२०७६-२-६ , सोमबार


 बजेटमा राष्ट्रसेवकलाई प्रोत्साहन गर्न सांसदहरुको माग 

काठमाडौँ, ३० वैशाख (रासस) : राष्ट्रसेवकलाई प्रोत्साहन र शिक्षा क्षेत्रलाई प्राथमिकतामा पार्ने  गरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन्  ।


 
राष्ट्रियसभाको बैशाख ३० गतेको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी छलफलमा भाग लिँदै सांसद कोमल ओलीले राष्ट्रसेवक प्रोत्साहित हुनेगरी बजेट ल्याइनुपर्नेमा जोड दिएकी थिइन् । 

 

उद्योगमा  र पूर्वाधार विकासमा लगानी बढाउने गरी बजेट आउनुपर्ने उनको भनाइ थियो । सांसद ठगेन्द्रप्रकाश पुरीले विगतको अनुभव र वर्तमानलाई आत्मसात् गरी बजेटले शिक्षा क्षेत्रलाई प्राथमिता दिनुपर्ने बताए  । माध्यमिक विद्यालय तहको शिक्षा  आवासीय र निःशुल्क हुनुपर्ने उनको भनाइ थियो । 


 
सांसद धनाकुमारी खतिवडाले दु्रतगतिको विकासका लागि‘कनेक्टिभिटि’ लाई प्राथमिकता दिइनुपर्नेमा जोड दिइन्  । राष्ट्रिय गौरवका आयोजनामा पूँजीगत लगानी बढाउनुपर्नेमा उनको सुझाव थियो । 

 

सांसद जीवन बुढाले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने र  जनसङ्ख्यासँगै भूगोल र योगदानका आधारमा बजेट विनियोजन गरिनुपर्ने बताए  । 

 

सांसद डा विमला राई पौड्यालले नीति तथा कार्यक्रममा धेरै तालमेल मिले पनि पूँजीगत खर्च हुन नसक्नु मुख्य चुनौती भएको बताइन् । आयातमा भन्दा आत्मनिर्भरता तथा प्रारम्भिक बालविकासमा बजेटले प्राथमिकता दिनुपर्ने र सार्वजनिक यातायात सञ्जालको व्यवस्था गरी यसलाई सुरक्षित बनाउनुपर्नेमा उनको जोड थियो  ।

 

      सांसद बिना पोखरेलले बजेटले  सामाजिक न्यायसहितको समाज निर्माण र युवा परिचालनमा प्राथमिकता दिनुपर्ने बताइन्  । सांसद मुक्ताकुमारी यादवले शिक्षामा कूल बजेटको ३० प्रतिशत छुट्याउन माग गरिन्   । आधारभूत बालविकास (इसिडी)का शिक्षिकाले मासिक रु छ हजारमा मात्र काम गरिरहेकाले उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने उगको भनाइ थियो ।

 

सांसद राजकुमार कुँवरले देशका विभिन्न भागमा रहेका विविध खानी उत्खनन्मा बजेट विनियोजन गरिनुपर्ने र सांसदलाई बजेट छुट्याउँदा विभेद गर्न नहुनेमा जोड दिइन्  । 

 

सांसद हरिराम चौधरीले उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्ची आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुनेगरी  बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए   । सांसद रामलखन चमारले सबै क्षेत्रको समानुपातिक विकास हुने गरी बजेट विनियोजन हुनुपर्ने धारणा व्यक्त गरे  ।
–––


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal