२०७६-१-७ , शनिबार


नेपाल बार निर्वाचन :  प्रगतिशील पेशागत तथा समावेशी  र बृहत् लोकतान्त्रिक समूहबीच भिडन्त 

साँघुन्यूज डटकम

काठमाडौं । नेपाल बार एशोसिएसनको निर्वाचन २०७५ चेत १६ मा हुँदैछ । २ कार्यकाल आफैंभित्रको घातप्रतिघातका कारण बारको नेतृत्वबाट बन्चित भएको प्रगतिशील समूह यो पटक विशेष तयारीका साथ चुनावी मैदानमा उत्रिएको छ । प्रगतिशील पेशागत तथा समावेशी समूहले बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा समावेशी र सन्तुलित टीमलाई अगाडि सारेको छ ।  कानून ब्यवसायी माझमा मूर्धन्य र आदर्शका रुपमा लिइने शम्भुप्रसाद ज्ञवालीको ल फर्मबाट  कानून ब्यवसायमा प्रवेश गरेका चण्डेश्वर श्रेष्ठ आम  कानून ब्यवसायीबीचमा लोकप्रिय मानिन्छन् । 

 

चण्डेश्वर श्रेष्ठ २०६३ को अन्तरिम संविधानका मस्यौदाकार पनि हुन् । महासचिवमा प्रगतिशील प्यानलले उम्मेदवार बनाएका सुरेन्द्र थापा सर्वोच्च बारको सदस्य र सचिव भइसकेका  कानून व्यवसायी हुन् । उनी कानून ब्यवसायीबीचमा लोकप्रिय मानिन्छन् । बारको नेतृत्वको लागि प्रगतिशील समूहले समावेशी टीमलाई मैदानमा उतारेको छ । मधेशवादी दलहरु राजपा र संघीय समाजवादी फोरमलाई पनि प्रगतिशील समूहले समेटेको छ ।  


२ कार्यकाल बार एशोसिएसनको नेतृत्व गरेको नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएसनले बृहत् लोकतान्त्रिक समूहका नाममा सुनिल पोखरेललाई अध्यक्षमा अगाडि सारेको छ । २०६२/०६३ को आन्दोलनमा बारको सचिवका रुपमा शम्भु थापासँगै आन्दोलनमा भिडेका माधव बाँस्कोटा र यदु खनाल जस्ता बरिष्ट  कानून ब्यवसायीलाई पाखा लगाउँदै एक कार्यकाल अघिका महासचिव पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएकोमा डीएलएमा चरम असन्तुष्टी छ ।


 डीएलएले गठन गरेको उम्मेदवार सिफारिस समितिका बरिष्ठ अधिवक्ताहरुले बाँस्कोटालाई अध्यक्षको उम्मेदवार बनाउन सिफारिस गरेका थिए । तर उपेन्द्रकेशरी न्यौपाने, बारका वर्तमान अध्यक्ष शेरबहादुर केसी र डीएलएका अध्यक्ष योगेन्द्र अधिकारीले पार्टीबाट निर्णय गराएर पोखरेललाई उम्मेदवार बनाएपछि लोकतान्त्रिक समूहमा असन्तुष्टी रहेको स्रोत बताउछ ।

 

उपेन्द्रकेशरी न्यौपाने तिनै हुन्, जसले विवादित र भ्रष्ट पृष्ठभूमिका ब्यक्तिलाई न्यायाधीश नियुक्ति गरी न्यायालयलाइ भ्रष्टाचारको दलदलमा पु¥याए । तिनै न्यायालयलाई भ्रष्टाचारको आहालमा पु¥याउनेहरु नै लोकतान्त्रिक समूहको उम्मेदवार चयनमा हावी भएका छन् । 


 कांग्रेस नेतृत्वको बार एशोसिएसनको नेतृत्वले प्रहरीको आइजीपी नियुक्तिको बारेमा आफूअनुकूल फैसला नगरेका कारण प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउँदा चुँसम्म बोलेन । बारले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप हो भन्ने आशा धेरै कानुन ब्यवसायीले गरेका थिए । तर बार एशोसिएसनले त्यो आशा विपरीत महाभियोगको पक्ष विपक्षमा एक शब्द पनि नबोल्न ह्वीप जारी गरी कानुन ब्यवसायीलाई अंकुश लगाएको थियो । 


त्यसरी स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुँदा चुँ नबोल्ने कांग्रेस नेतृत्वको बारको इतिहास ताजै छ । तर अहिले डीएलएका नेताहरु न्यायालयमा हस्तक्षेप भयो भनेर दुनियाँलाई भ्रमित पार्ने काम गर्दैछन् ।


कांग्रेसकै नेतृत्वको सरकारले न्यायाधीश नियुक्तिमा गरेको त्रुटीका कारण दामोदर शर्माका पालादेखि न्यायालय भ्रष्टाचारका कारण बदनाम हुँदैआएको छ । पछिल्लो कालखण्डलाई बिर्सेर न्यायालय शुद्धिकरण गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुरु गरेको प्रयासलाई डीएलएले हस्तक्षेप र नियन्त्रित भन्दै कानून ब्यवसायीबीचमा आफ्नो बिगत ढाकछोप गर्न  खोजेको छ । 


बारको नेतृत्वका लागि प्रगतिशील समूहबाट महिला उपाध्यक्षमा रक्षा बस्याल,  उपाध्यक्षमा मानबहादुर रुम्दाली राई १ नम्बर प्रदेश, रामचन्द्र सिंह २ नम्बर, इश्वरीप्रसाद भट्टराई ३ नम्बर, सुरेन्द्र थापा मगर ४ नम्बर प्रदेश छन् । त्यस्तै लीलाधर मरासिनी ५ नम्बर प्रदेश, मीनबहादुर महत ६ नम्बर प्रदेश र उमेशप्रसाद बिष्ट ७ नम्बर प्रदेशको उपाध्यक्षका उम्मेदवार हुन् । कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेललाई अगाडि सारेको छ । 


त्यसैगरी दलित सदस्यमा मोहन साह शंकर, मधेशी सदस्य उपत्यका बाहिरबाट पंचनारायण मण्डल, मधेशी सदस्यमा वीरेन्द्रकुमार ठाकुर, आदिबासी जनजाति सदस्य उपत्यका बाहिर विनाकुमारी सिंह चौधरी, आदिबासी जनजाति सदस्यमाबद्रीकुमार नगरकोटी, महिला सदस्य उपत्यका बाहिरबाट कल्पनाकुमारी भण्डारी छन् । 


महिला सदस्य खुल्ला सदस्यमा अन्जु कायस्थ, खुल्ला उपत्यका बाहिर सदस्य डा.विशराज पण्डित, खुल्ला सदस्यहरुमा गंगासागर खत्री, भीमसेन बन्जारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन् ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal