२०७६-२-६ , सोमबार


हाम्रो भाउ कुकुरको जत्ति पनि छैन : दीपक ख्यादू

 

(जुन चिजमा लगानी गरिन्छ त्यसबाट सजिलै उन्मुक्ति पाइँदैन । त्यही महसुस गरेर सडक पाइलट बनेका युवा हुन् दीपक ख्यादू । उनी कसरी यो क्षेत्रमा आए ? किन उनलाई चालक बन्नुप¥यो ? भूकम्पले उनलाई कहाँबाट कहाँ पु¥यायो । भूकम्प नआएको भए उनले यो लाइनलाई व्यवसायिक नबनाउने थिए कि ? यस्ता विभिन्न पीडा र जीवनको दुःख सुख भरिएको अन्तर्वार्ता दिएका छन् २४ वर्षीय बा ३ ख ४७३६ नम्बरको गाडीका चालक एवं स्वरोजगार दीपकले सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिसंग –सम्पादक)

 

 

० गाडी चलाउन कहिलेदेखि थाल्नुभयो ? 
–जानेको त पहिलेदेखि नै थिएँ तर सार्वजनिक यातायात चलाउन थालेको दुई वर्ष भयो ।

 
० ढोकामा पनि बस्नुभयो कि ? 
–बसें तीन महिना । त्यसपछि सीधै चलाउन थालें । 


० कसरी पाउनु भयो त चलाउन ? 
–बुबाको गाडी थियो । त्यो गाडी मेरो अंकलले चलाउनु हुन्थ्यो । उहाँको २०७२ सालको भूकम्पमा परी मृत्यु भयो । त्यसपछि हामीले नयाँ ड्राइभर राख्यौं । तर त्यो हाम्रा लागि घाटा भयो । ड्राइभरले आफैले पैसा राख्ने, तेलसमेत नराख्ने, सर्भिसिङ पनि नगर्ने भएपछि बाध्य भएर हामीले एक वर्षपछि उसलाई हटायौं । अनि आफैले बाध्य भएर चलाउन थालें । 


० भूकम्पमा के के भयो ? 
–तार तल्ले घर थियो । सबै लड्यो । अंकल मर्नुभयो । म पनि पुरिएको थिएँ । मेरो रेस्क्यु भयो । अरुलाई केही भएन । 


० कसरी बस्नुभयो त ? 
–हामी डेढ वर्षसम्म बाहिर बस्यौं । पहिले त टेन्टमा बस्यौं । जब बर्खा लाग्यो अनि टहरा बनाएर बसियो । अहिले घर बनिरहेको छ । 


० सरकारले राहत त दियो होला नि ? 
–सरकारले खाजा खान ५० हजार रुपैयाँ दिएको थियो । त्यो त कहाँ पुग्यो । सरकारको राहत एक बोरा चामलमा दुई माना मिलाए जस्तै हो । 


० घर बनाउन पनि पैसा दिए होला नि ? 
–दियो । तर एकैपटक दिए पो काम हुन्थ्यो त । खर्च टर्ने थियो । तर एक लाख दिने पैसा २०–२० हजार दिएपछि कसरी पूरा हुन्छ । अनि सिमेन्ट पनि एकैपटक नदिने । किस्ताबन्दीमा । कहिले १०० बोरा । ५० बोरा । 


० कति पढेर छोड्नु भयो ? 
–१२ पढ्दा ्दै छोडियो । 


० कस्तो छ गाडीलाइन ? 
–हाम्रो भाउ कुकुरको जत्तिको पनि छैन । गुरु भन्ने रेस्पेक्ट रहेन । हामीलाई दोषमात्र दिन्छन् । गाडी पनि धेरै भए । गुरुजी पनि त्यस्तै छन् । सबै एकनाश हुँदैनन् । सबै यात्रु पनि बराबरी हुँदैनन् ।

 
० ट्राफिक प्रहरीको ब्यवहार कस्तो लाग्छ नि ?
ट्राफिक प्रहरीको त कुरै नगरौं । उनीहरूले गर्दा नै हाम्रो भाउ नभएको हो । एउटै ब्यक्तिले दुईथरी गाडीलाई दुईथरी व्यवहार गर्छ । हामीलाई गाली गर्छ । सरकारी गाडीलाई सलाम गर्छ । 


० तपाईहरूले गल्ती गर्ने भएर होला नि ? 
–हामी पनि कमाउनै आएका हौं । दुई जना मानिस चढिदेओस् भन्ने हुन्छ । चढाउनै नदिएपछि के हुन्छ । तर सबै ट्राफिक प्रहरीले त्यस्तो समस्या बुझ्दैन ।


 ० आम्दानी कस्तो छ नि ? 
–आम्दानी घटेको छ । च्वाइस धेरै भए । काठमाडौंमा मान्छे त बढेका छन् तर च्वाइस पनि बढेकाले हाम्रो आम्दानी घट्यो । 


० दुर्घटना पनि बढेको हो ? 
–सानो बाइकको कारण दुर्घटना बढेको हो । हामी त एउटा कीरा पनि नमरोस् भन्छौं । बाइकमा रेस खेल्छन् । हामी बच्नलाई राखेको स्पेशमा आएर उनीहरू पर्छन् ।

 
० गाडी र गाडीबीच पनि हुन्छ नि प्रतिस्पर्धा ? 
–त्यो त क्षणिक हुन्छ । त्यसबाट पनि एक्सिडेन्ट त हुन्छ । तर बाइकहरूका कारण बढी दुर्घटना हुने गरेको छ । मेरो दाइ बाइक एक्सिडेन्ट भएर बित्नुभयो । 


० गाडीलाइनमा खास समस्या के छ ? 
–रोक्ने ठाउँमा रोक्न नपाएपछि समस्या हामीलाई मात्र हैन अरुलाई पनि हुन्छ । बुढाबुढी र अपांगता भएकाहरूलाई झर्न र चढ्न धेरै समस्या हुने गरेको छ । सरकार यतातिर किन ध्यान दिँदैन । दुई पटक त यस्ता मान्छे झार्दा मैले चिट खानुप¥यो । यो गलत भयो । 


० भोलिको योजना के छ ?
–गाडी चलाएर भन्दा घरमा थन्काएर राख्दा राम्रो होला जस्तो भएको छ । कमाई हुँदैन । किस्ता तिर्दैमा ठीक्क भएको छ । कमाई ५० हजार भए खर्च त्यो भन्दा बढी भएको छ । अब विदेश ने जानुपर्ला । बचत नै नहुने भएपछि यहाँ काम गर्नुको के अर्थ । 


० सरकारले सघाउला नि तपाईजस्ता व्यवसायीलाई ?
–सरकारको त कुरै नगरौं । जो आए पनि त्यस्तै हो । कसैले केही गर्ने वाला छैन । जस्तो छ चलिरहन्छ । 


० समितिले केही गर्छ कि ? 
–केही गर्दैन समितिले । चार जना मिटिङ बस्छन्, हामीले तिरेको पैसा पचाउछन्, काम त्यत्ति हो । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal