२०७६-२-६ , सोमबार


खेलकुदमा सरकारको ‘गफ’ ! क्रिकेट बाहेक केही देखेन

साँघु खेलकुद टिप्पणीकार 

 

 

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा दर्जनौं खेल भएपनि क्रिकेट बाहेक नदेखेको स्पष्ट भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ वैशाख २० गते  शुक्रवार सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा केबल क्रिकेटलाई मात्र ध्यान दिएको देखियो । हालै प्रदेश नम्बर– ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश थिए । २०७६ बैशाख ११ गते सकिएको प्रतियोगिता थियो यो । राष्ट्रपति भण्डारीले नै बैशाख ५ गते उद्घाटन गरेको प्रतियोगिता थियो त्यो । 

 


तर राष्ट्रपतिले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा क्रिकेट बाहेक अरु प्राथमिकतामा परेको पाइँदैन । सो अनुसार सरकारले काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको दुई वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

 


जबकि यो रंगशाला एक दशकअघि नै संचालनमा आइसक्नु पर्ने थियो । अहिले आएर अझै दुई वर्ष लगाउन खोज्नुको मतलव सजिलै यो रंगशाला खेलाडीहरूको पहुँचमा नपुग्ने निश्चितप्रायः भएको छ । जग्गा विवादका कारण लामो समयदेखि यो रंगशाला अन्योलमै छ । राष्ट्रिय खेलकुद परिषदले यो रंगशालाको जग्गा विवाद समाधान भइसकेको दावी गरिसकेको छ । 

 


तर ओली सरकारले हरेक पटक दुई वर्षको रटान लगाउनुको पछाडि कसको हात छ भन्ने स्पष्टै भएको छ । २०७५  चैतमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले आफ्नो एक वर्षे उपलब्धि घोषणा कार्यक्रममा पनि मूलपानी मैदानलाई दुई वर्षभित्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइसक्ने घोषणा गरेका थिए ।

 


त्यसैगरी सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रसंगको सहकार्यमा खेल मैदानहरू निर्माण गर्ने र क्रिकेटको एकेडेमी निर्माण गर्ने कार्यक्रममा उल्लेख छ । सरकारको यो पटकको नीति तथा कार्यक्रममा भनिएको छ–‘निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेटलगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ ।’

 


कार्यक्रममा काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीएआर) तयार गरिने उल्लेख छ । त्यस्तै सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीब्रता दिइने उल्लेख छ । जबकि यी सबै काम गर्ने भनी यसअघिको नीति तथा कार्यक्रममा पनि समेटिएको थियो । काम भने एकाधबाहेक थालिएकै छैन । 

 


सरकारले यसै वर्षभित्र जसरी पनि गर्नुपर्ने १३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगितालाई नीति तथा कार्यक्रममा समेटेको छ । जबकि यो खेलकुद गत वर्ष नै आयोजना गर्नुपर्ने थियो । सन् २०१८ मै सागको आयोजना गर्ने म्यान्डेट पाएको नेपालले अहिलेसम्म आयोजनाका लागि भौतिक पूर्वाधार तयार गर्न नसक्नु अनि त्यसको बदलामा नीति तथा कार्यक्रममा हरेक वर्ष समेट्न खोज्नुलाई केबल जश लिने उद्देश्यका रुपमा बुझ्न सकिन्छ । 

 


सामान्य रुपले बुझ्ने हो भने नेपालमा क्रिकेटभन्दा बढी ब्यवसायिक खेलकुद फुटबल हो । सरकारले फुटबलका लागि कुनै योजना नै ल्याएन । त्यसबाहेकका अन्य खेलका मैदान, कोर्ट वा अन्य कुनै रिङ्ग बन्नु त परको कुरा । नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन नै दक्षिण एसियाली खेलकुद सागमा स्वर्णपदक जितेका खेलाडीले पाउनुपर्ने पाँचमध्ये बाँकी रहेको तीन लाख रुपैयाँ जनही बाँडेको थियो । फेरि कसरी बिर्सियो फुटबललाई सरकारले ? 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal