२०७६-१-७ , शनिबार


यतिबिघ्न हुँदा पनि प्रधानमन्त्री मौन !

 नेपालले वितेका ३० बर्षमा मात्रै पनि ठूल्ठूला राजनीतिक परिवर्तनहरू देख्यो, भोग्यो । २०४७ को परिवर्तन भएको २÷४ बर्षसम्म नेपाली जनताहरूले अब हाम्रा सुखका दिन आउनेछन् भन्ने सपना देखे । तर, नेपाली जनताको दुर्भाग्य † परिवर्तनपछि राजनीतिक दलका नेताहरूमा देखापरेको पदलोलुपता तथा अहंले जनताहरूमा निराशा छाउन थाल्यो । 

 


सत्तामा पुगेका नेताहरूले नै पञ्चहरूले ३० बर्षसम्म खान हुने हामीले खान नहुने भनेर खुलेआम चुनौती दिन थाले । फरक मतलाई उपेक्षा गर्ने प्रवृत्ति पनि डरलाग्दो भएर देखाप¥यो । बहुदल आएको पाँच बर्ष पुग्दा नपुग्दै नेकपा माओवादीले सशस्त्र युद्ध गर्न थाल्यो । १० बर्षसम्म चलेको युद्धको क्रममा झण्डै १७÷१८ हजार नेपाली युवाहरूको रगत बग्यो । २०६३ मा माओवादी शान्तिपूर्ण अवतरण भएपछि मुलुकमा फेरि अर्काे उत्साहको सञ्चार भयो र मुलुकमा गणतन्त्रको स्थापना भयो । शक्तिशाली राजनीतिक दलहरूले संघीय राज्यको स्थापना भएपछि मुलुकका सबै समस्याहरूको समाधान हुन्छ भन्ने सपना देखाए । 

 


 संविधान सभाको गठन गरेर नयाँ संविधान बनेपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्छ भन्ने आशा गरेर सर्वसाधारण मानिसहरूले पनि नयाँ संविधानको प्रतिक्षा गर्न थाले । २०७२ सालमा नयाँ संविधान पनि आयो । तर, जनताले देखेका सपनाहरू पूरा भएनन् । सामान्य जनताको जीवन झन् बढी कष्टकर भएको अनुभव समेत सामान्य मानिसहरूले गर्न थाले । रोजगारीका अवसरहरू अपेक्षा अनुसार सिर्जना भएनन् र सामान्य मानिसको आर्थिकस्तरमा पनि अपेक्षाकृत सुधार भएनन् । त्यसमा पनि स्थानीय तहमा करको भारमा ठूलो वृद्धि भएपछि जनता आहात हुन थाले । अहिले मुलुकमा फेरि सर्वसाधारण मानिसहरू निराश भएका छन् । 

 


 बहुमतको सरकार भएमात्र राजनीतिक दलले जनताको हितमा काम गर्ने वाचाले भरिएका आफ्ना निर्वाचन घोषणापत्रका सपनाहरू विपनामा लैजान सक्छन् भन्ने आशा फेरि सपनामै सीमित हुँदैछन् ! झण्डै दुई तिहाई बहुमत प्राप्त गरेर सरकार गठन भएको देखेर अब त केही राम्रो हुन्छ भन्ने आशा राखेका सामान्य मानिसहरू फेरि हिस्स पर्नुपर्ने अवस्थामा छन् । आफूले भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने वाचार गर्दै हिंडेका मान्छे प्रधानमन्त्री भएपछि अहिले त्यस अगाडिका सरकारका पालामा भन्दा भ्रष्टाचार दोब्बर तेब्बरले बढेको गुनासो व्यवसायी तथा जनताहरूले गर्न समेत थालेका छन् । 

 


 अख्तियारका आयुक्तले ७८ लाख घुस खाएको कुरा थाहा पाएको ४÷४ महिनासम्म प्रधानमन्त्री केपी ओली स्वयं मौन बसेर भ्रष्टाचारको ढाकछोप गरेको तीतो सत्य सार्वजनिक भएको छ । सो घटना सार्वजनिक भएको लामो समय वितिसक्दा पनि उनीमाथि भ्रष्टाचार गर्ने व्यक्तिलाई हुनुपर्ने कानूनी कारवाही भएको छैन ।

 

 

पैसा खाने आयुक्त स्वयंले नेताहरूसितको सेटिङमा आफूले त्यस्तो काम गरेको कुरा समेत बताएका छन् । तर, पनि प्रधानमन्त्री केपी मौन छन्, सत्तारुढ दलका अध्यक्ष र अरु नेताहरू मौन छन्, कानून बमोजिम कारवाही हुने थोत्रा आश्वासन दिएर जनताका आँखामा छारो हाल्दैछन् । कहिले विमानस्थलमा समातिएको सुन हराउँछ, कहिले समातिएको करोडौं मूल्यको सुन तामामा परिणत हुन्छ, तर पनि प्रधानमन्त्री केपी ओली बोल्दैनन्÷सरकार बोल्दैन, अपराधी समात्दैन । लाग्छ सुनको तस्करी पनि सेटिङमै हुन्छ र सेटिङमै तामा र पित्तलमा परिणत पनि हुन्छ । 

 


 नक्कली नागरिकता भएको भन्ने आरोप लागेका व्यक्तिको नागरिकताको प्रमाणपत्र नक्कली हो होइन भनेर सरकारले छानबिन गर्दैन्, उल्टै तिनै व्यक्तिलाई संवैधानिक निकायका पदाधिकारीको सपथ गराउँछ । संसदीय समितिले पनि निरीहताको प्रदर्शन गर्छ । भ्रष्टाचारको आरोपमा २÷४ सय खाने खरिदार, सुब्बा मात्रै पक्राउ पर्छन, सांसद मन्त्री पक्राउ पर्दैनन् । सरकार सीमा क्षेत्रको अतिक्रमण हुँदा बोल्दैन, विदेशी भूमिमा नेपालीहरू सताइँदा बोल्दैन, न्यायको चाहना राखेर आवाज उठाउन खोज्ने पत्रकार, बुद्धिजीवी र जनतालाई उल्टै आरोप लगाउँछ र आफ्ना कार्यकर्तालाई आवाज उठाउनेहरू माथि अरिंगाल भएर जाइलाग्न आह्वान गर्छ । 

 


यस्तो बेलामा फेरि १२÷१३ बर्ष अघि शान्ति सम्झौता भएर त्यसबेला युद्धमाा रहेको दलले युद्ध छाडेपछि कमसेकम पनि अब शान्तिपूर्वक जीवनयापन गर्न पाइएला भन्ने आशा राखेर बसेका सामान्य मानिसहरू फेरि युद्धको त्रासमा बाँच्नुपर्ने आशंकाले पीडित हुन थालेका छन् । नेकपा माओवादीका पुराना नेता विप्लवले आफ्नो नेतृत्वमा सोही नामको पार्टी गठन गरेर युद्धको अभ्यास गर्न थालेका सूचनाहरू सार्वजनिक हुन थालेपछि समाज फेरि भयग्रस्त हुन थालेको छ । १२÷१३ बर्ष अगाडि तात्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि जनताले माओवादीका नेतहरूले सत्तामा पुगेपछि निस्वार्थ भएर देशको सेवा गर्लान् भन्ने आशा गरेका भए पनि तात्कालीन माओवादी सत्तामा पुगेपछि पनि जनताको त्यस्तो आशा पूरा भएन । 

 


 तात्कालीन नेकपा माओवादीका नेताहरूमाथि पनि भ्रष्टाचार गरेको आरोप लाग्न थाल्यो र भ्रष्टाचार गर्ने भनेर नाम चलेका व्यक्तिहरूलाई पुरस्कृत गर्ने काममा उनीहरू अरुभन्दा अगाडि देखिन थालेपछि जनताको दृष्टिमा त्यस्तो आरोप एक प्रकारले प्रभावित पनि भयो । तात्कालीन माओवादीका नेताहरूमााथि देशमा विभिन्न जाति र क्षेत्रका मानिसहरूमा वैमनस्यता सिर्जना गर्ने काम गरेको र विदेशीलाई खुसी पार्नका लागि राष्ट्रिय स्वार्थसित सम्झौता गरेको भन्नेसम्मका आरोप लाग्ने अवस्था पनि बन्यो ।

 

नागरिकता ऐनलाई निरन्तर खुकुलो बनाएर देशभित्र वास्तविक नागरिकलाई सापेक्षिकरुपले कमजोर पार्ने कामको अगुवाई गरेको भन्ने समेतको आरोप पनि उनीहरूमाथि लाग्यो । अहिले फेरि युद्ध गर्ने कुरा बताउन थालेको विप्लव नेतृत्वको पार्टीले सत्ता सम्हाल्ने अवसर पायो भने त्यसले पनि मुलुकलाई अझै कमजोर पार्ने र मुलुकभित्र अझ बढी विभाजनको बिउ रोप्ने काम गर्दैन भनेर जनताले विश्वास गर्न सक्ने अवस्था बनेको छैन । 

 


भारतसित खुला सीमाना भएको हाम्रो जस्तो मुलुकमा देशभित्र गुहयुद्ध हुँदा मुलुक झन् बढी कमजोर हुने आशंका पनि गर्न सकिन्छ । अहिलेको खुला युगमा एकदलीय शासन प्रणालीको माध्यमबाट मुलुक समृद्ध र सुखी हुन्छ भनेर आशा गर्न समेत मुस्किल हुने देखिन्छ । अर्कातिर विप्लव तत्कालीन माओवादी पार्टी सत्तामा पुगेपछि समेत भ्रष्टाचारमा नमुछिएका र सत्तामा नपुगेका व्यक्ति हुनाले उनी आर्थिकरुपले स्वच्छ होलान् र उनले राष्ट्रलाई माया पनि गर्दा होलान् भन्ने अपेक्षा चाहिं अझै पनि जनतामा रहेको देखिन्छ । 

 


तसर्थ, नेत्रविक्रम चन्द विप्लवले फेरि मुलुकलाई युद्धमा लैजाने काम नगरेर शान्तिपूर्ण राजनीतिको माध्यमबाट मुलुकलाई बलियो र मुलुकबासीलाई सुखी र समृद्ध बनाउने प्रयत्न गर्नुपर्छ भन्ने जनचाहना रहेको पाइन्छ । तसर्थ, विप्लव र उनको पार्टीका नेताहरूले आफ्नो राजनीतिक कार्यदिशाको परिवर्तन गरेर शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिक प्रक्रियाको माध्यमबाट मुलुकको सेवा गर्ने विकल्प समात्ने हो भने सो दल र मुलुक दुवैलाई फाइदा पुग्ने देखिन्छ । 

 


 अहिले नेपाललाई मायाँ गर्ने राजनीतिक दलहरूले देशलाई फेरि अर्को युद्धमा लैजादा कुनै प्रकारले पनि मुलुकलाई फाइदा हुने देखिदैन । शान्तिपूर्ण उपायबाट मुलुकको भविष्य निर्माण गर्न सक्षम, समर्पित र इमान्दार राजनेताको प्रतिक्षा अहिले मुलुकले गर्न थालेको छ । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal