२०७६-२-६ , सोमबार


यसकारण दुःखदायी बन्यो पचहत्तर साल ! 

 

 नेपालमा प्रचलित संवत विक्रम संवतको नयाँ बर्ष शुरु भएको छ । नेपालीहरूले नयाँ बर्ष २०७६ मा नेपाल र नेपालीलाई राम्रो होस् भन्ने कामना गरेर नयाँ बर्ष मनाइरहेका छन्, मनाएका छन् । गत बर्ष नयाँ बर्ष लाग्ने समयमा नेपालीहरू अत्यन्त उत्साहित थिए । निर्वाचनका बेला राष्ट्रहितलाई सर्वाेपरी महत्व दिएर काम गरी नेपालको प्रतिष्ठा उँचो पार्ने र नेपाललाई बढी आत्मनिर्भर बनाउने सपना बाँडेर निर्वाचनमा विजय प्राप्त गरेको पार्टी तात्कालीन नेकपा एमालेका अध्यक्ष  केपी ओलीको नेतृत्वमा तात्कालीन माओवादी केन्द्र समेतको सरकार बनेको थियो । 

 


एमाले र माओवादी केन्द्रको एकीकण भएर एउटा पार्टी बनेको  कारणले पनि अब संसदमा अत्यधिक बहुमत प्राप्त गरेको पार्टीको नेतृत्वमा सरकार बनेपछि सरकार विगतका सरकारहरूभन्दा निर्णय गर्न बढी सक्षम हुन्छ र देश र जनताको जीवनमा प्रत्यक्षरुपले सकारात्मक प्रभाव पार्ने खालका निर्णयहरू गरेर देशलाई समृद्धिको दिशामा अघि लैजान्छ भन्ने सपना बहुसंख्यक नेपालीहरूले देख्न थालेका थिए ।

 

२०७५ सालको शुरुमा नेपाली जनतामा देखापरेको त्यो आशा अहिले सेलाएको छ । कम्युनिष्ट पार्टी नाम भएको पार्टीको सरकारले सर्वसाधारण जनतालाई लाभ पुग्ने काम गर्ने सम्बन्धमा निर्वाचन घोषणा पत्रमा गरेका वाचाहरूको पुरै बेवास्ता र उपेक्षा समेत गरेको अनुभव गरेका जनताले अहिले कम्युनिष्ट नाम गरेका पार्टी, कांग्रेस पार्टी र त्यस अघिको सक्रिय राजाको नेतृत्वमा रहेको सरकारका काम कारवाहीमा तात्विक भिन्नता नरहेको अनुभव गरेर कुनै विकल्प कतै सुदूर क्षितिजतिर देखिन्छ कि भनेर आँखा तानीतानी हेर्न र खोज्न थालेका छन् । 

 


 यसरी २०७५ साल नेपाल र नेपालीका लागि उत्साह र आशाको बर्षभन्दा निराशा र पीडाको बर्ष भएर बितेको छ । नेपालीहरूले अहिले २०७६ साल २०७५ सालभन्दा बढी सन्तोष, खुसी र सफलताको बर्ष होस् र नयाँ आशा र उत्साहको अनुभव हुन सक्ने बर्ष बनोस् भन्ने कामना गरेर नयाँ बर्ष मनाइरहेका छन् । 

 


१ बर्ष अघि नयाँ बर्ष शुरु हुने समयमा अब केपी ओली प्रधानमन्त्री भएपछि चीनको तिब्बतबाट नेपालको राजधानी काठमाडौं हुँदै बुद्धको जन्मस्थान लुम्बिनीसम्मको रेलमार्गको निर्माणको सपना साकार पार्ने काममा सार्थक उपलब्धि होला भन्ने आशा गरेका थिए । त्यस दृष्टिले २०७५ साल पूर्णरुपले निराशाजनक बर्ष रह्यो ।

 

प्रधानमन्त्री केपी ओलीले नै तिब्बतबाट लुम्बिनीसम्मको रेलमार्ग निर्माण गर्ने कुरा छाडेर तिब्बतबाट काठमाडौंसम्मको रेलमार्गको कुरा मात्रै गर्न  थालेका छन् । त्यसमा पनि चीन जाने भ्रमण टोलीमा रहेका प्रधानमन्त्रीका विश्वास पात्र परराष्ट्र मन्त्रीले नै रेलमार्ग चिनियाँ अनुदानमा निर्माण गरिने अभिव्यक्ति दिएर सो रेलमार्गको निर्माणमा नेपालको कम चासो र प्राथमिकता रहेको कुरा अप्रत्यक्षरुपले बताए । 

 


 गत बर्ष सरकार गठन हुने बेलामा नेपाली जनताले नयाँ सरकारले चीनसितको पारवहन सम्झौताले चाँडै अन्तिम रुप पाउला र नेपालको एउटा देशमाथिको निर्भरताको अन्त्य होला भन्ने अपेक्षा समेत गरेका थिए । २०७५ सालको प्रारम्भमा चीनसँगको पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गर्न नेपाल र चीनको संयुक्त प्राविधिक टोली सहमतिमा पुगेको थाहा पाएपछि नेपाली जनता अलिकति बढी आशावादी भए ।

 

नेपालका बाणिज्य मन्त्रीले गएको दशैंभन्दा अगाडि नै पारवहन सम्झौता दुई पक्षको बीचमा औपचारिक हस्ताक्षर हुने आशा समेत देखाए । त्यसपछि सो सम्झौतामा औपचारिकरुपमा हस्ताक्षर गर्ने कुरालाई सरकारले उच्चारण गर्न समेत छाड्यो । २०७५ सालमा सो सम्झौताले औपचारिक ढंगले अन्तिम रुप पाउन सकेन ।

 

प्रोटोकलको मस्यौदामा सहमति पुगेको समयमा भारतीय संचार माध्यमले समेत समाचार बनाएको सो विषय त्यसपछिको समयमा सरकारको बेवास्ताको शिकार बन्नुको पछिल्तिर सो विषयमा त्यसबेला स्वदेशी तथा विदेशी संचार मध्यम र विश्लेषकहरूले गरेका टिप्पणीहरूको के कति भूमिका छ भन्ने कुरा पनि अहिलेसम्म शंकाकै घेरामा छ । 

 


त्यसैगरी गत बर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने र त्यस अवसरमा नेपालको विकासमा चीनले महत्वपूर्ण सहयोग गर्ने आशा समेत नेपाली जनताहरूले गरेका थिए । तर, २०७५ मा चिनियाँ राष्ट्रपतिको नेपालमा भ्रमण गराउने कुरामा नेपालका प्रधानमन्त्रीले चासो नदिएको अनुभवसम्म पनि नेपालीहरूले गरे । चीनले आयोजना गरेको बोआओ सम्मेलनको अवसर पारेर नेपाली प्रधानमन्त्रीले भारतको भ्रमण गरे ।

 

संभवतः नेपाल सरकार र नेपाली प्रधानमन्त्रीको बोआओ सम्मेलनप्रतिको उपेक्षाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको कार्यक्रम तयार नहुने अवस्था बनाउन मद्दत पु¥यायो । कतिपय विश्लेषकहरूले नेपालका प्रधानमन्त्री र नेकपाका प्रभावशाली नेताहरूले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण होस् भन्ने नै चाहँदैनन् र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको कार्यक्रम बनाउनको निम्ति आवश्यक पर्ने वातावरणलाई नजानिंदो ढंगले बिगार्न समेत चाहन्छन् भन्ने अनुमान र आशंका समेत गर्ने अवस्था बनेको देखियो । 

 


चीनसँग इन्धनको आयात गर्ने र नेपालमा इन्धनको भण्डारण गर्ने संरचना निर्माण गर्ने जस्ता कुराको चिनियाँ पक्षले सुन्ने र बुझ्ने स्वरमा उच्चारण गर्नसमेत नेपाल सरकारले संकोच मानेको अनुभव अहिले कतिपय कूटनीतिक तथा राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । 
 यस बीचमा नेपालले चीन र भारत जस्ता दुवै छिमेकी देशहरूसँग साँठगाँठ गरेको आरोप समेत संचार माध्यमहरूले लगाउने दुर्भाग्यपूर्ण अवस्था बन्न पुग्यो । बर्षको शुरुमा दुवै छिमेकी मुलुकसँग सम्बन्ध सुधारेको दाबी गरेको सरकारले अहिले २०७६ को प्रारम्भसम्म  आइपुग्दा दुवै छिमेकीसितको सम्बन्धलाई बेवास्ता गरेर बाहिरतिर हेर्न थालेको हो कि भन्ने आशंका समेत गरिन थालेको छ । 

 


देशभित्र यातायात क्षेत्रको सिण्डिकेट हटाउने घोषणा गरेर जनतामा एक प्रकारको उत्साह सिर्जना गरेको सरकारले सिण्डिकेट हटाएर सार्वजनिक यातायातलाई सहज र सुविस्तापूर्ण पनि बनाउन सकेन । गैरसरकारी संस्थाका नियमन गर्ने कुरा गरेर जनताको ताली खाएको सरकारले गैरसरकारी संस्थाको नियमन गर्न त परै छाडौं, गैरसरकारी संस्थाको धार्मिक उद्देश्यले आयोजना गरेको भेलामा प्रधानमन्त्री स्वयं ३÷३ दिनसम्म होटलमा गएर बस्ने काम गरेर बहुसंख्यक नेपाली जनताको भावनामा ठेस पु¥याउने काम गरे । अहिले २०७६ को शुरुको समयसम्म आइपुग्दा सरकारले नै विदेशी गैरसरकारी संस्थालाई नेपालमा क्रिश्चियन धर्म प्रचार गर्ने इजाजत दिएको समाचार समेत आएको छ । 

 


भ्रष्टाचार नगर्ने र हुन नदिने वाचा तथा भाषण गर्ने व्यक्ति प्रधानमन्त्री भएको बेलामा नेपालमा त्यस अगाडिका सरकारका पालामा भन्दा बढी भ्रष्टाचार भएको वा हुन थालेको समाचार समेत आउन थालेको छ । सरकारले मुआब्जा दिएर आफ्नो स्वामित्वमा लिएको बालुवाटारको ललिता निवासको ११३ रोपनी जग्गा सत्तारुढ दलका प्रभावशाली नेता समेतले किनेको कुरा अहिले सार्वजनिक भएको छ । नेपाल वायुसेवा निगमको उड्न ठिक्क परेको जहाजलाई उड्न नदिने निर्णय हुँदा राष्ट्रलाई भएको करोडको नोक्सानीको विषयमा समेत सरकार मौन रहेको छ । 

 


 सबैभन्दा सस्तो दरमा निर्माण हुन सक्ने भनिएका विद्युत आयोजनाहरूको निर्माणको सम्झौता विदेशीसँग गरेर विदेशीलाई जिम्मा लगाउने र त्यस्तो विदेशी कम्पनीहरूलाई नेपाली वित्तीय संस्थाबाट ऋण दिलाउने काम गरेर विदेशी स्वार्थलाई सर्वाेपरी महत्व दिएर काम गरेको कुरा समेत घटनाक्रमहरूले पुष्टि गरेको देखिन्छ । यी र यस्ता घटनाक्रमहरूबाट वाक्क भएका जनताहरूले २०७६ को शुरुसम्म आइपुग्दा नेकपाका नेताले केही राम्रो काम गर्लान कि भन्ने आशा गनृ समेत छाडेर राजा र विप्लवतिरसम्म हेर्न थालेको पाइन्छ । अझै पनि समय छर्केको छैन ।

 

सरकार प्रमुख र सरकारले आफू र आफ्ना पार्टीको हित मात्रै हेर्न छोडेर जनताको सुख सुविधा र चाहना तथा राष्ट्रको बृहत्तर हितलाई हेरेर काम गर्न थाल्ने हो भने सरकारले जनताको विश्वास फेरि आर्जन गर्न पनि सक्दछ । तर, भारतीय नागरिक र अरु मुलुकका नागरिकसँग विवाह गरेका नेपालमा जन्मेका महिलाको सन्तानलाई नेपाली नागरिकता दिने र पहिला विदेशी अंगीकृत नागरिकता दिने र पछि तिनका सन्तानलाई वंशजको नागरिकता दिन्छौं भनेर नेपालको हित पनि हुँदैन र नेपालीको विश्वास जित्न पनि सकिंदैन ।

 

सुन तस्करलाई कारवाही नगर्ने र बलात्कारीको ढाकछोप गर्ने जस्ता काम गर्ने र आलोचना गर्नेहरूको मुख थुन्ने प्रयत्न गर्ने हो भने जनताको विश्वास जित्न सकिंदैन । गुमाउनुपर्छ । 


 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal