२०७६-२-६ , सोमबार


नेपाली सेनाका जर्नेल, कर्नेलका घरघरबाट ‘अर्दली’हरु फिर्ता गर्न निर्देशन 

साँघुन्यूज डटकम सम्बाददाता


काठमाडौं । नेपाली सेनाका जर्नेल, कर्नेलहरुले तल्लो तहको जनशक्ति दुरुपयोग गर्ने गरेको विगतदेखिको परम्परा नै हो । रकारी मानो, तलब खाएर हाकिमहरुको घरघरमा सेनाका तल्लो तहमा कार्यरत जवानहरू निजी काममा खटिनु परिरहेको छ । उनीहरुले लामो समयदेखि गुनासो पनि गर्दै आएका छन् ।

 

सेनाका अधिकृतहरुको घरहरुमा नियमविपरीत सहयोगी(अर्दली)हरु ठूलो संख्यामा राख्ने गरिएको छ । सेनाका अधिकारीहरूको घरमा बाध्यतावस घरेलु कामदारका रुपमा खटिदै आएकाहरुले ‘रानीसा’ब, मैयाँ  महारानी, सानुराजाहरुको स्याहारसुसार पनि गर्नै पर्छ । यसका साथै सेनाका कर्णेल, जर्नेलहरुको घरमा खाना बनाउने, भा“डा माझ्ने, बस्तुभाउ हेर्ने, लुगा धुने, सरसफाई आदि काममा रातदिन खटिनु पर्छ ।

 

सेनाभित्र धेरै गुनासोको रुपमा रहेको अर्दलीहरु राख्ने परम्परालाई वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले सुधार गर्ने भएका छन् । प्रधानसेनापतिमा थापाको नियुक्तिस“गै नेपाली सेनामा विगतदेखि रह“दै आएका यस खाले विकृति–विसंगतिमा सुधार ल्याई समग्र संगठनलाई सुधार गर्ने योजना अघि सारिएको स्रोतको भनाइ छ ।


थापाको प्रधानसेनापतिमा नियुक्ति २०७५ भदौ २४ गते भएको थियो । स्रोतका अनुसार, प्रधानसेनापति थापाले नेपाली सेनाको जनशक्ति व्यवस्थापन (मूलतः भर्ना, सरुवा र बढुवालगायत)का विभागीय कामकारबाहीहरूलाई नियमित र पारदर्शी बनाउने प्रतिबद्धता अनुसार, प्रयास सुरु गरेको स्रोत  बताउछ । 


सेनाका बहालवाला र भूतपूर्व पदाधिकारीहरूस“ग अहिले पनि सहयोगी स्तरका १ हजार ८ सय जनशक्ति घरेलु कार्यमा संलग्न रहेको सैनिक स्रोत  बताउछ । आर्मी चीफको संगठनका अधिकृतहरुको घरघरमा खटिएका सहयोगी(अर्दली)को ब्यवस्थामा क्रमशः सुधार ल्याउने प्रयासको पहिलो चरण आगामी २०७६ साउन १ गतेदेखि कार्यान्वयन हुने स्रोत बताउछ ।

 

यससंगै बहालवाला प्रमुख सेनानी, सैनिक अधिकारीहरूको घरमा घरेलु कामदारका रूपमा रहेका सहयोगी स्तरका जनशक्ति कटौती गरिन लागिएको स्रोतको भनाइ छ ।

 

यो निर्णय कार्यान्वयनमा आउने बित्तिकै करीब १ हजार २ सय सहयोगी स्तरको जनशक्ति आर्मी  हेडक्वार्टरमा फिर्ता हुने बताइएको छ । संगठन सुधारको कार्ययोजना कार्यान्वयनमा आउने निर्णयसंगै दीर्घकालीनरूपमा महारथीले ६ जना र रथीले ४ जना सैन्य सहयोगी जनशक्ति मात्र पाउने गरी नीतिगत व्यवस्था गरिन लागिएको स्रोतको भनाइ छ ।


बहालवाला सैनिक अधिकारीहरूले कार्यालयको काममा १ जना सवारी चालक र घरमा १ जना सहयोगी पाउने प्रावधान छ । तर, शक्तिको प्रभावका आधारमा उनीहरूले घरेलु कामका लागि थप सवारी चालक र दर्जनौ सहयोगी(अर्दली)हरू लिँदै आएका छन् ।

 

कतिसम्म भने हाल सुरक्षा चुनौतीका बहानामा पूर्व प्रधानसेनापति रुक्मांगत कटवालले त एक गुल्म बराबर सैन्य सहयोगी जनशक्ति लिएर ब्यारेकजस्तै बनाएको उदाहरण समेत छ । अब भने यस्तो प्रवृत्तिमा रोकथाम हुने आशा सेनाभित्र पलाएको छ ।

पूर्व प्रधानसेनापति(महारथी)ले ६ जना र रथीले चार जना सैनिक सहयोगी पाउने छन् । यो ब्यवस्था दश वर्षभित्रै क्रमशः लागू गर्दै जाने तयारी नेपाली सेनाले तयार गरेको सुधार योजनामा पारिएको स्रोत  बताउछ ।    

   (२०७६ बैशाख ३० गतेको साँघु साप्ताहिकबाट)       


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal