२०७५-११-५ , आइतबार


महापञ्च एकता, हिन्दू राष्ट्र र राजतन्त्र : फुट र जुटको इतिहास

काठमाण्डौं ।  दुई तिहाईको कम्युनिष्ट सरकारले जनचाहना अनुरुप काम गर्न नसकिरहेको बेला हिन्दू राजतन्त्रका पक्षधर शक्तिहरू फेरि संगठित हुन थालेका छन । स्थानीय सरकार गठन भएको करिब २ बर्ष र संघीय सरकार गठन भएको एक बर्ष पुग्न लाग्दा केपी ओली नेतृत्वको सरकारले जनताका बीचमा उल्लेख्य काम गर्न नसकिरहेको टिकाटिप्पणी हुन थालेका बेला पञ्चायतकालीन महापञ्चहरूकाबीच एकता भएको छ ।

 

२०७५ माघ १८ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा पशुपति शम्शेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच एकता भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को निमार्ण भएको छ  । पार्टीले हिन्दू राष्ट्र र संवैधानकि राजसंस्थालाई बैचारिक नीतिकारुपमा अबलम्बन गर्ने एजेण्डा बोकेको छ ।

 


 पञ्चायती राजका स्थापित राजनीतिक खेलाडीका रुपमा रहेका लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीबीचको एकताले सबैभन्दा खुसी राजावादीहरू देखिएका छन । दोस्रो संविधान सभाको निर्वाचन पछि धर्म निरपेक्षता र गणतन्त्र स्वीकार गरेर राजनीतिक कर्म गरिरहेका पशुपति शम्शेर राणा  एकतासंगै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रका पक्षमा फर्किनुले कमल थापा नेतृत्वको राप्रपाका नेता कार्यकर्ताहरू पनि हौसिएका छन ।

 


पूर्वपञ्चहरूका पार्टी फुट्नु र जुट्नुलाई मानिसहरूले अस्वभाविक मान्दैनन् तर यति बेलाको राणा, लोहनी र चन्दको एकतालाई नेपाली राजनीतिमा अर्थपूर्णरुपमा हेरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह राजतन्त्र फर्काउन अनेकांै प्रयास गरिरहेका छन् । उनको सक्रियताले पूर्वपञ्चहरूलाई बेला बेलामा उत्साहित पार्ने गरेको छ । कांग्रेस पार्टीभित्र पनि महामन्त्री शशांक कोइराला र नेता शंकर भण्डारीहरूले हिन्दू राष्ट्रको पक्षमा बोल्दै आउँदा यता पूर्वराजा ज्ञानेन्द्र शाह र उनका शुभचिन्तक, समर्थकहरू हिन्दू राष्ट्रको आवरणमा राजतन्त्र फर्किने कुरामा आशावादी बन्दै गएका छन् ।   

 


संविधानमै नेपाल धर्म निरपेक्ष राष्ट्र हुने उल्लेख भइसकेको छ ।  कांग्रेसले पनि आफ्ना राजनीतिक दस्तावेजहरूमा धर्म निरपेक्ष राष्ट्र उल्लेख गर्ने गरेको छ । तर, २०७५ मंसिरमा राजधानीमा भएको कांग्रेस महासमितिको बैठकमा कांग्रेसले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन ग¥यो । नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा भारतको जोड बढी छ ।

 


राप्रपाका अध्यक्ष कमल थापाबाट नेपालमा हिन्दू राष्ट्रको अभियान सफल नहुने  निष्कर्षसहित भारतले कांग्रेसलाई उपयोग गर्ने नीति लिएको देखिन्छ । कांग्रेस महामन्त्री शशांक कोइरालालगायतका नेताहरूले खुलेरै हिन्दूराष्ट्रको पक्षमा लाग्नुले कमल थापाबाट मात्र हिन्दू राष्ट्र स्थापनाको अभियान सम्भव नहुने देखिएपछि भारतले कोइरालालाई उपयोग गरेर गर्न खोजेको विश्लेषकहरूको भनाई छ । यसरी एकातिर हिन्दू राष्ट्रको एजेण्डा कांग्रेसभित्र प्रवेश पाएपछि त्यसैको आडमा राजतन्त्रको पुनरस्थापनाको वहस पनि अघि बढ्ने अपेक्षा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको बताइन्छ । त्यसका लागि सबै पूर्वपञ्च र नेताहरूलाई राजतन्त्रवादीहरूले एकता प्रक्रियामा आउन दबाब दिइरहेको देखिन्छ ।

 


केही बर्ष यता पूर्वराजा ज्ञानेन्द्र बेलाबखतका शुभकामना सन्देश र विज्ञप्ति जारी गर्न काममा मात्र सीमित छैनन् । उनी आफ्नो पक्षमा देशभित्र जनमत र  विदेशमा समर्थन जुटाउन क्रियाशील हुँदै आइरहेका छन । राणा र लोहनीको पार्टी एकताले कमल थापालगायतका पूर्वमहापञ्च, नेताहरूलाई पनि पार्टी एकतामा आउन दबाब बढेको थापा निकट नेताको भनाई छ । आगामी निर्वाचन अघि नै हिन्दू राष्ट्रसहितको संवैधानिक राजतन्त्रका पक्षधर शक्तिहरूको एकता भइसक्ने ती नेताले बताए ।

 


पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकताको प्रयास बमोजिम नै राणा र लोहनी एक भएको एक थरीको दाबी छ । यो एकताका लागि पूर्वराजा ज्ञानेन्द्रले २०७५ फागुनमा झापाको हिमालयन टी गार्डेनमा राप्रपाका तीनै घटकका नेताहरूलाई बोलाएर आग्रह गरेको खबर प्रकाशमा आएका थिए । त्यसबेला पूर्वराजासँग राप्रपा नेताहरू लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङलगायतका शीर्ष र मध्यम खालका एक दर्जन नेताहरूलाई बोलाई एकताका बारेमा जोड गरेका थिए । स्रोतका अनुसार, पूर्वराजाको चाहना राप्रपा एक भइदिओस् भन्ने छ ।

 


 यस्तो छ फुट र जुटको इतिहास
   २०४७ साल यता पूर्वपञ्चहरूको पार्टी राप्रपा आधा दर्जन पटक विभाजित भएको छ भने, त्यति नै पटक जोडिएको पनि छ । पार्टी गठन गर्ने निर्णय त भयो तर नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो । त्यो विवाद थियो सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका बीचमा । नेतृत्वको यही विवादका कारण पार्टी गठन गर्ने निर्णयसंगै  २०४७ जेठ १५ गते दुई पार्टी जन्मिए ।

 


राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)  नामका दुई पार्टीको घोषणा भयो ।  बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए । चुनावमा देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो ।

 


चन्द पक्षबाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए । दार्चुलाका अकबरबहादुर सिंह थापा पक्षबाट जित्ने एक्लो सांसद बने । सूर्यबहादुर थापा आफैं पनि धनकुटाबाट पराजित भए ।

 


चुनावमा नराम्ररी पराजित भएपछि चन्द र थापाले  फेरि पार्टी एकता गर्ने बहस सुरु गरे । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी र चुनाव चिन्ह हलो राख्ने निर्णय भयो । २०४८ माघमा एकीकृत पार्टी बन्यो । त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने । २०५१ सालको मध्यावधि निर्वाचनपछि राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान भयो ।

 


देशभर १९ सिट जित्दै राप्रपा तेश्रो ठूलो पार्टी बन्यो ।  मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो। यो सरकार नौ महिना मात्रै चल्यो । अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए । उक्त खेलको एक खेलाडी राप्रपा थियो । त्यसको नेतृत्व गरेका थिए सुर्यबहादुर थापाले ।

 


थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने । देउवा प्रधानमन्त्री हुदाँ थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए । केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरू सक्रिय भए । राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो । लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए । २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने ।

 


आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा र चन्दबीच सम्बन्ध बिग्रियो । चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो । चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिँदै अघि बढे । उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे । पार्टी गठन भएको एक वर्षभित्र आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन ग¥यो । यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो ।

 


सत्ताको जोडघटाउमा सुरू भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो । एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो । २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो ।

 


२०४८ सालमा जस्तै यो फुट उसका लागि फलदायी भएन । २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो । थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन । पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो । तर, ६ वर्षपछि त्यो उल्टो भयो ।

 


यो हारपछि पुनः एकीकरणको दबाव सिर्जना भयो । उनीहरू तयारीमा जुटे । पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो । दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरूले सच्चिने चेत देखाएनन् । एकीकरण भएको दुई वर्षमा उनीहरूभित्र फाटो आयो । यसको एकमात्र कारण तात्कालीन राजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो ।

 


जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो । २०६१ माघ १९ मा राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । त्योभन्दा अघि आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएका बेला थापाकाविरुद्ध पशुपति शमशेर राणा सडकमा निस्किए । दुवै नेताहरूबीच तिक्तता बढ्यो । थापाको सरकार ढलेपछि उनको सरकारमा रहेका ६ जना मन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, हरिबहादुर बस्नेत, सर्वेन्द्र नाथ शुक्ल र रेणु यादव राप्रपामा फर्किएनन् ।

 


सूर्यबहादुर थापाको नेतृत्वमा बृहद राष्ट्रवादी शक्ति अभियान बन्यो । त्यो राष्ट्रिय जनशक्ति पार्टीमा रुपान्तरण भयो । राष्ट्रिय जनशक्ति पार्टी गठन हुने बेला भने थापाकै सरकारमा रहेका कमल थापा त्यहाँ बसेनन् । राप्रपामा फर्किएर महामन्त्री भए । राजाको ०६१ माघ १९ को कदमलाई हेर्ने दृष्टिकोणमा राप्रपामा मतभेद भयो । थापाले राजाको कदमको स्वागत गर्दै गृहमन्त्रीको रुपमा सरकारमा सहभागी भए । राप्रपाले फरक मत राखिरह्यो । २०६२ पुस २६ गते कमल थापाले नयाँ बानेश्वरमा राप्रपाको विशेष महाधिवेशन बोलाए । त्यहाँबाट राप्रपा नेपालको जन्म भयो ।

 


यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए । २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए । यो निर्वाचनमा उनीहरू कमजोर बने । अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए । उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए ।

 


संविधानसभा निर्वाचनमा हार व्यहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे । ०७० साल जेठमा यी दुई पार्टीहरूबीच एकता भयो । राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे । नयाँ पार्टीको नाम राप्रपा नै राखियो । यद्यपि थापा जीवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो ।

 


२०७२ बैसाखमा थापाको निधन भयो । त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे । यसबीचमा उनीहरूले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजासहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरू अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे ।

 


दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए । उनीहरू हलो र गाई चिन्ह लिई चुनावी मैदानमा होमिएका थिए । निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन ।

 


तर, कुनै सिट जित्न नसके पनि हिन्दू धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो । राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त ग¥यो ।

 


यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे । यी दुई पार्टीबीच २०७४ मंसिर ५ गते एकता भयो । कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने । यो पार्टीको चौथो एकता थियो ।

 


तर, यो एकता पनि लामो समय टिक्न सकेन । सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि पशुपति शमशेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे । यसबीचमा थापा सरकारमा पुगे र उपप्रधानमन्त्री हुँदै परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाले । संविधान जारी भएपछि संघीयता स्वरुपको निर्वाचनमा उनीहरूका बीचमा एकीकरणको प्रयास सुरु भयो । तर सफल हुन सकेन ।

 


उनीहरू एक्लाएक्लै निर्वाचनमा भाग लिए । त्यस्तै, प्रकाशचन्द्र लोहनीसमेत अलग पार्टी ‘राप्रपा राष्ट्रवादी’ गठन गरेर अलग्गिए । नेता लोकेन्द्रबहादुर चन्द भने राप्रपा नेपालमै रहे । सोही विभाजन अन्त्य गर्न  फेरि थापा र राणाका बीचमा सहमति भयो ।

 


२०७३ सालमा राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा, नेपालबीच एकता भएको थियो । तर, एकताको आठ महिनामै उनीहरूबीच विभाजन आएको थियो ।

 

थापासँगको विभाजनपछि राणा र लोहनीले छुट्टाछुट्टै पार्टी खोलेका थिए ।  राणा, लोहनी र चन्द २०३९ साल देखिका सहयात्री हुन । २०३९ सालमा प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेर २०४० सालमा लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाई सत्ताको बागडोर हत्याएका यी पूर्वमहापञ्चहरूको एकतालाई नेपाली राजनीतिमा अर्थपूर्णरुपमा लिइएको छ ।(साँघु साप्ताहिक, माघ २१)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal