मन्त्री र कांग्रेसको रोजाइमा पर्न सकेका छैनन् । त्यस्तै, मन्त्रालयको ६ वटा महाशाखामा प्रमुखमा प्राय पर्वत, स्याङ्जा र दैलेखका सहसचिवले नेतृत्व गर्दै आएका छन् । संघीय सरकारको गृह मन्त्रालयका महाशाखाहरू धेरै महत्वपूर्ण मानिन्छन् । सिडिओको अनुभव लिएकालाई प्रायगरी गृह मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारी दिने गरिन्छ ।
कुनै न कुनै हिसाबले ७७ जिल्लाका सिडिओसँग समन्वय गर्नुपर्ने भएकाले सो अनुभव हासिल गरेका वरिष्ठ सहसचिवहरुलाई मात्र महाशाखा प्रमुखमको जिम्मेवारी दिने प्रचलन रहेको जानका रस्रोत बताउँछ । तर, पछिल्लो समय सिडिओको जिम्मेवारीबहन नगरेकाहरूलाई पनि मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
केही समय अघिसम्म मन्त्रालयको प्रशासन र सुरक्षा तथा समन्वय महाशाखा प्रमुख भएर काम गरेका सहसचिवहरू हत्तपत्त सिडिओ भएर पुन जिल्ला फर्किंदैन थिए । यी महाशाखा प्रमुखको जिम्मेवारी दिंदा पनि आधा दर्जन जिल्लाहरूमा खटिएको र खारिएर आएका वरिष्ठ सहसचिवलाई जिम्मेवारी दिइने अभ्यास थियो । पछिल्लो समय थोरै समय सिडिओ चलाएका र ती महाशाखा प्रमुख भएर बसेकाहरू पनि आकर्षक जिल्लामा जान थालेका छन् । जसले गर्दा मन्त्रालयको महत्व र स्तर पनि स्वत खस्किन पुगेको कर्मचारी स्रोतको भनाई रहेको छ ।
आकर्षक जिल्ला र महाशाखामा
स्याङजा र पर्वतकाहरु हावी !
मन्त्रालयको महत्वपूर्ण मानिने सुरक्षा तथा समन्वय (शान्ति सुरक्षा) महाशाखा प्रमुखको जिम्मेवारी पर्वत निवासी सहसचिव रामचन्द्र तिवारीले पाएका छन् । उनी उपसचिवबाट सहसचिवमा बढुवा हुनसाथ उद्योग विभागको महानिर्देशक भएका थिए । त्यसपछि केही समय उद्योग मन्त्रालयको उद्योग व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख भएका थिए । उनलाई ७ महिना अघि सुनसरीको प्रजिअमा खटाइएको थियो ।
उनै तिवारीलाई केही समय अघिमात्र मन्त्रालयमा तानेर शान्ति सुरक्षा महाशाखा प्रमुख र प्रवक्ता जस्तो अति महत्वपूर्ण जिम्मेवारी दिइएको छ । स्याङ्जा निवासी सहसचिव ऋषिराम तिवारीलाई सुरक्षा तथा समन्वय महाशाखाबाट राजधानी काठमाडौं जस्तो अति महत्वपूर्ण जिल्लाको प्रजिअमा खटाइएको छ । पर्वत, वाग्लुङ, कैलाली, रुपन्देही, झापा जस्ता जिल्लाको सिडिओको अनुभव लिइसकेका तिवारी गृहका सक्षम र अनुभवी प्रशासक चाहिं हुन् ।
तर, विगतको अभ्यास र परम्परा अनुसार सुरक्षा तथा समन्वय महाशाखा प्रमुख भइसकेको व्यक्ति सिडिओ भएर जिल्ला जानुलाई गृह मन्त्रालयको स्तर खस्क्याउने कदममा रूपमा हेरिएको छ । विगतमा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहसचिव जितेन्द्र वस्नेतलाई त्यसैगरी काठमाडौंको सिडिओमा खटाएका थिए । त्यही नजिर लेखकले दोहो¥याएको हुनसक्ने मन्त्रालय स्रोत बताउँछ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा भने पर्वत निवासी सहसचिव छवि रिजाल रहेका छन् ।
उनी सुर्खेत, तनहुँ, झापालगायत महत्वपूर्ण जिल्लाको सिडिओ भइसकेका हुन् । त्यसकारण पनि सहसचिव रिजाल प्रशासन महाशाखा प्रमुख हुनुलाई स्वभाविक मानिन्छ । प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका उनले पर्सा वा रूपन्देही जिल्लाको सिडिओ पाए जाने नत्र नजाने अडान लिएका थिए । यही कारण रिजालले आफ्नो अडान बमोजिम मन्त्रालयको हितमै काम गरेको स्रोत बताउँछ । स्रोत भन्छ ‘गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भइसकेको व्यक्ति सिडिओ भएर जानु त्यति उपयुक्त मानिदैन ।’
मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी जुम्लाका जयनारायण आचार्यले पाएका छन् । सर्वोच्च अदालतले शैक्षिक प्रमाणपत्रमा कैफियत देखाएर न्यायिक टिप्पणीमा परेका आचार्यलाई मन्त्रालयले काठमाडौंको सिडिओबाट तानेर आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ । दाङ, सप्तरी, कास्की, ललितपुर, सुनसरी, काठमाडौं जस्ता जिल्लाको सिडिओ चलाएका आचार्य गृह मन्त्रालय आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखका लागि उपयुक्त र अनुभवी सहसचिव हुन् ।
उक्त महाशाखाको प्रमुख भइसकेका आइटी विज्ञ जाजरकोटका सहसचिव गोगनबहादुर हमाललाई भने कैलालीको सिडिओमा खटाइएको छ । मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारीमा स्याङ्जा निवासी सहसचिव आनन्द काफ्ले रहेका छन । पाल्पालगायतका जिल्लाको सिडिओ भएर अनुभव लिइसकेका अर्थका क्याडर काफ्लेले सो महाशाखा प्रमुखको भूमिकामा पाएकोमा कर्मचारी अन्यथा ठानेका छैनन् । मन्त्रालयको कानून महाशाखा प्रमुखमा भने झापा निवासी सहसचिव भरतमणि रिजाल रहेका छन् ।
रिजाल कानूनका अनुभवी सहसचिव पनि हुन् । उता, मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा स्याङ्जा निवासी सहसचिव डा. टोकराज पाण्डे रहेका छन् । उनीसँग गृहको खासै अनुभव नभएको स्रोत बताउँछ । उनी यातायात व्यवस्था, वैदेशिक रोजगार र मालपोत कार्यालयका अनुभवी कर्मचारी मानिन्छन् ।
सहसचिव बढुवापछि उनी केही महिना निजामती कितावखाना, तीन महिना त्रिभुवन विमानस्थल भन्सार कार्यालय, चार महिना अर्थ मन्त्रालको प्रशासन महाशाखा हुँदै गृह मन्त्रालयमा प्रवेश गरेका हुन् । प्रजिअको कमाण्ड नै नपाएका सहसचिव पाण्डेलाई मन्त्री लेखकले विपत् र द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएको भन्दै मन्त्रालयमा कार्यरत कर्मचारीहरुले गृहमन्त्री लेखकको यस्तो कार्यशैलीप्रति असन्तुष्टि जनाएको कर्मचारी स्रोत बताउँछ ।
गृहको अनुभव नभएकालाई
महत्वपूर्ण जिम्मेवारी !
त्यसो त पाण्डे गृह मन्त्रालयमा छिर्नेबित्तिकै नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख बन्ने सौभाग्य प्राप्त गरेका थिए । सिडिओको अनुभव नै नलिएका सहसचिव पाण्डेलाई मन्त्रालयको महाशाखा प्रमुख बनाइएको भनेर मन्त्री लेखकप्रति त्यसबखत आलोचना भएको थियो । विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. भीष्मकुमार भुसाल विदा स्वीकृत गराएर दाताको खर्चमा विदेश जाने गरेको पाइएको थियो ।
त्यसपछि उनको जिम्मेवारी खोसेर उक्त महाशाखाको पाण्डेलाई दिइएको बताइन्छ । हाल, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेका सहसचिव भुसाल धेरै विदेशमै घुम्न थालेपछि गृहमन्त्री लेखकले उनलाई कार्यकक्षमा बोलाएर हप्काएको चर्चा पनि चलेको थियो । सिडिओको अनुभव भएका सहसचिव भुसाललाई उक्त महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएर सिडिओ चलाएको अनुभव नभएका पाण्डेलाई उक्त प्रमुखको जिम्मेवारीमा खटाइएको छ ।
यतिखेर मन्त्रालयको ६ वटा महाशाखा प्रमुखमध्ये सिडिओ चलाएको कुनै अनुभव नभएका एक्ला सहसचिव पाण्डे बन्न पुगेका छन् । उता, ललितपुरको सिडिओमा रमेश ढकाल खटिएका छन् । उनी पर्वत निवासी सहसचिव हुन् । मन्त्री लेखकले मन्त्रालयतर्फ आफ्नो निजी सचिवमा पर्वत निवासी उपसचिव पनि बद्री तिवारीलाई जिम्मेवारी दिएका छन् । अध्यागमन विभागको महानिर्देशकमा भने दैलेख निवासी सहसचिव गोविन्द प्रसाद रिजाललाई खटाइएको छ ।
दैलेख निवासी उपसचिव नवराज जैसीलाई आफ्नै गृहजिल्ला दैलेखमा कामु सिडिओ जिम्मेवारी दिएर खटाइएको छ । यसरी हेर्दा मन्त्री लेखकले सुदूरपश्चिमवासी उपसचिव र सहसचिवहरूलाई गृह प्रवेशमा ढोका छेकेर पर्वत, स्याङजा, दैलेखवासीलाई छानीछानी अवसर दिएको भन्दै सुदूरपश्चिम निवासी कर्मचारीहरूले गुनासो गरेका छन् । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस