२०७६-१-७ , शनिबार


चीफ सा’ब सैनिक नियमावली परिवर्तन के का लागि ?

नेपाली सेनामा नयाँ परिवर्तन, नयाँ नियमावली संशोधन र फाष्टट्रयाक सबै हटेर सबै जना सैनिक खुसी थिए कि अब राम्रो र नियमअनुसार सरुवा प्रमोसन र व्यवस्था हुन्छ भन्ने । तर, त्यो नियमावली सोझासीधा सिपाही र पीडित सैनिक अधिकृतहरूका लागि मात्रै रहेछ । नियमावली संशोधन भयो कसका लागि ठूला सैनिकका लागि कि तल्लो दर्जाको लागि ? जर्णेल–कर्णेलहरूका लागि संशोधन भएको भए आज नियमावली पास भएको एक हप्ता भयो लागू हुन्थ्यो होला । तर, नयाँ नियमावलीले त सरुवा बढुवा कसैलाई छोएको छैन ।

 

के नयाँ नियमावलीमा एक बर्ष पृतना वा कुनै कमाण्ड गर्नुपर्ने, १५ दिने सूचना अधिकृतको विदा बसेपछि वा रिटायर्ड भएपछि मात्रै बढुवाको फाइल उठाउने नियम छ रे ? तर, यहाँ त ७ दिने म्याद राखेर सिफारिस, चीफसा’वका आफन्त घर जान लागे भनेर पुरानो नियमावलीलाई टेकेर बढुवा सिफारिस गरिएको छ रे ? 

 


 सरकारले पास गरेको नियमावली कहिले लागू हुने निमुखा अधिकृत बढुवा हुने बेलामा कि कसका लागि हो ? सैनिकहरूलाई वा सबैलाई स्पष्ट हुनु प¥यो । हाम्रा चीफसा’ब त परिवर्तन पक्षधर मानिन्छन् । आफ्नो मान्छे तान्नलाई नियम आएको त होइन होला ? 

 


सेनामा लागू भएको फाष्टट्रयाकले आज सैनिक अधिकृतहरू रुँदै घर जान बाध्य भए । फाष्टट्रयाकले धेरै गुनासो र नराम्रो सन्देश गएर सुरक्षा निकायमा नराम्रो असर परेको थाहा पाएर नयाँ प्रधानसेनापतिले सैनिक नियमावली परिवर्तन गरेको हामीले बुझेका थियौं । तर, ८० प्रतिशत फाष्टट्रयाक त गएको रहेन छ । प्रमुख सेनानीहरूको बढुवा भएको छ नयाँ नियमावलीले छुन्छ भनेर ? के का लागि हतार गरेर पुरानो नियमावली लागू गरियो रक्षा मन्त्री र प्रधानमन्त्रीज्यू ? के क्याविनेटमा जे आयो त्यही पास गर्ने भए के को गुनासो पोख्नु ?

 


चीफसा’बले चाहे जस्तो नेपाली सेनामा खै कहाँ भो परिवर्तन ? पेट्रोल पम्पमा पुराना जीहजुरियाहरूकै रजाई छ । पेट्रोल पम्पका रैथानेहरूले करोडौं कमाएर, महल बनाएर हामीलाई कसले छुने भनेर फुर्तिका साथ भन्दै हिंडेका छन् ? हामी विना कहाँ चल्छ भन्छन् । 

 


 खै राशन ठेक्कामा सिपाहीको रासन खाएर मोटाएका सैनिक अधिकृत र ठेकेदारलाई कारवाही ? खै अनलाइन ठेक्का सर्भिस व्यवस्था ? खै संभार रथीको स्वदेश र विदेशको तोकेको रासन सिपाहीले खान पाएका छैनन्, पोशाक पाएका छैनन् शा.से. जाँदा आउँदा कमाण्डरको पेलाई दादागिरी त्यस्तै छ ?

 

सिपाहीले केही सामान लान÷ल्याउन नपाउने रे । तर, आफू चाहिं गिफ्ट र हाकिमलाई चाहिने उपहार हालेर प्लेन नै भरेका हुन्छन् । चीफसा’बको सुधार र परिवर्तनको चाहना र संशोधित नियम केवल देखाउन मात्र रहेछ भन्ने सन्देश नजावोस्  ? सेनाका दुई जना पूर्व जर्नेलले देशका लागि बोल्दा तात्ने चीफसा’ब र सरकारको सेनाभित्र हुने अनियमित काम, खरीद घोटाला र जर्नेल, कर्णेलहरूको रजाईमा किन ध्यान जाँदैन ? 

 


गौरव टण्डुलले सात महिना कल्याणकारीको कमाण्ड गरे, कल्याणकारीमा बसेर ब्यक्तिगत लाभ बाहेक के काम गरे त ? राजेन्द्र क्षत्रीले पुरस्कार स्वरुप विदेशको फोर्स कमाण्डरमा सिफारिस गरे । आज तिनै उपरथीलाई ७ दिन अगावै सूचना र सिफारिस, १५ दिने नियम कसलाई, एकबर्षे कमाण्ड कसका लागि हजुर ? अवकास हुने रथी विदा नै नबसी किन कसरी कुन दफामा सिफारिस भयो ? दवाव, सोर्सफोर्स चाकडी प्रथा हटेको छैन भन्ने प्रमाणित भएन ? 

 


उपरथी योगेन्द्र खाँडले फाष्टट्रयाक प्रोजेक्टमा सिपाहीलाई गोरु जोते झैं जोतेर काम लगाउने तर ईन्जिनियर विभागका प्रमुख चाहिं फाष्टट्रयाक प्रोजेक्टको कमिशनर र सिपाहीको पसिनाको पैसाले २ करोडको गाडी र सचिव मन्त्री र राजनैतिक पार्टीलाई घुस चढाउँदैै हिंडेका छन् । आफ्नो कार्यकाल कसरी बढाउने भनेर उपरथी खाँड दौडधुपमा छन् । उपरथी खाँड २०७६ असारमा अवकासपछि पनि फाष्टट्रयाक प्रोजेक्ट मै रहनका लागि सत्तारुढ दलका नेता, रक्षा मन्त्री र रक्षा सचिवको घरघरमा धाउने गरेको छन् । सिपाही चाहिं विदा जान समेत पाएका छैनन् ।

 

फाष्टट्रयाक कमाण्डर जर्णेल अब म्याद सकिन लाग्यो भनेर कसरी व्यवस्था गर्ने भनेर मन्त्री र अन्य नेतालाई मिलाउन दिनरात ध्याउने ? सैनिक नियम अनुसार नेताको घरघरमा जान पाइन्छ ? खै कहाँ आयो परिवर्तन ? रक्षा मन्त्रालय त फाइल बोक्ने, क्याविनेट लाने जस्ताको त्यस्तै कपि गर्ने अफिस रनरको काम वाहेक खै के गर्छ ? रक्षा मन्त्री त चाकडी मै मस्त । १० गतेको क्याविनेटबाट पास भएको नियमावली किन लागू भएन ? अहिले बाटै भावी सेनापतिका लागि प्रचार, चलखेल भएको ठीक हो ?

 


पाँचखालको रासन काण्ड कसले हे¥यो जहाँ ठेकेदारदेखि पाँचखालका सिपाही, जमदार सुवेदार सबैको मिलेमतो हुन्छ रे । अहिलेको सुवेदार मेजरसम्म रासन ठेकेदारसंग मिलेर यति घोटाला गर्नसम्म गरेका छन् । जो आएपनि अनियमित काम गर्नेलाई कसैले केही कारवाही गर्न सकेको छैन । 

 


 चीफ सा’ब ! ब्यारेकमा सिपाहीले गुणस्तरीय खाना, कपडा पाउने र सुरक्षित बासको व्यवस्था मिलाउनुस् र सैनिक नियम विपरीत पतिको दादागिरी हटाउनुस् । शा.से.मा जाँदा आउँदा अनियमित काम के के भएको हुन्छ सिपाहीसंग गोप्य रुपमा बुझ्ने ब्यवस्था  होस् । पत्रिकाले जे लेखे नि के हुने हो र भन्ने हैन, चीफसा’ब सोचेर बुझेर काम गरे अबस्य राम्रो परिणाम आउने छ ।

 

नत्र सेनामा सुधारको अपेक्षा एकादेशको कथा बन्ने छ । आफन्त र चाकडी बाजहरूका लागि मात्र सैनिक नियमावली संशोधन र परिवर्तनको फाइदा पुग्ने होइन कि पीडित सकल दर्जा, सोझासीधा इमानदारीपूर्वक काम गर्नेहरूका लागि पनि परिवर्तन आवोस् ।  

                                                                                                                                    –नेपाली सेनाको भलो चाहने अधिकृतहरू
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal