• आइतबार-मङ्सिर-३०-२०८१

पुन र शर्मालाई प्रचण्डको रातो झण्डा : माओवादीभित्र नन्दबहादुर बबण्डर

 

काठमाडौ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बिचको शीतयुद्ध मन्द रुपमा अघि बढेको छ । प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा भित्र्याएर उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई घेराबन्दीको चेक दिन खोजेका छन् । प्रचण्डले यो रणनीति लिएपछि माओवादीभित्र बबण्डर हुन थालेको छ । पुनलाई पार्टीमा ल्याउने प्रचण्डको रणनीतिलाई चेक गर्न नारायणकाजी श्रेष्ठसहितका नेताहरुले पनि अर्को रणनीति लिएका छन् । त्यसका लागि अमिक शेरचनको नाम अगाडि सारेका छन् ।


प्रचण्डले पुनको नाम अगाडि सारेपछि श्रेष्ठले शेरचनलाई अगाडि सारेर एकले अर्कोलाई चेक गर्ने रणनीति लिएको देखिन्छ । माओवादी नेताहरुले दिएको जानकारी अनुसार पुनलाई उपराष्ट्रपति बनाउन वर्षमान पुनले निकै सक्रिय भूमिका निर्वाह गरेका थिए । पार्टीका सबै भूमिकाबाट उनलाई हटाउन पाए आफू बलियो हुने र प्रचण्डसँग बार्गेनिङ पावर बढ्ने रणनीति वर्षमानको थियो । दुवैजना रोल्पाली भएका कारणले पनि उक्त प्रतिस्पर्धा उनीहरुमा थियो ।

 

त्यतिबेला नन्दबहादुर पुनलाई उपराष्ट्रपति बनाउन वर्षमानको दौडधुप हेर्न लायक रहेको अहिले पनि चर्चा हुन्छ । प्रचण्डमाथि वर्षमान र जनार्दनले दबाब बढाउन थालेपछि नन्दबहादुर पुन राजनीतिमा आउन खोजेको देखिन्छ । त्यसो त, अहिले प्रचण्डमाथि यी दुई नेताहरुले दबाब बढाएको बेलामा वर्षमान पुनमात्र होइन, नारायणकाजी श्रेष्ठ पनि रोक्ने रणनीतिमा रहेका छन् । स्रोत भन्छ, श्रेष्ठसँग नन्दबहादुर पुनको पनि आत्मीय सम्बन्ध होइन । र, उनीहरुवीच खासै बोलचाल पनि हुँदैन । नन्दबहादुर पुन उपराष्ट्रपति हुञ्जेल नारायणकाजी श्रेष्ठसँग भेट नै नभएको पनि चर्चा गरिन्छ । 


जबकि प्रचण्ड र बाबुरामलाई मिलाउने प्रयास नन्दबहादुर पुनले नै गरेका थिए । चुनावअघि प्रचण्ड र बाबुरामलाई मिलाउन उपराष्ट्रपति कार्यालयमा पटकपटक बैठकसमेत राखेका थिए । ती सबै बैठकमा  श्रेष्ठ भने गयल थिए । त्यसैले, नन्दबहादुर पुनको वर्षमान पुनसँगमात्र होइन, नारायणकाजी श्रेष्ठसँग पनि राम्रो सम्बन्ध छैन ।

 

त्यही कारण नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा ल्याएर दुवै नेतालाई साइजमा राख्ने प्रचण्डनीति भन्ने विश्लेषण पनि पार्टीभित्र भइरहेको छ । त्यही बुझेर श्रेष्ठसहितका केही नेताहरुले अमिक शेरचनलाई पार्टीको भूमिकामा ल्याउन खोजेका छन् । प्रदेश प्रमुख भइसकेका शेरचनलाई पार्टीका उपाध्यक्ष बनाउनुपर्ने उनीहरुको भनाई रहेको छ । भोलिका दिनमा आवश्यक संख्याका लागि भएपनि शेरचनलाई पार्टीको भूमिका ल्याउनुपर्ने रणनीतिमा उनीहरु देखिन्छन् । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)

प्रतिकृया दिनुहोस