२०७६-१-७ , शनिबार


तीन राज्यमन्त्रीले आन्दोलन गर्ने !

साँघु न्युज स‌ंवाददाता

काठमाडौं । अविश्वास र लफडाकै भरमा पार्टी सञ्चालन गरिरहेको राजपाले महाविधेशन पनि गर्न सकेको छैन । विगत एक बर्षदेखि निरन्तर प्रयास गर्दै आएपनि आन्तरिक किचलो र समीकरण नमिल्दा पार्टीका जिल्ला अधिवेशनसम्म हुन सकेको छैन । ६ वटा दल मिलेर बनेको राजपामा ६ थरी एजेण्डा र नेताहरुको दाऊ देखिएपछि पार्टी मोर्चा जस्तो बनेको छ । महाधिवेशन गर्न नसकेर लफडामा फसेको राजपालाई अर्को आपत् आईलागेको छ । त्यो आपत चाहिं अरु केही नभएर प्रदेश–२ का राज्यमन्त्रीहरुको हो ।

 

विवादका बीचमा राजपाको अध्यक्ष मण्डलका तत्कालीन संयोजक महन्थ ठाकुरले ३ जनालाई राज्यमन्त्री बनाए । तर, ती तीनै जना अहिले न ठाकुरसंग खुसी छन् न त मुख्यमन्त्री र मन्त्रीहरुसंग । हुन पनि प्रदेशमा राज्यमन्त्री प्रदेश–२ मात्रै हो । भागबण्डा र असन्तुष्टलाई फकाउने काइदाका रुपमा प्रयोग भएको राज्यमन्त्री पद अहिले तिनीहरु स्वयमलाई निल्नु न ओकल्नु भएको खबर छ । राज्यमन्त्री सुरेश मण्डल, डिम्पल झा र अभिराम शर्माले काम त पाएका छैनन नै, मन्त्रीहरुले अधिकार समेत दिएका छैनन् । जसले गर्दा उनीहरुले मन्त्रालयको फाइल कस्तो हुन्छ भन्ने देख्न समेत नपाएको गुनासो गर्दै हिंडेका छन् । 


 हत्या अभियोगमा लागेका अभिराम शर्मालाई ठाकुरले आफ्नो कार्यकर्ताको हैसियतमा माया“ गरेर विवादकै बीचमा सामाजिक विकास राज्य मन्त्री बनाएका थिए । अनि निरन्तर विमारी भइरहने र सकेसम्म निवासबाट मन्त्रालय चलाउने पर्यटनमन्त्री रामनरेश रायको मन्त्रालयमा ठाकुरले पठाएका थिए सुरेश मण्डललाई । यी दुवैजना पूर्वतमलोपाका नेता हुन् । रामनरेश महेन्द्र राय यादवको गुटबाट मन्त्री भएका हुन् ।  

 

शर्मासहित डिम्पल झा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन । उनी पनि राज्यमन्त्री त भएकी छिन् तर काम भने पाएकी छैनन । तीनै जना राज्यमन्त्रीलाई राज्यमन्त्री भएको ६ महिनाभन्दा बढी हुँदा पनि जिम्मेवारी र अधिकार पाएका छैनन । पार्टीले २०७५ चैतको पहिलो हप्ता राज्यमन्त्रीलाई अधिकार दिन मन्त्रीलाई उर्दी जारी गरेको थियो । त्यो पनि कार्यान्वयन भएन ।

 

मन्त्रीहरु राज्यमन्त्रीलाई अधिकार दिन राजी नभएपछि २४ चैतमा फेरि अर्को उर्दी जारी त गरेका छन्, तर अहिलेसम्म कार्यान्वयन भने भएको छैन । यसले गर्दा मन्त्री र राज्यमन्त्रीबीच मात्र होइन पार्टीभित्र पनि विवाद निम्त्याएको छ । खासमा मन्त्री र राज्यमन्त्रीको गुट फरक भएकोले अधिकार दिन विश्वास नगरेको राजपाका एक नताको भनाई छ । अधिकार नपाएपछि राज्यमन्त्रीहरु आन्दोलनमा आएका छन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal