२०७५-१२-११ , सोमबार


''चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो : पार्टीमाथि दमन  गरे मुखतोड जबाफ दिइनेछ''-विप्लव

साँघुन्यूज डटकम

काठमाडौँ, ३०  फागुन।  नेपाल कम्युनिष्ट पार्टीको संयुक्त सरकारले आफ्नो  पार्टीमाथि प्रतिवन्ध लगाएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द "विप्लव"द्वारा विज्ञप्ति जारी गर्दै    ''मुखतोड जबाफ दिइनेछ ।’' भन्ने धम्की दिएको छ। 


फागुन २८ गते मङ्गलबार बालुवाटार प्रधानमन्त्री निवासमा मन्त्रिमण्डलको बैठक बसी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई लगाइएको प्रतिबन्धप्रतिको प्रतिक्रिया र आफ्नो पार्टीको स्पष्ट धारणा उक्त पार्टीका महासचिव विप्लवले फागुन २९ गते वक्तव्य निकाली दिएका हुन् । वक्तव्यमा उनले भनेका छन्, ‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यको मुखतोड जबाफ दिइनेछ ।’


नेकपाका महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ ।'' 


''सबै नेपाली नागरिकलाई थाहा छ– एमाले, काङ्ग्रेस, भारतसँग प्रचण्डहरूले टाउको लतारेपछि, उनीहरूले क्रान्ति बेचेर दुई दिनको चोलालाई बचाउन क्रान्ति, जनता, कम्युनिस्टहरूप्रति गद्दारी गरेपछि हामीले उनीहरूविरुद्ध विद्रोहको झन्डा उठाएका थियौँ । हामीले दलाल पुँजीवादी सत्तलाई अस्वीकार गर्दै महान् जनयुद्धको आदर्शमा हिँड्दै क्रान्तिलाई नयाँ उचाइमा उठाउने प्रतिज्ञा गरेका थियौँ । सोही विचारअनुरूप हामीले २०७२ सालमा प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको थियो । कथित संसदीय चुनावहरूको बहिष्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रियो ।''

 

''हालसम्म हाम्रा तीनजना कार्यकर्ताको सहादत भइसकेको छ भने दर्जनभन्दा बढी कमरेडहरू घाइते हुनुहुन्छ । हालै कथित अप्रेसनका नाममा कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि ट्वाइलेट (पहिले जङ्गलमा भन्ने आएको थियो) मा लगेर गोली हानिएको छ । सयौँजना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको छ । झूट्टा मुद्दा व्यापक लगाइएको छ । रोल्पा, कपिलवस्तुलगायत जिल्लाहरूमा प्रहरी अप्रेसन चलाइएको छ । यस्तो परिस्थितिमा बाहिर प्रतिबन्धको घोषणा गर्नु भनेको हाम्रा लागि कुनै नयाँ र ठूलो कुरा होइन । क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरूमाथि फासिवादी दमन, हत्याहिंसा लादिन्छ र त्यसका विरुद्ध प्रतिरोध सङ्घर्ष बाध्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो । केपी—बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रूपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौँ ।''


उनले वक्तव्यमा अगाडि भनेका छन्, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ शहीद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।’


विप्लवले अगाडि भनेका छन्, ‘दलालहरूले जहिले पनि आफ्नो तुच्छ स्वार्थका लागि राज्यका अङ्गहरूलाई जथाभाबी जनताका विरुद्ध प्रयोग गर्दै आएका छन् तर उनीहरू कहिल्यै पनि सफल भएका छ्रैनन् । केपी—बादल कम्पनीले पनि यही आपराधिक षड्यन्त्र गरिरहेको छ । यसप्रति सबै देशभक्त, लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट राजनीतिक शक्तिहरू, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकारसहित प्रहरी र सेनाको पनि उचित ध्यान जाओस् भन्नेमा हामी विशेष आग्रह गर्दछौँ ।’ 


''आफ्नो पार्टीले एनसेल, अरुण ३ माथि गरेको कारबाहीको कारण स्पष्ट पार्दै उनले भनेका छन्, ‘जहाँसम्म अरुण ३, एनसेल, मेनपावर सप्लाई कम्पनीमाथिको कारबाही हुन्, ती हामीले गरेको हो'' भन्ने स्वीकार गर्दै बक्तब्यमा भनिएको छ, ''हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । अरू कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार नै हो । यसप्रति कोही पनि भ्रममा नपर्न साथै दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न विनम्र अनुरोध गर्दछौँ । हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ। ''


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal