२०७६-१-७ , शनिबार


भट्टराईले सम्हाल्न सक्लान त चुनौतीका चाङ ? 

 

काठमाडौं । निकिता पौडेलले राजीनामा दिएपछि केही महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता संघका वरिष्ठ उपाध्यक्ष तथा फिल्म उद्योगमा तीन दशक बिताएका फिल्म निर्माता केशव भट्टराई नियुक्त भएका छन् । २०७५ माघ २२ गते निकिता पौडेलले अध्यक्षको पदबाट राजीनामा दिएकी थिइन् । आफ्नो कार्यकाल सकिन १० महिना बाँकी रहँदा नै सञ्चारमन्त्री गोकुल बास्कोटाले बोलाएको बैठकमा बिना जानकारी नै अनुपस्थित भएपछि निकितासँग सञ्चारमन्त्रीले स्पष्टीकरण मागेका थिए । र, अन्ततः निकिताले राजीनामा दिएकी थिइन् ।

 

 
 झण्डै डेढ महिना रिक्त रहेको पदमा २०७५ चैत ७ गते बिहीबार सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधि मन्त्रीले २०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ति गरेको जानकारी दिएका हुन् । चलचित्र विकास बोर्डले अभिभावक पाएसँगै थन्किएका र ओझेलमा परेका विभिन्न कामहरूले निकास पाउनेमा धेरै चलचित्रकर्मीले विश्वास गरेका छन् । नवनियुक्त भट्टराईलाई नेपाल चलचित्र क्षेत्रको विस्तार, अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको पहँुच,  गुणस्तर अभिबृद्धिको अवसरसँगै चुनौतीका चा¨ पनि रहेका छन् । 

 


बोर्डमा अध्यक्ष पदका लागि भट्टराईसँगै सुचित्रा श्रेष्ठ, नरेशकुमार केसी, योगेश घिमिरेलगायतले दर्खास्त दिएका थिए । दुई साता अघिमात्रै योग्यता पुगेका व्यक्तिहरूका लागि पत्रपत्रिकामार्फत् दर्खास्त आह्वान गरिएको थियो । बोर्डको अध्यक्षमा नियुक्ति भएसँगै उनले २०७५ चैत ८ गते शुक्रबारदेखि नै आफ्नो काम शुरु गर्ने बताएका थिए । मेरो कार्यकाल नेपाली चलचित्र क्षेत्रमा देखिएका बेथितीलाई नियन्त्रण र अस्तव्यस्त चलचित्र उद्योगलाई व्यवस्थित गर्नतर्फ केन्द्रित हुनेछ, उनले भने । उनले यसका लागि बोर्डका सबै सदस्यको साथ र सहयोगलाई पनि प्राथमिकतामा राखेका छन् । 

 


अबको २ वर्षे कार्यकाल बिताउने क्रममा भट्टराईलाई अवसर र चुनौतीको बाढी आउने निश्चित छ । हिट निर्माताको लागि अबको २ वर्ष पक्कै पनि अग्निपरीक्षा नहोला भन्न सकिंदैन । नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक रुपमा उतार्नेलगायत धेरै काम भट्टराईको काँधमा आएको छ । चलचित्र वितरण र व्यवस्थित गर्न सहज गर्नका लागि बक्सअफिस र विद्युतीय इ–टिकेटिङ प्रणाली लागू गर्ने निर्णयलाई कार्यान्वयन गराउनु पनि कम चुनौतीको काम भने होइन । यसले गर्दा पनि भट्टराईलाई अवसर र चुनौती दुबै छ । 

 


अध्यक्षका लागि आफूले सञ्चार मन्त्रालयमा पेश गरेको आफ्नो भावी कार्ययोजनालाई बोर्डका सदस्यहरूसँग छलफल गरेर अघि बढाउने पनि उनले बताएका छन् । अध्यक्षको हैसियतले पनि चलचित्रको विकास र संवद्र्धनका लागि विभिन्न नीति निर्माणदेखि, मोफसलमा बक्स अफिस लागू र त्यसको व्यवस्थापनका लागि पनि क्रमागतरुपमा एकपछि अर्काे काम गर्दै जाने भट्टराईले बताएका छन् । 

 


विसं २०४४ देखि नेपाली चलचित्र क्षेत्रमा लागिपरेका भट्टराईसँग यसअघि नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा रहेर कार्यसम्पादन गरेको अनुभव छ । नेपाली चलचित्रमा कलाकार, फिल्म निर्माता र प्रस्तुतकर्ताका रुपमा दर्जनौं फिल्ममा काम गरेका भट्टराईको अबको कार्यकाल नेपाली चलचित्रको विकास र श्रीवृद्धिमा केन्द्रित रहेर अहोरात्र खटिने बेला आएको छ । आम चलचित्रकर्मीको आश र भरोसालाई उनको कार्यकालमा डगमगाउन दिनुहँदैन ।  

 


‘यात्रा द ब्ल्ग’ फिल्मको छायाँकन छाडेर काठमाडौं आएका भट्टराईले आफ्नो अनुभव र ज्ञानलाई नेपाली फिल्म क्षेत्रको विकासमा प्रयोग गर्ने बेला आएको छ । धेरै चलचित्रकर्मीहरूले विश्वास र भरोसाको आधारमा दिएको बधाई र शुभकामनालाई उनको कार्यकालले न्याय गर्न सक्नुपर्छ । 

 


नेपाली चलचित्र क्षेत्रको भाँडभैलौ र गति सुधार्नका लागि भट्टराईले कार्ययोजना नै तयार गरेर अघि बढ्ने बताएका छन् । यदि यसो हुन सकेमा नेपाली चलचित्र क्षेत्रको लागि केशव भट्टराईको २ वर्षे कार्यकाल पक्कै नै उपलब्धिपूर्ण र सार्थक हुनेमा कुनै दुई मत छैन ।   

 

 

लामो समयदेखि फिल्म निर्माणमा सक्रिय भट्टराई निर्देशक तुलसी घिमिरेको सहायककारुपमा नेपाली चलचित्र क्षेत्रमा छिरेका थिए । 

 


उनले केही फिल्ममा अभिनाय पनि गरेका छन् । ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’लगायतमा हिट चलचित्र बनाएका निर्माताको २ वर्षे कार्यकाल हिट होला कि फ्लप यो भने समयले नै देखाउनेछ । अहिले उनी आफूले निर्माण गरेको पछिल्लो चलचित्र यात्रा ‘द ब्ल्ग’मा व्यस्त छन् । अन्ततः उनको सफल कार्यकालको लागि हाम्रो तर्फबाट पनि शुभकामना छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal