२०७५-१२-११ , सोमबार


सुुदूरपश्चिम नेकपामा फेरि लफडा : प्रधानमन्त्रीको भ्रमण नै बिथोलियो 

साँघु संवाददाता

कैलाली, २०७५ फागुन २७ गते। नेकपा सुदूरपश्चिमका नेताहरुको आन्तरिक कलहले प्रधामन्त्रीको सुदूरपश्चिम भ्रमण विथोलिएको छ ।

 

कैलाली जिल्ला समन्वय समितिले कर्णाली नदीमा आयोजना गरेको र्याफ्टिङ ज्याम्बोरी तथा पर्यटन महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत २ गते कैलाली  जाने कार्यक्रम तय भएको थियो ।    


कर्णालीमा आयोजना गर्ने र्याफ्टिङ ज्याम्बोरीलाई गिनिज बुक अफ वर्डमा नाम लेखाउने तयारी आयोजकले गरेको थियो । एकसय एघार वटा डुङ्गामा करीब बाह्रसय मानिसहरुले एकैपटक ¥याफ्टिङ गर्ने उक्त कार्यक्रमले कर्णाली करिडरका आठ जिल्लाको पर्यटन विकासको सम्भावनालाई उजागर गर्ने अपेक्षा  गरिएको थियो ।


आयोजक कैलाली जिल्ला समन्वय समितिले एकदमै उत्साहका साथ तयारी  थालेको थियो । तर, नेकपाका सुदूरपश्चिम ईञ्चार्ज भीमबहादुर रावल र नेकपा केन्द्रीय सदस्य  झपटबहादुर रावलले कार्यक्रम बहिस्कार गर्ने हौवा पिटेपछि ज्याम्बोरीको आयोजना अनिश्चित भएको छ ।


स्रोतले भन्यो–रावलद्वयले आफू निकट स्थानीय निकाय प्रमुख र कार्यकर्ताहरुलाई र्याफ्टिङ ज्याम्बोरी कार्यक्रममा सहयोग नगर्न उर्दी जारी गरेपछि २०७५ चैत २ गतेको कार्यक्रम स्थगित भएको छ  ।


सुदूरपश्चिम प्रदेशको तत्कालीन एमालेमा रावलद्वयको एकलौटी बर्चश्व थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता कर्णबहादुर थापा सुदूरपश्चिम नेकपाको अध्यक्ष बनाइएपछि रावलद्वयहरुले एकीकरणपछिका कार्यक्रमहरुमा अवरोध गर्दै आएको नेकपा सुदूरपश्चिमका नेताहरु बताउछन् ।


रावलद्वय वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् । तत्कालीन सुदूरपश्चिम एमालेमा सिन्डिकेट चलाउदै आएका रावल पार्टी एकीकरण पछिको नेकपामा कमजोर देखिदै आएको प्रदेशका  नेता तथा कार्यकर्ताहरुको बुझाई छ ।


एकीकरण पछि भीमबहादुर रावल हतास देखिदै आएको रावल निकट एकजना प्रदेश नेताले साँघुलाई बताए । उनले भने ‘कुनैबेला भीमबहादुर रावल भनेपछि पार्टी कमिटीका बैठक र छलफलहरुमा उत्साह र उमंगको वातावरण हुन्थ्यो तर आजभोलि रावलका प्रस्तुतीहरु पट्यारलाग्दा हुन्छन् । उनी जे कुरामा पनि विरोध मात्रै गर्छन ।’  


नेकपा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज समेत रेहका भीमबहादुर रावलले चैत २ मा आयोजना गरिएको र्याफ्टिङ  ज्याम्बोरी मात्र होइन २०७५ माघ २० गते नेकपाका दुबै अध्यक्ष र महासचिवले सम्बोधन गर्ने प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई समेत रावल र उनका समर्थकले विथोलेका थिए । पछि गएर लामो वहस र छलफलपछि उक्त कार्यक्रम २०७५ फागुन ८ गते आयोजना गरिएको थियो ।


२०७५ माघ २० गतेको उक्त कार्यक्रम विथोलिनुका पछाडि त्यस्तो ठूलो कारण पनि खासै थिएन ।  उक्त कार्यक्रमको तयारी समितिको गठनका लागि प्रदेश अध्यक्ष कर्ण थापाले माघ १२ गते धनगढीमा अनौपचारिक बैठक बोलाउदा भीमबहादुर रावलले ‘मलाई नसोधेर किन बैठक बोलाएको’ भनि विवाद गरेको स्रोतको भनाई छ ।  त्यो विवाद पार्टीको तल्लोतहसम्म पुगेको थियो । प्रदेश अध्यक्ष कार्यकारी अधिकारप्राप्त हुने नेकपाको विधानमा प्राब्धान छ ।


अहिले पनि त्यस्तै भएको छ । निर्वाचनताका सुदूरपश्चिम एमालेका एक्ला कमाण्डर भएकाले रावलले आफू निकटलाई टिकट बाँडेकाले प्रदेशका सांसद, मन्त्री र स्थानीय निकायका प्रमुखमा रावल निकट जनप्रतिनिधिहरुको संख्या बढी छ । र्याफ्टिङ ज्याम्बोरीमा कुनै पनि सहयोग नगर्न नेता भीम र झपटले आफू निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएको कैलाली जिससका एकजना सदस्यको भनाई छ ।

 

प्रदेश अध्यक्षमा कर्णबहादुर थापा आएपछि सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावलको पल्ला खस्किंदै गएको कतिपयको विश्लेषण छ । त्यही कारणले गर्दा उनी र उनका समर्थकहरु आजभोलि आफ्नै पार्टीका नेता कार्यकर्ताको विरुद्धमा अनेक खुराफात गरेर रमाउने गरेको  सुदूरपश्चिम प्रदेशका अधिकांश नेता कार्यकर्ताहरु गुनासो गर्छन् । (साँघु  २०७५, फागुन २७ गते)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal