२०७६-१-७ , शनिबार


अब नेपाली जाग्नुपर्छ, विदेशी जागेर हुँदैन

( नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले विदेशी लगानी भित्र्याउन २०७५ चैत १५ र १६ गते लगानी सम्मेलन ग¥यो । सम्मेलनमा उल्लेख्य लगानीकर्ताहरूको उपस्थिति रहेको र प्रतिबद्धता आएको भन्दै सरकार उत्साहित देखिएको छ । तर, यसअघिका लगानी सम्मेलनको नियति दोहोरिने चिन्ता पनि उत्तिकै देखिएको छ । यसपटकको लगानी सम्मेलन खासमा कस्तो रह्यो ? के विदेशी लगानीकर्ताको मन नेपालले जितेको हो ? समृद्ध नेपाल, सुखी नेपालीको सरकारी नारालाई यो सम्मेलनले भरथेग गर्ला ? यिनै र यस्तै प्रश्नको वरिपरि रहेर हामीले नेपाल भ्रमण वर्ष–२०२० का कोअर्डिनेटर तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ उद्योगी सुरज वैद्यसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः सम्पादक)


० लगानी भित्र्याउन सरकारले आयोजना गरेको २ दिने लगानी सम्मेलन सकिएको छ । सहभागिताको दृष्टिले यो कस्तो रह्यो ?


–म पनि यो कमिटीमा सक्रिय थिएँ । सुरुमा हामीलाई सम्मेलन उत्साहप्रद होला या नहोला भन्ने द्विविधा थियो । हामीसँग समय पनि पर्याप्त थिएन । उता संसद् पनि चलिरहेको थियो । सरकारी साथीहरूले पर्याप्त समय नदिने हुन् कि भन्ने भय हामीमा थियो । तर, छोटो अवधिमै सम्मेलन भव्य बन्यो । 

 


० सम्मेलन भव्य बन्यो भन्नुभयो । त्यसका केही आधार पनि छन् कि ?


–यसभन्दा अगाडि सन् २०१७ को लगानी सम्मेलनलाई नै हेरौं । त्यतिबेला २५० लगानीकर्ता जुटेका थिए । तर, यसपटक ७३३ लगानीकर्ता सहभागी बनेको तथ्यांक आएको छ । यसअघि २५ वटा मुलुक सहभागी भएकोमा यसपटक यो बढेर ४० पुगेको छ । यति मात्रै होइन, स्वदेशी लगानीकर्ताहरूको उपस्थिति पनि उत्तिकै उल्लेख्य रह्यो । त्यसैले सहभागिताको दृष्टिले यो सफल भएको मेरो विश्लेषण छ । 

 


० वामपन्थीहरूको सरकार बनेपछि विदेशी लगानी कम आएको खबरहरू प्रकाशमा आएका थिए । विदेशी लगानीकर्ता विश्वस्त बनेका हुन् अब ? 


–हो, विगतमा अन्योलता थिए । हामी नेपालमै बस्नेहरूलाई पनि देशको संक्रमणकाल देखेर सोच विचार गरेर मात्रै काम गर्नुपर्ने अवस्था थियो । तर, अब राजनीतिक संक्रमण अन्त्य भएको छ । संविधानको कार्यान्वयनमा हामी प्रवेश गरेका छौं । प्रदेश र स्थानीय तहहरूले धमाधम काम गरिरहेका छन् । यसले साँच्चै विश्वास जागृत गराएको छ । यसपटकको लगानी सम्मेलनलमा पनि अविश्वासको बादल हटेर विश्वास जागृत भएको देखिएको छ । 

 


० लगानी सम्मेलनमा छिमेकी मुलुक चीन र भारतको उल्लेख्य सहभागिता देखियो । तर बेलायत, अमेरिकालगायत देशहरूको उपस्थिति अलि न्यून रह्यो । यसलाई कसरी बुझ्ने ? 


–छिमेकीले बढी र टाढाका मुलुकले कम चासो देखाउनु स्वभाविक नै हो । अरु मुलुकमा पनि छिमेकी देशहरूकै लगानी बढी हुन्छ । जस्तो युरोपियन युनियनको लगानी युरोपभित्र नै रहन्छ । त्यहाँ राम्रै विकास भएको हामी देख्न सक्छौं । नेपालमा पनि चीन र भारतका लगानीकर्ताले चासो देखाएका छन्, यो सकारात्मक छ । 

 


० हाम्रा छिमेकीका नियतसँग जोडेर पनि पनि प्रश्न उठाउने गरिन्छ नि ? 


–भारत र चीनका लगानीकर्ता नेपालमा आउँछु भन्नु राम्रो कुरा हो । छिमेकीको यो सहभागिताले राम्रो सन्देश दिएको छ । यसमा अनावश्यक शंका पाल्न जरुरी छैन । बरु छिमेकीको लगानी गर्ने उत्सुकतालाई भरपूर प्रयोग गर्न लाग्नु सबैको हितमा छ ।  

 


० भनेपछि अब लगानी ओइरिने भयो नेपालमा ? 


लगानी गर्न तयार छौं भनेर लगानीकर्ताहरू आउनु भएको छ । ७० भन्दा बढी परियोजनाहरू हामीले दिएका थियौं । मैले बुझेअनुसार, २० वटामा साथीहरूले उत्सुकता देखाउनु भएको छ । यसर्थ उपस्थिति र चासो उत्साहजनक रह्यो । यसको मतलब अब लगानी आइहाल्छ भनेर हामी ढुक्क भएर बस्न हुँदैन । त्यसका लागि निरन्तरको प्रयत्न जरुरी हुन्छ । 

 


० यो सम्मेलनको सबैभन्दा ठूलो उपलब्धि के–के हुन् ? 


–नेपालमा लगानी नभित्रिनुको कारण महँगो जग्गा पनि हो । महँगो जग्गा त्यो पनि पर्याप्त नहुँदा लगानीकर्ता विकर्षित भइरहेका थिए । यसपटक प्रदेश सरकारहरू आफैंले परियोजनाहरू पठाएका छन् । यसमा जग्गा उपलब्ध गराउनेदेखि अन्य स्रोत र साधन उपलब्ध गराउने प्रतिबद्धता आएको छ । यस पटकको यो राम्रो पक्ष हो । काठमाडौंमा गरिएको यो सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरू पनि आउनु भयो ।

 

यसअघि निजगढको मात्रै कुरा आएको थियो । तर यसपटक धनगढी र विराटनगरका परियोजनाहरूको पनि कुरा आयो । कृषिदेखि सिमेन्ट उद्योगसम्मका प्रस्ताव आउनु र उद्योगलाई जग्गा दिने प्रतिबद्धता मिल्नु ठूलो उपलब्धि हुन् । हरेक काम गर्दा केही न केही कमजोरी हुन्छ । तर विदेशी लगानीकर्ता भित्र्याउनका लागि यो सम्मेलन कोशेढुंगा भएको छ । 

 


० लगानीकर्ताहरूबाट प्रतिबद्धता आउने तर त्यसअनुरुप लगानी नआउने रोग विगतदेखि नै रहँदै आएको छ । यसअघिको लगानी सम्मेलनमा जति प्रतिबद्धता जनाइयो त्यो अनुरुप लगानी आएन । यसपटकको सम्मेलन पनि त्यस्तै हुने हो कि ? 


–हामीले लगानी भित्र्याउने चाहेका हौं भने सबैभन्दा पहिले नेपाली जाग्नु पर्छ । विदेशी जागेर हुँदैन । हामीले अब पटक पटक विदेशीलाई लगानी गर्नूस् भनेर आह्वान गर्नुपर्छ । विगतमा विदेशी लगानी नआउनमा विभिन्न समस्याले काम गरेका थिए । ती समस्यालाई हल गर्नेतर्फ पनि उत्तिकै चनाखो हुनुपर्छ । मन्त्रालयहरूले समयमा काम नगर्ने समस्या पनि रहँदै आएको छ । कसैले लगानी गर्न चाहन्छ भने त्यसलाई तत्कालै सहजीकरण गर्ने काम सरकारले गर्नुपर्छ । 

 


० प्रतिबद्धताअनुरुपका लगानी भित्र्याउन सरकारले अब गर्नुपर्ने कामहरू के–के होलान् ? 


–यो सम्मेलन अपेक्षाअनुरुप सफल भएको छ । यसमा धेरै प्रतिबद्धताहरू आएका छन् । आएका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न गम्भीरतापूर्वक लाग्नुपर्छ । पहिलो त आएका परियोजना अघि बढाउन एउटा फलोअप कमिटीको ब्यवस्था तत्कालै गर्नुपर्छ । विभिन्न खालका लगानीकर्ताहरूले नेपालमा लगानीको इच्छा देखाएका छन् । उनीहरूलाई कसरी अगाडि बढाउने भन्ने विषयमा रणनीति बनाउन जरुरी छ ।

 

प्रतिबद्धता जनाएका लगानीकर्ताहरू लगानीका लागि नआउने प्रवृत्ति थियो । सरकारले पनि प्रतिबद्धता जनाएका लगानीकर्ताहरू नआउँदा खोजीनीति गर्ने काम गरेको थिएन । यसले प्रतिबद्धता अनुरुपको लगानी भित्र्याउन नकारात्मक भूमिका खेलेको थियो । अब रणनीति बदल्नु पर्छ । यदि प्रतिबद्धता जनाएका कुनै लगानीकर्ता आएनन् भने उहाँहरूकै देशमा गएर भए पनि पुनः लगानीका लागि आह्वान गर्न पनि हामी पछि पर्नु हुँदैन । फलोअप कमिटीमार्फत निरन्तर आएका प्रतिबद्धतामाथि निगरानी हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

 


० विदेशी लगानी भित्र्याउन तामझाम गरेको सरकारले स्वदेशी लगानीकर्तालाई कम आँकेको गुनासो पनि सुनिन्छि । यो गुनासोबारे तपाईंको धारणा के छ ? 


–बिलकुल गलत धारणा हो । सरकारले लगानीका लागि स्वदेशी लगानीकर्तालाई भाउ दिएन भन्नेहरूलाई मेरो प्रश्न छ– सरकारले हामी नेपालीलाई लगानी नगर भनेर कहिले भनेको छ ? कहिल्यै पनि भनेको छैन । त्यसैले यो निजी क्षेत्रको गुनासो मात्रै हो । 

 


० आत्मनिर्भर रहेका कतिपय क्षेत्रमा लगानी भित्र्याइयो । यसो नगरेको भए हुन्थ्यो भन्ने तर्कको जवाफ कसरी दिनुहुन्छ ? 


–मैले पनि यदाकदा यस्तो गुनासो सुन्ने गरेको छु । वास्तवमा यो कुनै वस्तुसंगत तर्क होइन । यदि आत्मनिर्भर थियो भने त्यसमा नेपालीले किन लगानी गरेनन् त ? यहाँ नदीमा पानी बगेकोबग्यै छ । ८६ हजार मेगावट विद्युत्त उत्पादन गर्ने क्षमता नेपालसँग छ भने आज किन यो केही हजारमा मात्रै  सीमित भयो ? यदि हामी आत्मनिर्भर थियौं भने त्यो किन बनाएनौं ? आजको नेपालमा जसरी बाटो बनेको छ, के त्यसमा हामी सफल भएका छौं त ? एउटा बाटो र एयरपोर्ट बनाउन किन वर्षौं लागिरहेको छ ? त्यसैले हामीले कसरी काम गर्दा जनतालाई फाइदा पुग्छ भनेर हेर्न जरुरी छ । 

 


० त्यसो त विदेशीले जिम्मा लिएका योजनाहरूको हालत पनि त उस्तै छ नि त होइन र ? 


–केही आयोजनाको प्रगति अपेक्षा अनुरुप नभएका होलान् । तर, समग्रमा विदेशी लगानीकर्तामाथि प्रश्न उठाउने ठाउँ म देख्दिनँ । विश्वका धेरै देश विदेशी लगानीकर्ताले बनाएकाले हामीले उनीहरूप्रति विश्वास गर्नुपर्छ ।

 


० तपाईंको मतलब हामी स्वदेशी लगानीकर्ता पूर्णरुपमा सक्षम छैनौं भन्ने हो ? 


–नेपाली लगानीकर्ता असक्षम छन् भनेर मैले भन्न खोजेको होइन । तर नेपाली निजी क्षेत्र गुनासो मात्रै गर्ने खालको छ । नेपालको खरीद ऐनमै नेपालमा बनेको सामग्री महँगो भए पनि यहीँको किन्ने भन्ने उल्लेख छ । नेपाल सरकारले स्वदेशी उद्यमीको संरक्षणका लागि ऐनमा यस्तो व्यवस्था गरेको हो । तर हामी आफ्नो गुणस्तर वृद्धि गर्न छाडेर गुनासो मात्रै गरिरहेका छौं । यो गलत भयो ।

 


० विदेशी लगानी ल्याउँदा स्वदेशी लगानीकर्ता डराउनुपर्ने अवस्था छैन उसो भए ? 


–विलकुल छैन । हामीमा अरुभन्दा राम्रो गर्न सक्छौं भन्ने बल जाग्ने हो भने हामीलाई कसैको प्रवेशले कुनै असर पर्नेवाला छैन । फेरि हामी नेपाली भाषा बोल्छौं, यहाँको रहनसहन बुझ्छौं । विदेशीले भन्दा हामीले नेपालका कुना–कन्दरा, शहर, बजार बुझेका छौं । त्यसैले यहाँ अरुले भन्दा बढी हामीले नै गर्न सक्छौं । अब मसँग क्षमता छैन, केही गर्न सक्दिनँ भनेर कुण्ठा पाल्ने हो भने केही गर्न सकिँदैन । यसर्थ विदेशीको प्रवेशलाई लिएर नेपाली डराउनुपर्ने म कुनै कारण देख्दिनँ । सिंगापुरकै कुरा गर्नुस्, त्यो विदेशीले नै बनाएका हुन् ।

 


० सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएको छ । यो नाराले सार्थकता पाउला त अब ? 


–यो पनि हामीमै भर पर्छ । यो सरकारले भन्दा पनि हामीमा  भर पर्छ । हामी जिम्मेवार भएर सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक पार्न लाग्यौं भने सार्थक रुप लिनेछ । यदि यसमा सबै वर्ग नलाग्ने हो, हातमा हात र काँधमा काँध राखेर अघि बढौं । यसरी अघि नबढ्ने हो भने सरकार एक्लैले भनेर नेपाल समृद्ध हुँदैन । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal