२०७५-११-५ , आइतबार


यो कृषि अनुदान वितरण प्रणालीमै खोट छ

(डा. केदार बुढाथोकी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट अवकाशप्राप्त कृषि वैज्ञानिक हुन् । अवकासपछि उनी कृषि फर्म सञ्चालन गरेर निःशुल्क विशेषज्ञ सेवा र परामर्श दिँदै आइरहेका छन् । उनै बुढाथोकीसँग नेपालको कृषि सम्भावना र यसका समस्याबारे गरिएको कुराकानीः सम्पादक)


० नेपालमा कृषिको सम्भावना छ भनिन्छ । तर युवाहरूको यसमा आकर्षण देखिँदैन । किन यस्तो भइरहेको छ ? 
–कृषिको सम्भावना विश्वका अरु देशमा भन्दा नेपालमा ज्यादा छ । मैले बितेका ५० वर्षमा विश्वका धेरै देश घुमेँ । तर, नेपालमा जत्तिको कृषि सम्भावना भएको ठाउँ अन्यत्र कहीँ देखिनँ । नेपालमा हिमाल, पहाड र तराई तीनै किसिमको भूगोल छ । हाम्रा यी तीन किसिमका भूगोलमा संसारमा जुनसुकै ठाउँमा हुने चिजबिजहरू हुन्छन् । अमेरिका, बेलायत, भारत सबै देशमा हुने कुरा हाम्रो देशमा हुन्छ । अब तपाईं नै भन्नुस, के नेपालमा कृषिको सम्भावना छैन ?  

 


० यतिको सम्भावना भएर पनि यसको विकासचाहिँ किन हुन सकेन त ? 
–हिमालमा एउटा प्रजातिको मृग पाइन्छ । त्यसको नाम हो – कस्तुरी मृग । शरीरबाट सुगन्ध दिने यो मृगको एउटा स्वभाव बडो बिचित्रको छ । यसले आफ्नै सुगन्ध थाहा पाउँदैन र त्यही सुगन्धको लागि भौतारिरहन्छ । हामी नेपालीको अवस्था पनि त्यही कस्तुरी मृगको जस्तै छ । हामीले अथाह सम्भावना कृषिमा भएता पनि त्यो सम्भावना चिन्न सकेका छैनौं । सम्भावना चिन्न नसकेर मात्र हामी पछि परेका हौं । आफूलाई खान होइन, अरुलाई मनग्य बेच्न सक्ने गरी उत्पादन गर्न सक्छौं, हामी । तर, सरकार र यसका निकायहरूको ध्यान कहिल्यै कृषिमा परेन । कारण, अथाह सम्भावना भएर पनि कृषि उपेक्षित भएको छ । 

 


० हाम्रो देश नेपालमा बढी सम्भावना भएका कृषिबालीहरू के के हुन्, त्यो सम्भावनालाई चिन्ने क्षमता हामीमा कत्तिको छ ? बताइदिनुहोस् न !
–अब बर्खा लाग्दैछ । बर्खा लागेपछि छिमेकी देश भारतलगायतमा गोलभेँडा हुँदैन । तर, हाम्रोमा बर्खामा पनि टन्न गोलभेँडा फलाउन सकिने प्रशस्न जग्गा जमिनहरू छन् । रायोको सागको माग भारतसम्म छ, यसबाट पनि हामीले लाभ लिन सक्छौं । भूगोल र हावापानीको विविधताले गर्दा हाम्रो देशमा विश्वमा हुने अधिकांश चिजबिजहरू उत्पादन हुन्छ । कफी, चियादेखि लिएर सबै कुरा हुन्छ । तर सम्भावना केबल सम्भावनामै सीमित छ । 

 


० अलि बढी सम्भावना भएको चाहिँ के छ नेपालमा ? 
–पहिलो कुरा त आफू बाँच्नु प¥यो । बिक्री गर्ने भनेको आफूलाई पुगेपछि हो । नेपालका तरकारीहरूको माग भारत, बंगलादेशलगायत देशसम्मै भएकाले तरकारी बालीहरूमा राम्रो सम्भावना छ । नेपालमा विश्वमै नपाइने जडिबुटीहरू हुन्छन्, जुन उत्तिकै बहुमूल्य पनि छन् । त्यसबाट मनग्ये आम्दानी हामी गर्नसक्छौं । तर, हाम्रो ध्यान त्यसतर्फ पुग्न सकेको छैन । यी सबै सम्भावनालाई हामीले क्याच गर्ने हो भने हाम्रो देश यही कृषि पेशाबाट नै सम्पन्न हुन्छ । हामीले अरु काम गर्नु नै पर्दैन । 

 


० कृषिमा नेपालको जुन सम्भावना छ, त्यसको कति प्रतिशत हामीले उपयोग गरेका छौं त ? 
–मानिलिनुस् कृषिमा सात वटा खुड्किला छन् । ती सात खुड्किला मध्ये पहिलो खुड्किलो पनि हामीले पार गर्न सकेका छैनौं । हामीले सातवटै खुड्किला पार गर्ने हो भने विश्वमै अब्बल नेपाल हुनेछ । 

 


० नीतिगत, योजनामा कमजोरी छ । माथिल्लो निकायमा हुनेले स्वार्थ मात्र हेरे भन्ने सुनिन्छ । ढंग नपुगेको चाहिँ कहाँनिर हो ? 
–पहिलो त हामी योजना बनाउँदा नै चुकेका छौं । उदेकलाग्दो कुरा के छ भने कृषि वैज्ञानिक र विशेषज्ञ हाम्रो देशमा मनग्ये छन् । तर, वैज्ञानिक र विज्ञले होइन, आइएड, बिएड गरेकाले यहाँ कृषिको योजना बनाउँछन् । अब तपाईं नै भन्नुस्, क्रिकेटको खेलाडीलाई फुटबल खेलमा उतारेर उसले कस्तो परिणाम निकाल्ला ?  अहिले भएको नै यही हो । यही हचुवापनका कारण गोलभेंडा फल्ने जमिनमा मकै खेती, मकै फल्ने जमिनमा गोलभेंडा खेती भइरहछ । खेती गर्दा उत्पादन गर्ने, उपभोग गर्नेदेखि बजारमा निर्यात गर्नेसम्मको  योजना बनाउनु पर्छ । तर, हाम्रोमा यस्ता योजनाहरू कुन चरीको नाम हो कसैलाई थाहा छैन । कारण, हामीले गरेका उत्पादनहरूले अनेक समस्यामा फस्छन् । 

 


० राम्रा योजनाहरू चाहिँ बनेकै छैनन् त ?
–राम्रा योजनाहरू पनि बन्छन्, बन्दै नबन्ने त होइन । केही योजनाहरू बनेका हुन्छन् । तर हाम्रा कृषिसँग सम्बन्धित सरकारी निकाय अप्रभावकारी हुँदा बनेका राम्रा योजनाहरू पनि कार्यान्वयन हुँदैन । केही प्रतिशत कार्यान्वयन भए पनि त्यसको फाइदा लक्षित वर्गले लिन सकेका हुँदैनन् । 

 


० यतिधेरै सम्भावना भएर पनि कृषिमा आकर्षण चाहिँ किन छैन ? 
–हेर्नुस्, कृषिमा सम्भावना भए पनि पाइला पाइलामा समस्यासँग जुध्नुपर्छ । अहिलेकै सन्दर्भमा कुरा गरौं, किसानलाई यतिबेला मलको जरुरत छ । तर, पुस–माघमा व्यवस्थापन गरेर दिन सकिने मल कृषकले पैसा तिरेर किन्छु भन्दा पनि यतिबेला पाउन सकिरहेका छैनन् । मल किन्न गएका कृषकसँग राज्य लाइसेन्स मागिरहेको छ । रक्सी किन्न, चुरोट किन्न लाइसेन्स नचाहिने, कृषि गर्छु भनेर कृषक मल किन्न जाँदा लाइसेन्स चाहिने ? यस्ता अनेक अप्ठ्यारा कृषिमा छन् । अब मल नै नभएपछि कृषकले कसरी धान रोप्न सक्छन् ? यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो, यस्ता कैयन समस्यासँग नेपाली किसानले जुध्नु परिरहेको छ । 

 


० यसले साँचो अर्थमा कृषि राज्यको प्राथमिकतामा छैन, उपेक्षित छ भन्ने देखाउँछ । सत्य यस्तै हो ? 
–मैले थाहा पाएदेखि नै राज्यको पहिलो प्राथमिकतामा कृषि छ । रातो किताबभित्र कृषि प्राथमिकतामा परे पनि व्यवहारमा भने कृषि प्राथमिकतामा पर्न सकेको छैन । अर्को कुरा राज्यले नै कृषि पेशालाई सम्मानित बनाउन सकेको छैन । कृषिलाई राज्यले नै गरिब, दुःखी, विपन्नले गर्ने पेशा भनेजस्तो गरी हेयको दृष्टिले हेर्ने गरेको छ ।  कारण, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सबै तह तप्काको पेटको सुरक्षा गर्दै आएको कृषिको विकास अपेक्षाकृत हुनबाट चुकेको छ ।  

 

० कृषिका मूलभूत समस्याहरू के के हुन् ? 
–पहिलो त हाम्रोमा सिँचाइको समस्या छ । सिंचाइ नहुँदा हाम्रा जमिनहरू बाँझै छन् । सिँचाइका लागि योजनाहरू पनि बन्छन्, बजेट छुट्ट्याइन्छ । तर, योजना अनुसारको काम हुँदैन, मिलिजुली बजेटलाई पकेटमा राखिन्छ ।  राज्यले बजेट छुट्याउँदा छुट्याउँदै पनि सिँचाइको समस्या ज्यूँकात्यूँ नै छ । अरु योजनाहरू पनि यसैगरी बालुवामा पानी हालेजस्तै भएका छन् । 

टाउको दुखाइको अर्को पक्ष बजार हो । बजार नहुँदा उत्पादन गरेका उपज सस्तोमा बिक्री गर्नु परिरहेको छ । यातायात असुविधा पनि उत्तिकै छ । बिजुली कहिले हुन्छ कहिले हुँदैन ।  यातायात असुविधा हुँदा उत्पादित वस्तुहरू बजारसम्म ल्याउनै समस्या छ ।  

 


० कृषि उत्पादनहरूले बजार नपाएको गुनासोहरू सुनिन्छ । खासमा बजारको समस्या किन भइरहेको छ ? 
–बजारको सन्दर्भमा कृषकको पनि कमजोरी छ । कृषकहरू कुन बेला के उत्पादन गर्दा राम्रो हुन्छ भन्ने छुट्याउन जान्दैनन् । राज्य तालिम र आवश्यक परामर्श दिन आवश्यक ठान्दैन । अरुको देखासिकीमा खेती गर्ने चलन हाम्रोमा छ । बजार समस्यामा सरकारको पनि कमजोरी छ । कृषकले रगत पसिना बगाएर उत्पादन गरेको कृषि उपजको फाइदा बिचौलियाले बसीबसी त्योभन्दा बढी लिइरहेका छन् ।

 

कृषक धनी हुनुपर्नेमा बिचौलिया रातारात मालिक बनिरहेका छन् । दुःखको कुरा सरकार यी सबै बेथिती हेरेर बसिरहेको छ । सरकारले यस्ता बेथितीहरू हल गरेर बजार व्यवस्थित गर्नेतर्फ सोच्नुपर्छ । अन्यथा भारतीय बजारले कृषिमा सम्भावना खोजेर आइरहेकाहरूलाई पनि विस्थापित गरिदिनेछ । आउँदा दिनमा नेपालमा हाम्रो उत्पादन शून्य र भारतको यततत्र हुनबाट कसैले रोक्न सक्नेछैन । 

 


० कृषकलाई अनुदान पनि सरकारले उत्तिकै दिइरहेको हुन्छ । सरकारी अनुदान कार्यक्रम कत्तिको प्रभावकारी छ  नि ? 
–पहिलो त यो कृषि अनुदान वितरण प्रणालीमै खोट छ । सयौं कृषकमा एक दुई जनालाई अनुदान दिएर केही हुनेवाला छैन । अर्को कुरा यसमै पनि धेरै लटरपटर भइरहेको छ । यसबाट वास्तविक किसानभन्दा पनि अरुले लाभ लिइरहेका छन् ।

 

सरकारले अनुदान कनिका छरेजस्तो गरी छर्नुभन्दा पनि बहुसंख्यक कृषकलाई फाइदा हुने कार्यक्रम बनाउनु पर्छ । जस्तै, पानी नभएको ठाउँमा पानी लगिदिने, सडक नभएको ठाउँमा सडक बनाइदिने, उत्पादित तरकारी बजारसम्म लैजान गाडी उपलब्ध गराउने खालको योजना सरकारले ल्याउनुपथ्र्यो । तर, यहाँ त धनीलाई थप धनी बनाउने अनुदानको पो बोलवाला छ त ! अर्बौं डलर भ्रष्टाचारमा हुँदा चुप लागेर बस्ने सरकारले अब कृषिमा मन फुकाएर बजेट छुट्ट्याउन ढिलाइ गर्न हुँदैन ।  

 


० लाखौं युवाहरू विदेशिएका छन् । यिनलाई रोक्न सामथ्र्य नेपालको कृषिले कहिले बनाउँला ? 
–हामीसँग सुन फल्ने जमिन छन् । तर, ती जमिन बाँझो राखेर नेपाली युवाहरू खाडीको तातो तावामा श्रम बेच्न बाध्य छन् । व्यवस्थित गर्ने हो भने खाडीमा भन्दा कैयौं गुणा बढी आम्दानी यही गर्न सकिन्छ । तर, वर्षौंदेखि सत्ता र कर्मचारी प्रशासनमा बसेर आफ्नो स्वार्थ मात्र हेरेकाहरू यसमा बाधक बनिरहेका छन् । सबैभन्दा पहिले टेस्टेड दलका नेता र कर्मचारी हटाउनु पर्छ अनिमात्र लाखौं युवाहरू देशमै केहीगर्न सक्ने हुन्छन् । अन्यथा नेपालको कृषिमा योभन्दा पनि भयाबह अवस्था आउनेछ । मैले देखेको त अब नेपाली बजारलाई भारतलगायतका उत्पादनले खर्लप्पै खाइदिने छ । 

 


० विषादी प्रयोगबारे कुरा गरौं । खासमा विषादीको प्रयोगमा अलि बढी मनपरी भएको हो ? 
–विषादी नराख भनेर सबै भन्छन् ।  तर, विषादीको विकल्प दिन कोही सक्दैनन् । विषादी नराख भन्नेले पहिले विकल्प दिन सक्नु प¥यो नि ? विषादीको विकल्प दिन नसक्ने अनि नराख पनि भन्ने ? यो त भएन नि । 

एनजीओ आइएनजीओहरूले डलर पचाउन हल्लीखल्ली गरिरहेका छन् कि नेपालमा विषादीको प्रयोग अत्यधिक भयो । वास्तवमा विषादीबारेको यो हल्ला गलत हो । संसारमा सबैभन्दा कम विषादी प्रयोग गर्ने देश नेपाल हो । छिमेकी भारतकै कुरा गरौं, त्यहाँ नेपालभन्दा कैयौं गुणा बढी विषादी प्रयोग भइरहेको छ । 

 


० आग्र्यानिक खेती गर्न पनि त सकिन्छ नि होइन ? 
–सकिन्छ, नसकिने होइन । तर, आग्र्यानिक खेतीबाट उत्पादन निकै कम हुन्छ । आग्र्यानिक खेती सबै हिसाबले ठीक भए पनि यसको महत्त्व कसैले बुझेका छैनन् । आग्र्यानिक तरकारी किन्ने हाम्रो चलन नै छैन ।  आग्र्यानिक तरकारी कोही नकिन्ने, अनि तरकारीमा विषादी राखियो भनेर हुन्छ ? विषादीको चिन्ता हुनेले आग्र्यानिक उत्पादन मात्रै प्रयोग गर्नु प¥यो नि त ? मैले अग्र्यानिक खेती गरेँ तर बिक्दै बिकेन । अहिले छाडिदिएँ । खाने मान्छे नै यहाँ त्यस्तै छन् । भत्केको देशको बिग्रको चाला भनेजस्तो पो छ, कसलाई के भन्ने ? 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal