२०७६-१-५ , बिहीबार


भेनेजुयलाको अपब्याख्या र अतिब्याख्या घातक 

सात समुद्रपारीको देश भेनेजुयला यतिखेर नेपाली राजनीतिको सर्वाधिक चर्चित र रोचक विषय बनेको छ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको एउटा विज्ञप्तिपछि नेपाली राजनीतिमा भेनेजुयला प्रकरण डढेलो सरह फैलिन थालेको छ । भेनेजुयला प्रकरणले सत्तारुढ पार्टीभित्र असहज अवस्था उत्पन्न भएको छ तर खुलेर सबै पक्ष बोलिसकेका छैनन् । भेनेजुयला प्रकरणले सरकारलाई पनि असहज लागिरहेको प्रष्टै देखिन्छ । 

 


भेनेजुयलामा अमेरिकाले हस्तक्षेप गरकै हो, यसो भन्न कुनै आइतबार कुर्न पर्दैन । भेनेजुयलामा हस्तक्षेप भएको विरोधमा विभिन्न साना कम्युनिष्ट पार्टीहरूले पनि विज्ञप्ति दिएका छन् । तर, उनीहरूको विज्ञप्तिलाई अधिकांशले ध्यान दिएनन् । तर, प्रचण्डले दिएको विज्ञप्ति भने अर्कै विषय बन्न गयो । प्रचण्ड सत्तारुढ पार्टीका अध्यक्ष हुन् र उनलाई ‘वेटिङ प्राइमिनिस्टर’ पनि मानिन्छ । त्यसैले उनको बोलीको खास अर्थ लगाइयो । अरुले के के अर्थ लगाउँछन् भन्ने बेग्लै कुरा हो तर अमेरिका रिसायो ।

 

अमेरिका रिसाउनु चानचुने कुरा होइन, अहिले विश्वको सर्वशक्तिमान देश उही हो । नेपाललाई आर्थिक विकासमा राम्रै सहयोग गरिरहेको छ । हुन त अमेरिकी सहयोगका कारण नेपाल यो अवस्थासम्म आइपुगेको होइन तर उसले असहयोग ग¥यो भने चाहिँ नेपाल अप्ठेरोमा पर्छ । अमेरिका विश्वको ‘दादा’ नै हो । 

 


अमेरिकालाई नेपालले चिढ्याउनु बुद्धिमानी पक्कै पनि होइन । प्रचण्डले कम्युनिष्ट भाइचारालाई ध्यानमा राखेर, अमेरिकी साम्राज्यवादको विरोध गर्ने आफ्नो परम्परालाई ध्यानमा राखेर विज्ञप्ति दिएका हुन् भन्ने हामी मानौंला तर अमेरिकाले मानिदिएन । अमेरिका साँच्चै रिसायो । सरकारले आयोजना गरेको कूटनीतिक व्रिफिङमा अमेरिकी राजदूत उपस्थित नै भएनन् । उनको अनुपस्थितिलाई अर्थपूर्ण मान्नैपर्ने हुन्छ । 
कूटनीतिक व्रिफिङभन्दा पहिले नै परराष्ट मन्त्रालयले एक विज्ञप्ति जारी गरी भेनेजुयला सम्बन्धमा धारणा सार्वजनिक गरेको थियो ।

 

परराष्ट्रको विज्ञप्ति असंलग्न परराष्ट्र नीतिको नेपाली परम्पराभित्रै आएको थियो । भेनेजुयलाको फैसला त्यहीँका जनताले गर्नुपर्छ भन्ने परराष्ट्रको धारणा अमेरिका अनुकूल देखियो तर त्यही विज्ञप्तिमा कुनै पनि देशमा हुने वैदेशिक हस्तक्षेपको नेपाल विरोध गर्छ पनि भनिएको थियो । यो धारणा चाहिँ अमेरिकाका लागि अनुकूल भएन । समग्रमा भन्ने हो भने अमेरिकालाई प्रचण्डको विज्ञप्ति पनि चित्त बुझेन, परराष्ट्रको विज्ञप्ति पनि चित्त बुझेन । 

 


अमेरिकालाई चित्त बुझेन भन्ने प्रष्ट भइसक्यो ? अब के हुन्छ ? प्रश्न यो हो । रिसाएको अमेरिकाले अब नेपाललाई के गर्छ ? प्रश्न यो हो । अनि, अमेरिकालाई फकाउन नेपालले के गर्छ ? यो पनि महत्वपूर्ण प्रश्न हो । 

 


अमेरिकासँग नेपालको खासै धेरै स्वार्थ बाझिँदैन, सीमाना पनि जोडिएको छैन । किन दुश्मनी मोल्ने ? अमेरिकाले अफगानस्थान, सिरिया, इराकमा सेना नै पठाएर हस्तक्षेप गरेको छ । अन्य विभिन्न देशमा हस्तक्षेप गरेको छ । मझौला दुरीको क्षेप्यास्त्र सम्बन्धी सम्झौताबाट पनि अमेरिका बाहिरिएको छ । युनेस्कोबाट समेत अमेरिका बाहिरिएको छ ।

 

यी सबै प्रकरणमा नेपाल बोल्यो ? नेकपा बोल्यो ? यसका नेताहरूले विज्ञप्ति जारी गरे ? केही समय अघि श्रीलंका र माल्दिभ्समा ठूलो राजनीतिक संकट आयो, खासखास देशहरूले निरन्तर हस्तक्षेप गरे । नेपाल बोल्यो ? दोक्लाममा भारत र चीनले भुटानलाई निरीह बनाएर द्वन्द्व गरे । नेपाल बोल्यो ? प्यालेष्टाइनमा अत्याचार भइरहेको छ । नेपाल बोल्यो त ? 

 


अहँ नेपाल बोलेन । बोल्नुपर्दथ्यो होइन, जहाँ आफ्नो स्वार्थ गासिँदैन, जहाँ ठूला शक्तिहरू स्वार्थको द्वन्द्व गर्छन् त्यहाँ नेपाल किन बोल्ने ? किन कतै लाग्ने ? किन कसैको विरोध र समर्थन गर्ने ? तर, यसो भनिरहँदा भेनेजुयलामा भइरहेको विदेशी हस्तक्षेपमा चाहिँ आँखा चिम्म गर्न मिल्दैन । प्रचण्डले भेनेजुयलामा अमेरिकी हस्तक्षेप मात्र देखे । वास्तवमा सडकबाट घोषणा गरिएको सरकारलाई समर्थन दिने सबै देशले भेनेजुयलामा हस्तक्षेप गरेका छन् । ती सबैको विरोध गरेको भए प्रचण्डले विषयलाई वृहत् आयामबाट हेरेको पनि देखिन्थ्यो र अमेरिका यतिविघ्न रिसाउने अवस्था पनि आउँदैनथ्यो । 

 


पार्टी र सरकारको एउटै धारणा हुन्छ भन्ने नेपाली राजनीतिक परम्परामा देखिँदैन । आफ्नै पार्टीको सरकार हुँदा महंगी नियन्त्रण गर, यो काम गर, ऊ काम नगर भन्दै पार्टीले नै ज्ञापन पत्र बुझाएको देश हो नेपाल । प्रचण्डको विज्ञप्तिमा पार्टीको धारणा छ होला तर उनको विज्ञप्तिमा सरकारको पनि विचार खोज्नु र विचार देख्नु भनेको अमेरिकाको अर्घेल्याईं नै हो ।

 


अमेरिका रिसाएको र भेनेजुयला प्रकरण सतहमा आएको यो बेलालाई सरकारले मौकाको रुपमा प्रयोग गर्नुपर्छ । यही बेला नेपालले आफ्नो धारणा अझ प्रष्ट पारेर असंलग्न परराष्ट्र नीतिप्रति आफू प्रतिवद्ध भएको देखाउनुपर्छ । ठूला देशहरूको स्वार्थको द्वन्द्वमा हामी बेसरोकार र तटस्थ बस्छौं भन्ने देखाउन सक्नुपर्छ । अमेरिका, भारत, चीन लगायत सबै ठूला देशहरू विरुद्ध लाग्दैनौं, कुनै पनि देशको पक्षमा लाग्न दिँदैनौं भनी आश्वस्त र विश्वस्त पार्नुपर्छ । विवाद सतहमा आएको बेला नै हो आश्वस्त र विश्वस्त पार्ने । 

 


भेनेजुयला प्रकरणको अपव्याख्या र अतिव्याख्याले देशको भलो गर्दैन । परराष्ट्र मामिला तथा अर्काे देशसँग सम्बन्ध बिग्रिने विषयमा सबैले संयमित हुनुपर्छ । सबैले देशहितलाई केन्द्रमा राख्नुपर्छ । अनावश्यक ठाउँमा बढी बोल्ने र अरुसँग हेपिने काम नेपालले गर्न हुँदैन । यसका लागि सबै दल र नेताहरूले ठण्डा दिमागले सोच्नुपयो । (साँघु साप्ताहिक, माघ २१)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal