२०७६-२-६ , सोमबार


दुर्घटना : सबैभन्दा बढी जिम्मेवार मानवीय त्रुटि 

साँघुन्यूज डटकम सम्बाददाता

(नेपालको हवाई इतिहासमा अकल्पनीय दुर्घटनाहरू उत्तिकै भइरहेका छन् । कैयनको जीवनलीला यही हवाई दुर्घटनाले समाप्त पारिदिएको छ । भर्खरै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित विभिन्न प्रतिष्ठित ७ व्यक्तिको हेलिकप्टर दुर्घटनामा परी ज्यान गयो । यो दुर्घटनासंगै नेपालको हवाई सुरक्षाबारे अनेक प्रश्न उठाइएको छ । के नेपालको आकाश सुधार्नै नसक्ने गरी असुरक्षित बन्दै गएको हो ? बारंबार भइरहेका दुर्घटनाका कारणहरू के के हुन् ? हवाई क्षेत्रको नियामककारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्यायसंग हामीले यिनै जल्दाबल्दा प्रश्नहरूको वरिपरि रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः सम्पादक)

 


० कहालीलाग्दा हवाई दुर्घटनाहरू एकपछि अर्को घटिरहेका छन् । भर्खरै मात्र पनि मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना विभिन्न प्रतिष्ठित व्यक्तिहरूको हेलिकप्टर दुर्घटनाकै कारण ज्यान गयो । नेपाली आकाश अलि बढी नै असुरक्षित बन्दै गएको हो ? 


–हो, केही दुर्घटनाहरू भइरहेका छन् । यसलाई शून्यमा झार्न कहीँ पनि सकिन्न । तर, यसको मतलब नेपाली आकाश असुरक्षित नै भयो भन्ने होइन । 

 


० तपाईंले आकाश सुरक्षित रहेको दाबी गरे पनि दुर्घटनाका तथ्यांकहरूले त असुरक्षित रहेको देखाउँछ नि होइन र ? 


–दुर्घटनाका एउटै कारण हुँदैनन्, धेरै फ्याक्टर हुन्छन् । त्यसैले आकाशलाई मात्र दोष दिएर हुँदैन । विभिन्न कारणहरूले दुर्घटनाको रुप लिइरहेको छ ।  

 


० आकाश असुरक्षित भएर भन्दा पनि अन्य कारणहरूले दुर्घटना भएको निष्कर्ष तपाईंको देखियो । त्यस्ता कारणहरू के–के हुन् जसले दुर्घटना निम्त्याइरहेका छन् ? 


–भौगोलिक बनावट, मौसम, यान्त्रिक गडबडी र मानवीय त्रुटि नेपालका हवाई दुर्घटनाका कारणहरू हुन् । यिनमा पनि दुर्घटनाका कारण, सबैभन्दा बढी जिम्मेवार मानवीय त्रुटि देखिँदै आएको छ । 

 


० अहिलेसम्मका दुर्घटना केलाउँदा मानवीय त्रुटि बढी देखिन्छन् भन्नुभयो । दुर्घटनापछि गठित छानबिन समितिले पनि यस्तै निष्कर्ष निकाल्ने गरेका छन् । त्यस्ता मानवीय त्रुटिहरू के के हुन् ? 


–कुनै अवस्थामा चालक दलका सदस्यहरू निकै दबाबमा हुन्छन् । नाइँ भन्न सक्दैनन् । यसले पनि कैयन दुर्घटनाहरू भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरणले उडानलाई व्यवस्थित र सुरक्षित गर्न विभिन्न नियम तथा कार्यविधिहरू बनाएको हुन्छ । कतिपय बेला उडानका नियम तथा कार्यविधिहरू पालना नगर्दा पनि दुर्घटना निम्तिरहेको छ । यसले थप गम्भीर बन्नुपर्ने आवश्यकता देखाएको छ । 

 


० दुर्घटनाका कारणहरू अरु नै भए पनि जोगिन या आफ्नो एयरलाइन्सको साख जोगाउन मरिसकेका चालक दलका सदस्यहरूलाई दोष थोपर्ने गरिन्छ भनिन्छ नि ? 


–यदाकदा त्यस्ता कुराहरू सुनिन्छन् । तर, यो आरोप सत्य होइन । ब्ल्याक बक्समा रेकर्ड भएका कुराकानीलगायतका अन्य तथ्यहरू केलाएर त्यस्ता निकर्ष निकालिने भएकाले यसमा शंका गर्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन । 


० मौसमले पनि दुर्घटनाको दर बढाइरहेको भन्नुभयो । मौसमको समस्या किन यस्तो पेचिलो बन्दै गइरहेको छ ? 


–भीएफआर (भिजुअल फ्लाइट रुट) आँखाले देख्ने अवस्थामा उडान गर्नुपर्छ । यदि मौसमका कारण भीएफआर क्लियर छैन भने त्यस्तो अवस्थामा जानु हुँदैन भन्ने मान्यता छ । यो पढाइएको तथा सिकाइएको पनि हुन्छ । विभिन्न ट्रेनिङहरूमा पनि भनिएको हुन्छ । यो विश्वव्यापी मान्यता हो । 

 


० यसको मतलब भीएफआरबारेको कार्यविधि र नियम पालनामा पनि त्यति गम्भीर नहुने प्रचलन हाम्रो उड्डयन क्षेत्रमा छ ? 


–हामीले बनाएको नियमहरू इन्कार गरेर कोही इनरुटमा जान्छ भने त त्यसको परिणाम गलत नै आउँछ । त्यसैले मैले अघि भनेजस्तो उडानका कार्यविधि तथा नियमहरूको पालनामा हेलचेक्रयाइँ गरेको घटनाक्रमहरूले देखाइरहेका छन् । दुर्घटनापछि गठित छानबिन समितिले पनि यस्तै निष्कर्ष निकालेका छन् । 

 


० नेपालको भौगोलिक बनावटका कारण एउटै रुटमा पनि मौसम फरक हुने र त्यसले पनि आकाशलाई असुरक्षित बनाएको भनिन्छ नि ? 


–हो, मौसममा छिनमै फेरबदल आउने अवस्था पनि हुन्छ । त्यसैले हामीले भीआरएफ क्लियर नभएको अवस्थामा फर्किने नियम पनि बनाएका छौं । लामो रुटमा जस्तै काठमाडौंबाट विराटनगर जाँदा बीचको मौसममा आकष्मिक रुपमा आउने बदलाव ठम्याउन सकिन्न । यस्तो बेला उडानलाई अघि बढाउनबाट रोकेर फर्किने कि अन्य सुरक्षित विमानस्थलमा ल्यान्ड गर्ने भन्ने निर्णय गर्ने अधिकार चालक दलका सदस्यलाई दिइएको हुन्छ । 

 


० क्षमताभन्दा बढी तौल बोकाउने र पाइलटहरूलाई जबरजस्ती गर्ने प्रवृत्ति पनि नेपालमा अलि बढी छ भनिन्छ । यस्तै हो ? 


–नेपालगञ्जबाट सिमिकोट या बाजुरा लैजानु प¥यो भने १ केजीमा करीब करीब १ सय रुपैयाँ फरक पर्छ । त्यसैले रेटले पनि विशेष गरेर दुर्गम क्षेत्रका उडानहरूलाई प्रभावित बनाएको साँचो हो । म आफैं पनि फ्लाइट सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्ट (उडान सुरक्षा मापदण्ड विभाग)को निर्देशक हुँदा विभिन्न समयमा छड्के गरेको थिएँ । यसक्रममा  नियम उल्लंघन गरेको भेटिएपछि कारबाहीसमेत गरिएको थियो । 

 


० यस्ता गम्भीर समस्याहरू रहेछन् । त्यस्ता समस्या रोक्नचाहिँ तपाईंहरू किन नसक्या ? 


–खासगरी दुर्गम क्षेत्रको हवाई उडानमा बढी तौल बोक्ने समस्या छ । यसलाई रोक्न हामीले प्रयत्न नगरेका होइनौं, गरिरहेका छौं । रोक्दा रोक्दै पनि कहिलेकाहीँ त्यस्ता प्रवृत्ति देखापर्छन् । तर अहिले यस्ता प्रवृत्तिमा निकै नै सुधार आएका छन् । नेपालभर जति विमानस्थल छन्, तिनका प्रमुखहरूलाई नै कानूनहरूले नियमन गर्ने अधिकार दिइएको हुन्छ । उहाँहरूले हेरिरहनु भएको पनि छ । तर यसमा विमानका चालक क्याप्टेनदेखि यसका चालक दलका सदस्य नै बढी जिम्मेवार देखिन्छन् । 

 


० तर, विमानस्थलका प्रमुख, चालक दल सदस्यहरूकै मिलेमतोमा बढी तौल बोक्ने परम्परा छ भनिन्छ नि ? 


–होइन, यसमा हामीले निरन्तर अनुगमन गरिरहेका हुन्छौं । सम्भावित क्षतिलाई हेरेर हामीले सचेतता अपनाइरहेका हुन्छौं । 

 


० चलिरहेका जहाजहरूको यान्त्रिक परीक्षणको अवस्थाचाहिँ नेपालमा कस्तो छ ? 


–नेपाल अन्तर्राष्ट्रिय नागरिक संगठन (आईकाओ)को सदस्य राष्ट्र हो । आईकाओले यसका सदस्य राष्ट्रहरूका लागि विभिन्न कार्यविधि तथा नियमहरू बनाएको छ । हामी सदस्य राष्ट्र भएकाले त्यसको नियम पालना गर्नुपर्छ । 

 


० गर्नुपर्छ मात्रै कि गरिरहेका पनि छांै त ? 


–आईकाओले तोकेको मापदण्ड पूरा गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौं । बरु हामीले आफ्नो मौलिकता अनुरुप हवाई उडानलाई सुरक्षित पार्न विभिन्न नियम–कानूनहरू बनाएका छौं । पाइलट, इञ्जिनियर, एयर ट्राफिक कन्ट्रोलर सबैको योग्यता परीक्षण गरेर लाइसेन्स दिने काम पनि गरिरहेका छौं । नेपाल मेडिकल काउन्सिलले जसरी एउटा डाक्टरलाई लाइसेन्स दिन्छ, हामीले पनि ठीक त्यसैगरी एयरलाइन्समा काम गर्ने इञ्जिनियरहरूलाई लाइन्सेन्स दिने गरेका छौं । जहाजको यान्त्रिक अवस्था के छ भनेर परीक्षण गर्ने काम उहाँहरूकै हो । र, नेपालभित्र रहेका सबै एयरलाइन्सहरूले यस्ता इञ्जिनियरहरूको व्यवस्था पनि गरेका छन् । यतिले मात्रै पुग्दैन कि भनेर नागरिक उड्डयन प्राधिकरण आफैंले पनि बेला परीक्षण गर्दै आएको छ । 

 


० तपाईंहरूले नियम बनाए पनि यसको कार्यान्वन पक्ष अलि फितलो भयो । एयरलाइन्सहरूले परिपालना गर्न आनाकानी गरे भनिन्छ नि ? 


–यसको प्रभावकारितामा प्रश्न उठाउने ठाउँ म देख्दिनँ । आईकाओले उडान सुरक्षा, कानून, संस्थालगायतको मिहीन ढंगले अडिट गर्छ । यो अडिटमा विश्वको औसतभन्दा नेपाल माथि छ । यसले नै नेपालको हवाई सुरक्षाको अवस्था के छ भन्ने देखाउँदैन र ? म यहाँनिर के कुरा पनि जोड्न चाहन्छु भने हवाई दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, तर शून्यमा झार्न सकिँदैन । त्यसैले हामी न्यून गर्नेतर्फ लागिरहेका छौं । भर्खरै स्वर्गीय हुनु भएका मन्त्री रवीन्द्र अधिकारी पनि हवाई सुरक्षाबारे बढी नै चिन्तित हुनु भएको थियो । 

 


० हवाई सुरक्षाबारे उहाँको धारणा के थियो ?


–हवाई दुर्घटनाहरू भइरहेका छन् । यसलाई न्यूनीकरण गर्नुपर्छ । हामी कहाँ–कहाँ चुकेका छौं त्यो पत्ता लगाएर हवाई यात्रालाई सुरक्षित पार्नुपर्छ भन्नुहुन्थ्यो । बारबार हामीलाई झक्झकाइ रहनु भएको थियो । हामी पनि कमजोरी सुधारेर हवाई यात्रालाई सुरक्षित पार्नेतर्फ गम्भीरतापूर्वक काम गरिरहेका छौं । 

 


० हरेक दुर्घटनापछि हामीले छानबिन समिति गठन गर्छौं । त्यसले प्रतिवेदन पनि दिन्छ । तर, फेरि उस्तै प्रकृतिका दुर्घटनाहरू हुन्छन् । एउटै समस्या किन बारबार किन आइरहेको छ ? 


–तपाईंले भनेजस्तै आम जनमानसमा यस्ता प्रश्नहरू उब्जिरहेका छन् । अन्तर्राष्ट्रिय प्रचलनमा दुर्घटनापछि छानबिन गर्नैपर्छ । यसको उद्देश्य भावी दिनहरूमा एउटै समस्या नदोहोरिउन् भन्ने नै हो । त्यही अनुरुप छानबिन समितिले दिएको प्रतिवेदनअनुरुप करेक्सनका काम पनि भइरहेका हुन्छन् । तैपनि हवाई उडानमा अपेक्षित प्रगति हासिल भएको छैन । यतातिर गम्भीर भएर हामीले सोच्ने अवस्था जरुर छ । 

 


० निजी तथा सरकारी एयरलाइन्सहरूको व्यापारिक स्वार्थ छानबिनका क्रममा हाबी हुने र त्यसको छायाँमा परेर तथ्यलाई नै बंग्याइने गरिएको आरोपहरू लाग्ने गरेका छन् । सत्यता यस्तै हो ? 


–यसमा मलाई सत्यता लाग्दैन । किनभने हरेक जहाजमा ब्ल्याकबक्स हुन्छ । ब्ल्याक्सबक्समा दुईवटा कम्पोनेन्ट हुन्छ । एउटा ककपिट भ्वाइस रेकर्डर । अर्को, फ्लाइट डाटा रेकर्डर । भ्वाइस रेकर्डरमा ककपिटमा पाइलटले कुरा गरेको कुरा रेकर्ड गरेको हुन्छ । फ्लाइट डाटा रेकर्डरले एयरक्राफ्टको हरेक क्षणको नोट गरेको हुन्छ । यी सबै कुराको विश्लेषण गरेर मात्रै दुर्घटनाको प्रतिवेदन दिइने भएकाले व्यापारिक स्वार्थको छायाँ यसमा पर्ने सम्भावना हुँदैन । फेरि उड्डयन क्षेत्रमा कहलिएका व्यक्तिहरूलाई राखेर समिति गठन गरिने भएकाले यसमा प्रश्न उठाउनु उचित हुन्छ जस्तो मलाई लाग्दैन ।

 


० पछिल्लोपटक ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भयो । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित प्रतिष्ठित ७ जनाको जीवन समाप्त भयो । यो दुर्घटनाबारे केही अनुमान गर्न भ्याउनु भएको छ ? 


–ताप्लेजुङको हवाई दुर्घटनाबारे छानबिन गर्न अनुभवी नेपाल उड्डयन नागरिक प्राधिकरणका महानिर्देशक हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसम्म हुनु भएका आदरणीय यज्ञप्रसाद गौतमको अध्यक्षतामा समिति गठन भएको छ । अन्य सदस्यहरू पनि उत्तिकै अनुभवी तथा विषय विज्ञ हुनुहुन्छ । उहाँहरूले सुक्ष्म अध्ययन गरिरहनु भएकाले प्रतिवेदनमा त्यसको यथार्थता बाहिर आउने छ । विभिन्नखाले अनुमानहरू यसमा भइरहेका छन् । त्यसैले यसमा प्राधिकरणले केही कुरा भनीहाल्नु अलि हतारो हुन्छ । 

 


० उड्डयन क्षेत्रको नियामककारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणचाहिँ यतिबेला के गरिरहेको छ ? 


–आईकाओले तोकेको मापदण्ड र आफैंले बनाएका नियमहरू पालना गराउनेतिर लागिरहेका छौं । भएका कमीकमजोरी सच्याउनेतिर पनि काम भइरहेको छ । 

 


० युरोपियन युनियनले नेपालको आकाशलाई असुरक्षित ठह¥याउँदै लामो समयदेखि कालोसूचीमा राखेको छ । यो अविश्वास हटाउन प्राधिकरणले केही गरिरहेको छ कि ? 


–युरोपियन युनियनले हामीलाई केही सुझावहरू दिएको छ । हामी आईकाओका सदस्य हौं । त्यसका सिद्धान्त र नियमहरू हामी अक्षरशः पालना गर्नुपर्छ । इयू जस्ता अन्य उड्डयन निकायहरू पनि विश्वमा छन् । तर तिनले भनेका सबै कुरा मान्नुपर्छ भन्ने छैन । तथापि, राम्रो कुरा छन् भने ग्रहण गर्नुपर्छ । युरोपियन युनियनका चासो अनुसार सुधार्ने प्रयास भइरहेको छ । तर हाम्रो खास चासो भने आईकाओको सिद्धान्त अनुरुप अघि बढ्ने मै केन्द्रित छ । 

 


० प्राधिकरणले अहिले झेलेका समस्या तथा अपूर्णताहरू के के छन् ? 


–सुरक्षाको सवालमा त कसैले कसैसँग सम्झौता गर्ने अवस्था छैन । यसमा हामी गम्भीर छौं । सांगठनिक सुधारको कुरा पनि गरिएको छ । ती कुराहरूको सुधारमा प्रयास गरिरहेका छौं । 

 


० प्रविधि र इक्विपमेन्टको अभावचाहिँ प्राधिकरणले भोगिरहेको छ कि छैन ? 


–म सबैलाई के विश्वस्त पार्न चाहन्छु भने प्रविधि र इक्विपमेन्टका कुरामा हामी गम्भीर छौं । यसमा हामीले कुनै कमी हुन दिएका छैनौं ।

 

 
० पूर्वाधारको असुविधा छन् कि ? 


–धेरै नै पूर्वाधारहरूको विकास भइसकेको छ । दुर्गमका विमानस्थल पक्की बनाइएका छन् । तराईका विमानस्थलहरूमा काम भइरहेको छ । भरतपुरबाहेकका सबै विमानस्थलमा २४ सै घण्टा उडान गरिरहेका छौं । गौतम बुद्ध विमानस्थल पनि छिट्टै सञ्चालनमा ल्याउँदैछौं । यसले थप हवाई यात्रा सुरक्षित गर्न बल गर्ने हाम्रो विश्वास छ । 

 


० केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बंगलादेश एयरलाइन्सको विमान भयानक दुर्घटनामा परेको थियो । त्यो दुर्घटनामा ठूलो मानवीय क्षति पनि भयो । तर, त्यसले दुर्घटनापछिको उद्धार र विमानस्थलको औकातबारे अनेक प्रश्न उब्जाएको छ । उद्धारका लागि आवश्यक प्रविधि तथा उपकरणमा हामी अलि पछाडि छौं हो ? 


–त्यो दुर्घटना आफैंमा अनौठो किसिमको थियो । मौसम र  रन वेमा कुनै समस्या नहुँदा पनि ठूलो दुर्घटना भयो । यान्त्रिक गडबडीका विषयमा छानबिन भइरहेको छ । तैपनि दुर्घटना भयो । दुर्घटनापछि गएको फायर भेहिकलले ठूलो क्षति हुनबाट जोगाएको सर्वबिदितै छ । कतिपयले बञ्चरोले हानेर उद्धार गरिएको भन्दै आलोचना गरेको पनि सुनियो । तर, फायर भेहिकलमा सबै खालका उपकरण हुन्छन् । र, जे सहज हुन्छ त्यसकै प्रयोग गरिन्छ । त्यही अनुरुप उद्धार टोलीले उद्धार गरेको हो । 

 


० तर, अझै अत्याधुनिक प्रविधि  भएको भए धेरैलाई बचाउन सकिन्थ्यो कि ? 


–उद्धार कार्य यस्तो हो कि जसमा जतिसुकै राम्रो गरे पनि संसारभर नै प्रश्न चिन्ह उब्जन्छ । त्यसलाई समीक्षा गर्दै पाठ सिकेर आउँदा दिनमा सुधार गर्ने कुरा नै महत्त्वपूर्ण हो । तर जहाँसम्म बंगलादेश विमान दुर्घटनापछिको उद्धार छ । त्यसमा फायरका साथीले उद्धारमा निकै कुशलतापूर्वक काम गर्नुभएको थियो । अमेरिकाको फायर एसोसिएसनले त नेपालको फायर टोलीलाई पुरस्कृत नै गरेको छ । तैपनि हामी अझ राम्रो गर्ने कुरामा प्रतिबद्ध छौं । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal