• बुधबार-मङ्सिर-२६-२०८१

सुरक्षा प्रमुखहरुसँग स्वास्थ्य मन्त्री पाैडेलद्वारा सहयाेग माग

 

काठमाडौं । मुलुकको स्वास्थ्य क्षेत्रमा केही सुधारका काम गर्न खोजेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षा निकायका प्रमुखहरुसँग पनि छलफल अगाडि बढाएका छन् । आम नागरिकहरूले सरकारी अस्पतालहरूमा मुटु, कलेजो, मिर्गौला, फोक्सो, पत्थरी, मूत्रासय, हड्डी, सुत्केरी, पाठेघर, स्नायु, टाउको, नसा, मेरूदण्ड, पेटको ट्युमर, क्यान्सर लगायतका रोगको चिरफार अप्रेसनमा महिनौसम्म पालो कुरेर लाइनमा बसिरहनु पर्दा उनीहरु थप पीडित हुनु परेको छ । जसले गर्दा एकातिर विरामीको समयमा अप्रेसन नभएर मृत्युसमेत हुने गरेको छ भने विरामीले थप कष्ट भोग्दै आएका छन् ।

 

अर्काेतिर लामो समय शहरमा पालो कुरेर बस्दा विरामी बेखर्चीसमेत बनिरहेको गुनासो रहेको छ । त्यसैले अप्रेसनको पालो कुरिरहेका विरामीहरूको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालमा अप्रेसन छिटो गराउन सकिन्छ कि भनेर छलफल गरेका थिए ।

 

मन्त्री पौडेलले २०८१ मंसिर २३ गते आइतबार मन्त्रालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित तीनवटै सुरक्षा निकायका अस्पतालका प्रमुखहरूसँग सल्लाह सुझाव लिएको बताइन्छ । ती अस्पतालमा के कति विरामीछन् र के–कस्ता रोगको अप्रेसन गर्न सकिन्छ भनेर छलफल गरिएको स्रोत बताउँछ ।


सेना, प्रहरी र सशस्त्र प्रहरी र उनीहरूका आफन्तहरूको उपचार र अप्रेसन गरेर बचेको समयमा आम सर्वसाधारण नागरिकहरूको अप्रेसन गराएर विरामीहरूलाई सुविधा दिलाउने कुरा मन्त्री पौडेलले राखेको र यसमा सुरक्षा निकायका प्रमुखहरू र सुरक्षा निकायका अस्पतालका प्रमुखहरू सकारात्मक रहेको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्री पौडेलले मन्त्रालय मातहतका निकायमा लामो समयदेखि एकै निकायमा बसेका स्वास्थ्य सेवा तर्फका प्रमुख, उप–प्रमुखहरूलाई यसै साताभित्र सरूवा गर्ने तयारी गरेको पनि थहा भएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर २४) 
 

प्रतिकृया दिनुहोस