२०७६-२-६ , सोमबार


पारिवारिक सुख शान्तिका लागि दैविक चमत्कारको अलौकिक धाम गलेश्वर

–जमुनावर्षा शर्मा 

 

 म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम रहुनदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । 

 

 नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहेकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ । 

 

चक्रशीलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र,  त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्ण गण्डकी, गायत्री मन्दिर, पश्चिम कालँजरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलगिरि हिमशृङ््खला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी रहेका छन् । 

 

बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो द्वार मुक्तिद्वारको रुपले समेत चिनिन्छ । चक्राकार शिलाको उच्च भागमा पातालमा पुगेको पृथ्वीलाई जलमध्यबाट श्री विष्णु भगवानले बराह अवतार लिएर उद्धार गरेको स्मरण गराउने पानीको स्रोत नभएको सुख्खा याममा पनि पानी नसुक्ने जलबराहकुण्डलाई दैविक चमत्कारको रुपमा दर्शनार्थीले लिने गरेका छन् ।  

 

चक्राकार जलबराहकुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वास धर्मावलम्बीको रहँदै आएको छ । एउटै प्रसिद्ध गोलाकार चत्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मूल मन्दिरभित्र स्वयं उत्पत्ति भएका ज्योतिलिङ्गेश्वर महादेव अवस्थित रहेकाले पनि धर्मावलम्बीले अलौकिक शक्तिको धामका रुपमा लिने गरेको मन्दिरका पूजारी चन्द्रमनी आर्चायले बताए  । 

 

उनले भने, “सुख्खा याममा पनि नसुक्ने जलबराह कुण्ड, गणेश शिवलिङ्ग, शालिग्राम, शङ्खचक्र, नागदेवता र भगवानका पाउ चिन्ह स्वयं प्रकट भएको प्रत्यक्ष दर्शन पूजन गर्न सकिने यस धामलाई विश्वकै अद्भूत र अलौकिक तीर्थस्थल मानिन्छ ।” पूजारी आचार्यका अनुसार अलौकिक चक्रशिलामाथि लक्ष्मीनारायण, पाञ्चायन देवता, १०८ शिवलिङ्ग, यज्ञमण्डप, हवनकुण्ड, राधाकृष्ण र जडभरतद्वारा राजर्षि रहुगणलाई उपदेश दिँदै गरेको मूर्ति, राजा भरत, मृर्गरूपी भरत, नवदुर्गा भवानी, कामधेनु गाई नवनिर्मित राधाकृष्ण मन्दिर, गलेश्वरबाबाका मूर्तिलगायत अन्य मठमन्दिर अवस्थित छन् । 

 

चक्रशिलामाथि रहेका शिवलिङ्ग देवीदेवता दर्शनपूर्व शिलाको पूर्वी पथमार्गबाट राजा भरतको तपस्थली गुफा हुँदै कृष्णागण्डकी स्नान गर्न जान सकिने उनको भनाइ छ । यस मन्दिरको निर्माणको सन्दर्भमा नाथ नामका व्यक्तिले खरको पहिलो कच्ची मन्दिर बनाएको भन्ने गलेश्वरको झूत्रो लालमोहरमा उल्लेख छ । शिवालयमा प्रत्येक बिहान वैदिक विधिअनुसार नित्यपूजा, अर्चना शिवस्तोत्रका साथै रुद्राभिषेक, हवन, आरती र पुष्पाञ्जलि गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर कार्कीले जानकारी दिए  ।  

 

भक्तले मनोकामना पूरा हुने विश्वासका साथ मन्दिरको दर्शन गर्न आउने उनको भनाइ छ । अध्यक्ष कार्कीले भने, “पारिवारिक सुख शान्ति समृद्धि लगायतका मनोकामना पूरा हुने विश्वासका साथ पौराणिक कालदेखि गलेश्वरधाममा रोट चढाउने, बाच्छी बहर, सुनचाँदी, १०८ बेलपत्र चढाउँदा मनोकामना पूरा हुने विश्वास दर्शनार्थीमा रहेको छ ।” 

 

विशेष गरी गलेश्वर धाममा बालाचर्तुदर्शी देश विदेशबाट सद्बिज छर्न भक्तजनको घूइँचो लाग्नेगर्छ । पछिल्लो समय महाबत्ती बाल्ने भक्तालु बढेका कार्कीले बताए  । संस्कृति विद्यालय, वृद्धाआश्रमसमेत सञ्चालनमा रहेको यस मन्दिरको वार्षिक आम्दानी रु ६० लाखदेखि रु ७० लाखसम्म हुनेगरेको अध्यक्ष कार्कीको भनाइ छ । भक्तजनबाट भेटी, यज्ञबाट आएको शुल्क, दातबाट आएको चन्दा, मेलापर्वबाट सङ्कलित रकमनै मन्दिरको प्रमुख आय हो । 

 

प्रशासनिक, संस्कृति विद्यालय सञ्चालन, दैनिक नित्य पूजा, वृद्धाआश्रमलगायत विविध खर्चमा वार्षिक रु ४५ लाख खर्च हुने  गरेको उनले बताए  । अन्नदान क्षेत्रसमेत रहेको उक्त स्थानमा तीर्थयात्रीलाई निःशुल्क भोजन गराइन्छ । वृद्धाआश्रमका वृद्धवद्धालाई मन्दिरको आम्दानीबाट लत्ताकपडा र आवास उपलब्ध गराइँदै आएको छ ।  

 

दर्शनार्थीको चाप बढ्न थालेपछि भजनकीर्तन, जाग्राम बस्नेलाई पछिल्लो समय ठाउँको अभाव हुने गरेकाले पूर्वाधारको आवश्यकता रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।  गलेश्वरधामको दर्शनका लागि चितवनको माडीबाट आउनुभएका ५२ वर्षीय शङ्कर उपाध्यायले गलेश्वरधामको अलौकिक दृश्यले आफूलाई चकित पारेको बताए । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal