२०७६-२-६ , सोमबार


‘ट्याक्सी बोलाउँदै धुलो उडाउँदै  :  विष्णृु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

–जमुनावर्षा शर्मा 

चिप्लेढुङ्गा,३० फागुन(रासस) : 


‘ट्याक्सी गुृड्यो सरर पोखराको बजारमा 
कति आए कति गए हाम्रो नजरमा’ (तिलकबम मल्ल) 


चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको कमैलाई थाहा छ । 


यातायात व्यवस्था कार्यालय, गण्डकी सवारीका नासु चूडामणि अर्यालका अनुसार झण्डै ६ हजार ट्याक्सी कार्यालयमा दर्ता भएका छन् । यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की विष्णु कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ । सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत हुनुहुन्छ । मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गर्नुभएको छ ।

 

सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गर्नुभएकी कुँवरले शुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गर्नुभयोे । दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देख्नुहुन्थ्यो । प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे । उहाँलाई लाग्यो महिला पनि ट्याक्सी चालक बन्न सक्दैनन् र ? उहाँलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित ग¥यो । 


उहाँले विसं २०६७ वैशाखमा ट्याक्सी चलाउन सिक्नुभयो र लगत्तै अनुमतिपत्र पनि लिनु भयो । श्रीमान्लाई आफूले ट्याक्सी चलाउन चाहेको बताउनुभयो तर उहाँले स्वीकृति दिनुभएन । पछि माइतमा बुबाले “हुन्छ नि, तिमीले चलाउन सक्छौ” भनेर आँट दिनुभयो । कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमान्को साथ पनि थपियो । 


उहाँले मासिक रु २८ हजार किस्ता बुझाउने गरी बैंकबाट रु १३ लाखमा नयाँ मारुती अल्टो गाडी निकाल्नुभयो । विसं २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उहाँ देशका कुनाकन्दरा पुग्नुभएको छ । धेरै रातका बाटो छिचोल्नुभएको छ । बीच बाटामा टायर पङ्क्चर हुँदा टायर फेर्नुपरेको छ । सानोतिनो पार्टपुर्जाको काम आफै मिस्त्री बनेर बनाउनुभएको छ ।

 

आफ्नो कामप्रति उहाँलाई उत्तिकै आत्मसम्मान छ । उहाँ निकै सन्तुष्ट हुनुहुन्छ । हताश, निराश र अल्छी नमान्ने होे भने मासिक रु ६० हजारको कमाइ हुने कुँवर बताउनुहुन्छ । उहाँका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउनुहुन्छ । दुवैको आम्दानी सन्तोषजनक छ । रिजर्भमा उहाँको खोजी बढी हुने गर्छ । एकचोटि ट्याक्सी चढेको मानिसले उहाँलाई नै खोज्ने गर्छन् । यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उहाँको अनुभव छ । 


पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देख्नुभयो । चेक र नगद गरेर झण्डै रु १७ लाख रहेछ । पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाउनुभयो । यस्तो भइरहन्छ । कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आउनुभएको छ । आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन् । 


कुँवर भन्नुहुन्छ “सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन । मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ । त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन । आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु । अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन ।” यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उहाँ बताउनुहुन्छ ।

 
“सरकारले थुप्रै पैसा महिला सशक्तीकरणको नाममा खर्च गरेको छ । सिलाइकटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालीम र सस्तो व्याजमा ऋण उपलब्ध गराउने हो भने यो क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो”, उहाँले भन्नुभयो । सरकारले विशेष पहल थाल्ने हो भने यस क्षेत्रबाट महिलाको जीवनस्तरमा परिवर्तन आउने उहाँको विश्वास छ ।


‘ट्याक्सी बोलाउँदै धुलो उडाउँदै 
मायाले बोलाउँछ रुमाल हल्लाउँदै’(एसके अधिकारी, राजेशकुमार श्रेष्ठ, नित्याशिवा) 

––– 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal