वीरगंज: पर्साको प्रसौनीभाठा र अमरपटी सीमानाकाबाट चाइनिज लसुन र राँगाभैंसी तस्करी प्रहरी प्रशासनकै मिलेमतोमा व्यापक रूपमा भइरहेको पाइएको छ।
स्थानीय स्रोतका अनुसार, पर्साका चर्चित तस्कर अलि अहमदले संगठित रूपमा राँगाभैंसी तस्करीको ठुलो नेटवर्क सञ्चालन गरिरहेका छन्।
अहमदले भारतको विभिन्न क्षेत्रबाट मासुजन्य चौपाया खरिद गरी रातिको समयमा प्रहरीको सेटिङमा नेपालतर्फ भित्र्याइरहेका छन्। उनले दिनमा थोरै मात्रामा र रातमा ठूलो संख्यामा राँगाभैंसी तस्करी गर्दै परवानीपुर पशु बजारसम्म सहजै पुर्याइरहेका छन्।
त्यस्तै, प्रसौनीभाठा र अमरपटी नाकाबाट चाइनिज लसुनको अवैध तस्करी पनि तीव्र भएको छ। विन्दबासिनी गाउँपालिका-४ मधवल निवासी उत्तम तिवारीले प्रहरीकै संरक्षणमा भारततर्फ लसुन पठाउँदै आएका छन्। भारतमा लसुनको मूल्यवृद्धिसँगै तस्करी अझ बढेको बताइन्छ।
अन्य सामग्रीको तस्करी पनि सक्रिय:
युनिलिभरका उत्पादनहरू-जस्तै फेयर एण्ड लभ्ली, सन्सिल्क स्याम्पु, लक्स, भेसलिन, पोन्ड्स र क्लोजअप जस्ता कस्मेटिक सामान पनि अमरपटी नाका हुँदै भारततर्फ तस्करी भइरहेको छ। स्थानीय सन्दीप चौरसियाको समूहले यी सामग्रीको तस्करीमा संलग्न रहेको बताइन्छ।
प्रहरीकै संरक्षणको आरोप:
स्थानीय स्रोतका अनुसार, यस अवैध गतिविधिमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उच्च अधिकारीहरू समेत संलग्न छन्। सशस्त्र प्रहरीका डिएसपी सुशील बस्नेत, अमरपटी बीओपीका इन्स्पेक्टर रविन ढुंगेल, प्रहरी चौकी अमरपटीका वरिष्ठ सई मदन बहादुर मल्ललगायतको सहयोग रहेको आरोप छ।
सीमा सुरक्षामा प्रश्न:
यस तस्करीले सीमा सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयहरूले सम्बन्धित निकायसँग तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। तस्करी र प्रहरी मिलेमतोको जटिलताले सीमावर्ती क्षेत्रमा सुरक्षाको अवस्था थप कमजोर बनाइरहेको छ।



