२०७५-१२-११ , सोमबार


अख्तियारमा खरीद प्रमुख भट्टराई आतंक 

काठमाडौं । अरुले गरेको अख्तियार दुरुपयोगलाई कारबाहीको दायरामा ल्याएर सुशासन कायम गर्नुपर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर मति बिगारेपछि यसका पूर्वआयुक्त राजनारायण पाठकले राजीनामा दिनुपरेको केही साता मात्रै गुज्रेको छ ।  पदीय मर्यादाविपरीतको कामले पाठक पदबाट हट्नु परे पनि त्यहाँ कार्यरत केही कर्मचारीको भने अझै चेत नखुलेको स्रँेत बताउछ । स्रँेतका अनुसार, पदीय मर्यादाविपरीत धम्क्याउनेदेखि प्रलोभनमा पार्नेसम्मका काममा केही कर्मचारी निस्फिक्री लागिरहेका छन् । 

 


अख्तियारमा बसेर रवाफ देखाउने त्यस्ता कर्मचारीमध्येका एक हुन्–उपसचिव रत्नमणि भट्टराई । भट्टराई आयोगको केन्द्रीय कार्यालयमा खरीद प्रमुखका रुपमा कार्यरत छन् । उनको काम आयोगको खरीदसँग सम्बन्धित कामलाई पारदर्शी  बनाउनु हो । तर, उनले पदीय मर्यादाविपरीत स्वार्थअनुरुपको खरीद कार्य गर्नेदेखि आयोगका स्रोत साधानको दुरुपयोग तथा अनावश्यक मोलमोलाइसम्मका काम गर्ने गरेको गुनासो त्यहाँका कर्मचारीहरूले गरेका छन् । 

 


सरकारी गाडीको नम्बर फालेर प्राइभेट 


सरकारी निकायले खरीद गरेको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न मिल्दैन । सहसचिवले मात्रै गाडी सुविधा पाउछन् भने संस्थाको अफिसियल काम र स्वार्थबाहेक कसैले त्यस्ता गाडी प्रयोग गरेमा त्यो ठाडै अख्तियारको दुरुपयोग भएको मानिन्छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै बदनाम गर्दै भट्टराईले लामो समयदेखि सरकारी गाडी दुरुपयोग गर्दै आइरहेका छन् । भट्टराईले सरकारी गाडी मनमौजी प्रयोगका लागि सरकारी नम्बर प्लेट नै फालिदिएका छन् । अख्तियारले खरीद गरेको बा १४ च ८७७२ नम्बरको त्यथयतब ज्ष्गिह गाडी भट्टराई आफ्नै निजीजस्तो गरी प्रयोग गर्ने गरेका हुन् । 

 


नेविसंघले केही समयअघि सरकारी गाडी दुरुपयोग गरेको भन्दै बानेश्वरमा जलाएको थियो । तर, भट्टराई यस्ता घटनाहरूको बीचमा पनि आयोगको गाडी लिएर पिकनिक जानेदेखि बाहिरी जिल्लाहरूमा सपरिवार भ्रमण जाने गरेका छन् । अख्तियार स्रोतका अनुसार, उनी केही महिनाअघि मात्रै सपरिवार मनाङ घुमेर फर्केका थिए । उदेकको कुरा त अझ के छ भने निजी प्रयोजनमा सरकारी गाडी दुरुपयोग गरेका उनले चालकलाई समेत सँगै लगेका थिए । यति मात्रै होइन, तेलसमेत उनले सरकारी नैै हालेका थिए । 

 


अख्तियार स्रोतले साँघुलाई दिएको जानकारी अनुसार, घरको मोटरसाइकलको करसमेत उनले अख्तियारकै थैली खोलेर तिरेका छन् । भट्टराईले करबापतको ६ हजार १ सय रुपैयाँ मेकानिकल इञ्जिनियर दीपक देवकोटामार्फत तिरेको हिसाब खोज्दा भेटिने एक कर्मचारीले बताए । यिनै देवकोटालाई थर्काएर उनले इन्धनसमेत लिने गरेको बताइन्छ । 

 

 


साना कर्मचारीमाथिको उनको दृष्टिकोण अझै खोटो रहेको गुनासो छ । त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार उनले निकै नै न्यूनस्तरको व्यवहार तल्लो तहका कर्मचारीलाई गर्ने गरेका छन् । चमेनागृहबाट आफ्ना लागि मनपरी खाजा मगाएर खाने भट्टराईले महाशाखाका कार्यरत कार्यालय सहयोगीले ल्याएको चिनी चियापत्तीको बिलमा सही गर्न मन खुम्च्याउने गरेका छन् । केही न्यूनस्तरका कर्मचारीलाई त उनले आफ्नो निजी काममा समेत प्रयोग गर्ने गरेको अख्तियार स्रोतले बतायो । 

 


खरीदमा मनपरी 


आयोगको स्रोत र साधन मनमौजी प्रयोग गर्ने बानी परेका भट्टराईले खरीदसँग सम्बन्धित काममा त अझै आफ्नै हात जगन्नाथ गर्ने गरेको आरोप छ । ब्यक्तिगत स्वार्थका लागि सप्लायर्स छनोट गर्नेदेखि अनावश्यक खरीद गर्ने गरेको आरोप पनि भट्टराई माथि छ । 

 


व्यापारीहरूलाई पनि उनले हत्तु खेलाउने गरेको गुनासो छ । ‘भट्टराई सर आफ्नो स्वार्थ हेरेर मात्रै काम गर्नुहुन्छ’, एक कर्मचारीले साँघुसँग गुनासो गरे, ‘उहाँले जे भन्यो त्यो मान्ने कर्मचारीको फाइल अघि बढाउने र नमान्नेको महिनौं थन्क्याएर राखिदिने उहाँको बानीले हैरान छौं ।’ त्यहाँ कार्यरत आयुक्त, सचिव तथा सहसचिवले दिने सुझावलाई समेत उनले प्रमुख आयुक्त नवीनकुमार घिमिरेसँगको सम्बन्धको ध्वाँस देखाउँदै इग्नोर गर्ने गरेका छन् । कतिपयसँग त उनले छुद्र शब्द नै प्रयोग गर्ने गरेका छन् । 

 


मुद्दा मिलाइदिने भन्दै बार्गेनिङ 


अख्तियारमा कार्यरत कर्मचारीले मुद्दा सल्ट्याउने नाममा चलखेल गर्ने गरेको घटना कुनै नयाँ होइन । यही प्रकरणले कैयन बदनाम भइसकेका छन् । भट्टराईले पनि त्यस्तै पात्रहरूको पदचाप पछ्याउँदै बार्गेनिङसमेत गर्ने गरेको अख्तियारनिकट स्रोत बताउँछ । जानकारहरूका अनुसार प्रमुख आयुक्त नवीनकुमार आफ्नो मान्छे भएको भन्दै कसैलाई नगन्ने भट्टराईले उनै घिमिरेसँगको सम्बन्ध देखाएर अरुसँग बार्गेनिङ गर्ने गरेको आरोप छ ।

 


हाल अख्तियारमा रहेका भट्टराई ०५३ देखि विभिन्न मालदार अड्डामा हैकम जमाएर बस्दै आएका हुन् । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार जागिरे अवधिमा उनी  श्रम कार्यालय, वैदेशिक रोजगार, वन मन्त्रालय, मालपोत कार्यालयमा मात्रै कार्यरत रहेका छन् । निरन्तर मालदार अड्डामा हैकम जमाएर बस्न सफल भट्टराईको आर्थिक प्रगतिले शिखर चुमेको जानकारहरू बताउँछन् । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार, उनको काठमाडौंमा मात्रै बुद्धनगर र थानकोटमा २ वटा घर छन् ।  

 


भट्टराईबारे लागेका अभियोगबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालसँग सम्पर्क राख्दा उनले आयोगका आयुक्तदेखि सबैले निजी गाडी प्रयोग गर्ने गरेको बताए । भट्टराईबारे थप कुराका सम्बन्धमा भने प्रवक्ता दंगालले कुनै प्रतिक्रिया दिन चाहेनन् ।(साँघु साप्ताहिक, फागुन २०)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal