२०७६-२-६ , सोमबार


तेह्रौं साग : मन्त्री–सांसदको चल्दैछ राजनीति !

साँघु खेलकुद टिप्पणीकार 

 

काठमाडौं । भौतिक पूर्वाधार नै पूरा नगरी खिचडी पाराले निकै संघर्ष, सकस र मुस्किलले  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । राष्ट्रिय खेलकुद सकिएसंगै अब पालो १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमाथि राजनीति गर्ने बेला आएको छ । आठौं राष्ट्रिय प्रतियोगिता गर्दा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको केन्द्र तथा प्रदेश–५ बीच निकै राजनीति चल्यो । कसलाई कति कमिशन आउने र नआए के गर्ने भन्दाभन्दै त्यसको मार र भूमरीमा खेलाडी परे । यसको खर्च फछ्र्यौट मिलानका लागि अहिले आयोजकले धमाधम बिल मिलाउँदै गरेको जानकारीमा आएको छ । 

 


राखेप स्रोत भन्छ–केही समय लाग्छ होला कहाँ कति खर्च भयो भन्ने । हामी मिलान गर्दैछौं । यसबाट स्पष्टै हुन्छ कि बिल कस्तो आउँछ । जबकि पारदर्शी हुन खोजिएको भए प्रतियोगिता सकिएको अर्को दिन नै राखेपले पत्रकार सम्मेलन गरेर त्यसको आय–ब्यय खर्च विवरण सार्वजनिक  गर्ने थियो । 

 


राष्ट्रिय प्रतियोगितामा भागबण्डा गर्न नपर्ने अर्को संस्था अब जोडिदैछ साग आयोजना गर्दा । त्यो पनि मुख्य आयोजकका रुपमा–नेपाल ओलम्पिक कमिटी एनओसी । यही एनओसीले नै सम्पूर्ण काम गर्नेछ । त्यसको व्यवस्था नेपाल सरकारले मिलाउनु पर्नेछ । अर्थात् युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशवकुमार विष्टले । 

 


सदस्यसचिव विष्ट त २०७६ मंसिर १५ गतेदेखि नेपालले आयोजना गर्ने सागसम्म हुने छैनन् । उनको कार्यकाल २०७६ असार ९ गतेसम्म छ । त्यसैले उनले दुई वटा राष्ट्रिय प्रतियोगिताहरू (पूर्वाञ्चलमा–हालको प्रदेश–१ मा सातौं र हालको प्रदेश–५ मा आठौं) बाट नै गर्न सक्ने जति गरिसकेका छन् । नयाँ आउन लागेको खेलकुद ऐनले गरेको ब्यवस्था अनुसार अब राखेपमा सदस्य सचिव रहने छैन ।

 

खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत भर्ना गरिने छ । सम्भवत अबको साग  राखेपको नयाँ ब्यवस्थापनबाट हुने छ । मन्त्री विश्वकर्मा भने ढुक्कैले सागसम्म रहने चर्चा सुनिन्छ । विश्वकर्माले राखेप, एनओसी अध्यक्ष एवं नेकपा सांसद जीवनराम श्रेष्ठसंग समन्वय गर्नुपर्नेछ । यसो गर्दा उनी पनि फेरि भोलिका लागि आफ्नो मेसो मिलाउन सफल हुनेछन् । 

 


मन्त्री विश्वकर्माले सागको तीव्र तयारीमा सरकार लागिसकेको बताएका छन् । उनले यसपटक कुनै पनि हालतमा साग नसर्ने दावीसहित सागलाई मर्यादित र व्यवस्थितरुपले सम्पन्न गर्नेगरी जुटिरहेको बताएका छन् । यसपटक मन्त्री विश्वकर्माको करियर पनि दाउमा छ । 
किनकि उनकै नेतृत्वमा सरकारले तयारी तथा व्यवस्थापन मूल समारोह समिति गठन गरेको छ । अर्थात् जहाँ जिम्मेवारी त्यहाँ अवसर । त्यही अवसरलाई कसरी सुरक्षित गर्ने भन्नेमा मन्त्री विश्वकर्मा लागेका छन् । तर, त्यसका लागि उनले राखेप र एनओसीसंग समन्वय गर्नुपर्ने देखिएको छ । 

 


२०७५ मंसिर १५ देखि २४ गतेसम्म हुने सागका लागि जेठको पहिलो साताबाटै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने योजना सरकारको छ । यसपटक नेपालले २७ खेलमा प्रतिस्पर्धा गराउने छ । यसअघिको संस्करणमा समावेश भएका २५ खेल र आयोजकका नाताले नेपालले दुई खेल थपेर २७ पु¥याएको हो । 

 


आठौँ राष्ट्रिय खेलकुदका उत्कृष्ट खेलाडीहरूले सागमा सहभागिता जनाउने छन् । अर्थात् ६२५ जनाले नेपालको प्रतिनिधित्व गरेर खेल्नेछन् । साग पटक पटक सर्दै आउँदा यत्ति नै खेलाडीले भाग लिन्छन् वा लिन्नन् भन्ने प्रश्न उठ्ने गरेको छ । त्यसैगरी विभिन्न खेलकुदका समानान्तर संघमा हुनुपर्ने निर्वाचन प्रक्रिया अगाडि नबढ्दा फेरि पनि किचलो हुने हो कि भन्ने डर खेल क्षेत्रमा रहेको पाइन्छ । 

 


एनओसी अध्यक्ष श्रेष्ठ आयोजक समितिका अध्यक्ष हुन् । उनले सरकारले भौतिक पूर्वाधार र आयोजना खर्चमा कुनै सम्झौता नगरोस् भन्ने चाहिरहेको स्रँेत बताउछ । उनले जुनसुकै गल्ती हुँदा पनि त्यो सरकारको प्रतिष्ठासंग जोडिने बताइरहेका छन् । 

 


त्यसैले त नीति तथा कार्यक्रममा साग सन् २०१९ भित्रै आयोजना गर्ने भनी पारित नै गराए श्रेष्ठले । यति भैसकेपछि साग यसै वर्षभित्र होला नै । तर यसभित्रको राजनीति र किचलो भने बढ्दै जाने देखिएको छ । मन्त्री विश्वकर्माको चुरिफुरी बढ्दै जाँदा सांसद श्रेष्ठले पनि आफूलाई सोही स्तरमा राख्दै आएको एनओसी स्रोत बताउँछ । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal