२०७६-१-७ , शनिबार


अख्तियारको निर्देशन र सार्वजनिक खरीद नियम लत्याएर ६ अर्बको ठेक्का 

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडौं, २०७५  माघ  २९ । सार्वजनिक खरिद ऐन अनुसार, साइट क्लियर भएपछि मात्र निर्माण प्रक्रिया अगाडि बढाउनुपर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि साइट क्लियर भएपछि मात्र टेण्डरलगायतका निर्माण प्रक्रिया अगाडि बढाउन सरकारका सबै निकायलाई निर्देशन दिएको थियो । तर, रेल विभागले भने सार्वजनिक खरिद ऐन र अख्तियारको निर्देशनलाई पूर्णरुपमा वेवास्ता गर्दै लालबन्दी–निजगढ खण्डको ४० किलोमिटर लामो रेल वे ट्रयाक(ट्रयाक बेड)को ८ वटा खण्डमा विभाजित गरेर सार्वजनिक टेण्डर आह्वान गरेको छ ।

 

२०७५  माघ १८ गते लगभग ६ अर्ब रुपैयाँ लागतको यी ८ वटा खण्ड(प्याकेज) ट्रयाक बेड निर्माणका निम्ति टेण्डर आह्वान गर्दा रेल विभागले वन विभागसँग काट्नुपर्ने रुखका लागि सहमति लिने प्रक्रियासमेत अगाडि बढाएको छैन । ट्रयाक बेडमा पर्ने रुख काट्न वन विभागबाट सहमति लिने प्रक्रिया सम्पन्न हुनका लागि कम्तीमा एक बर्ष लाग्दछ ।

 

अर्को महत्वपूर्ण पक्ष  ट्रयाकमा पर्ने जग्गाको मुआब्जाको प्रक्रिया पनि सुरु भएको छैन । ४० किलोमिटर लामो यो ट्रयाक बेडमा २० किलोमिटर जंगल क्षेत्र नै पर्ने स्थिति रहेको स्रोत बताउछ । 

 


रेल विभागले सार्वजनिक खरिद ऐन र अख्तियारको निर्देशन विपरीत ६ अर्ब लागतको ४० किलोमिटर रेल वेको ट्रयाक बेड  निर्माणका निम्ति ८ खण्डमा विभाजित गरेर टेण्डर गर्न हतार गर्नुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको असुरक्षित भविष्यको आशंकाको परिणाम मानिएको छ ।

 

कुनै पनि समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीबाट हट्नसक्ने आशंका भएकै कारणले गर्दा कमिशनको लोभमा परेर यो रेल वे ट्रयाकको निर्माण ठेक्का आह्वान गर्न सार्वजनिक खरिद ऐन र अख्तियारको निर्देशनविपरीत अगाडि बढाउन रेल विभागलाई दबाब दिएर लगाएका स्रोत बताउछ ।

 

सार्वजनिक खरीद नियमावलीको नियम ६ को (३)मा ‘‘सार्वजनिक निकायले निर्माण स्थलको ब्यवस्था नभई निर्माण कार्यको खरीद कारवाही शुरु गर्नु हुँदैन’’ भनेर स्पष्टरुपमा उल्लेख गरेको छ । ऐन, नियम र अख्तियारको निर्देशन नै लत्याएर किन हतार हतारमा टेण्डर आव्हान गरियो, यसको पछाडि कमिशन बाहेक अर्को रहस्य के छ भन्ने कुरा खोजीको विषय भएको छ । (साँघु साप्ताहिक, माघ २८)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal