२०७६-१-५ , बिहीबार


सिपाहीको मिशनको पैसामा हुने लुटतन्त्र अन्त्य होस् : सैनिक कल्याणकारी कोषको दुरुपयोग बन्द गरियोस् 

श्रीमान सम्पादकज्यू 

 

 प्रधानमन्त्रीज्यू, उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यू तथा प्रधानसेनापति पूर्णचन्द्र थापाज्यू, हामीले नेपाली सेनाको तर्फबाट तपाईहरू तिनै जनालाई सम्बोधन गरेका छौं ।  


हाल नेपाली सेनामा कार्यरत अधिकृत, पदिकसहित करीब एक लाखको हाराहारीमा भएका अन्य दर्जाहरूको तर्फबाट आफूमा परेका पीरमर्काहरूलाई साँघु साप्ताहिक पत्रिकामार्फत उजागर गर्ने जर्मको गरेका छौं । यस सम्बोधनपछि हामी आशावादी हुनेछांै कि, यहाँहरूले सिपाहीहरूको भावना तथा मर्मलाई आत्मसाथ गरेर तदारुकता देखाई यथाशीघ्र समस्या समाधानका लागि कदम चाल्नु हुने छ भन्ने अपेक्ष्ाँ गरेका छांै । 


 यूएन शान्ति मिशनबाट विश्वमा प्रतिष्ठा आर्जन गर्न सफल नेपाली सेनामा अनेकौं समस्या त छँदैछन् तैपनि यहाँ हामी केही जटिल समस्याहरू बारेमा भण्डाफोर गर्ने प्रयास गरेका छौं । विविध समस्याका वावजुद पनि सेवा अवधि पूरा गरेर छाड्ने अठोट लिएको सिपाहीको एउटै सपना अधुरो हुन्छ त्यो हो शान्ति सेना पछि जग्गा जमिन खरिद गरेर घर बनाएर आफ्ना कलिला लाला वाला प्यारी श्रीमती तथा जन्म दिने बाबु आमालाई सुन्दर घरमा राख्ने । तर, विडम्वना नेपाली सेनाका आफूलाई सदैव महान ठान्ने केही अवसरवादी जर्नेल, कर्णेलहरूले त्यो कर्तब्यनिष्ठ देश सेवक सिपाहीको सपना सदैव अधुरो बनाएरै छोड्ने गर्दछन् । 

 


 जब नेपाली सेनाको कुनै पनि दर्जाले शान्ति सेनामा भाग लिए वापत मिशनवाट प्रति महिना समान १४२८ अमेरिकी डलर(नेपाली रु १ लाख ५७ हजार) पाउछ र त्यही पैसाबाट कल्याणकारी कोषको लागि ४२८ अमेरिकी डलर (नेपाली रु ४७ हजार) प्रति महिना जबर्जस्ती कट्टौती गरेर व्यक्तिको खातामा १००० अमेरिकी डलर (नेपाली रु १ लाख १० हजार) मात्र दिने व्यवस्था मिलाईएको छ ।

 

यसरी नेपाली सेनाले कल्याणकारी कोषको लागि एक व्यक्तिबाट वार्षिक रु ५ लाख ६४ हजार जबर्जस्ती कट्टौती गर्ने गरिन्छ । जुन पूरा पाउनु पर्ने तलवको ३० प्रतिशत हो । यही सैनिक कल्याणकारी कोष जर्नेल, कर्णेलहरूको लुटतन्त्रको अखडा बन्दै आएको छ । सिपाहीले रगत पसिना बगाएर, ज्यानको बाजी थापेर विदेशमा आर्जन गरेको धन कल्याणकारी कोषको कति दुरुपयोग भएको छ भन्ने कुरा कसले खोज्ने ?  

 


हाल सेनाको शान्ति मिशन प्राय जसो  १ वर्षको लागि मात्र हुने गरेको छ । तर, कतिपय ठाउँमा १ बर्ष भन्दा बढी बस्दा तेह्रौ महिनालाई बदलीको समय देखाउदै विश्वमै नभएको १ वर्षमा ३९५ दिन हुन्छ भन्ने असान्दर्भिक कारण देखाई तेह्रौ महिनाको पैसा नदिने नीति बनाइएको छ । यहाँ पनि सेनाको कमाईमा शोषण हुने गरेको प्रष्ट छ । बाँकी दिनको पैसा दिन पनि ढिलासुस्ती गरेर सकेसम्म धुत्ने दुष्प्रयास गर्ने गरिन्छ । 

 


यसका केही उदाहरणहरू ज्वलन्त छन् । जस्तै ः लेवनान मिशन, कार मिशन तथा सुडान मिशनले १ वर्ष भन्दा माथि बसेको मध्य तेह्रौं महिनाको पैसा पाएका छैनन् । उता ११ महिना मात्र बसेको ईराक मिशनलाई ११ महिनाकै तलब दिईएको छ । यसबाट सिद्ध हुन्छ कि जति दिन मिशनमा बितायो त्यति नै दिनको पैसा पाउनु पर्छ । त्यो पनि मिशनमा संलग्न व्यक्तिहरूको बैङ्क खातामा पाउने रकम समयमै नराखी आफ्नो खातामा राखेर ब्याज खाने तथा डलर सटही दर बढी हुँदाहुँदै पनि कममा सटही गरेको देखाई कमिशन लिने भ्रष्ट कार्य हुने गरेको हामीले थाहा पाएका छौं ।

 

यसले गर्दा पनि हामी तल्लो दर्जालगायतका सेनाहरू चरम शोषणमा परेका छौं । सेनाको मिशन वापत पाउने रकम कसैको खेती गर्ने, आर्जन गर्ने भ्रष्ट कार्य तत्काल बन्द होस्, सम्बन्धित व्यक्तिको खातामा पैसा तत्काल जम्मा गरिदिएर जुन आउनुपर्ने ब्याज हो त्यो सब कमिशनमा गएको सम्बन्धमा छानविन गरेर कारवाही गरियोस् भन्ने माग गर्दछौं  । 

 


नेपाली सेनाको शान्ति मिशनमा हुने यस्तो आर्थिक अपराध, शोषणको अन्त्यका लागि रक्षा मन्त्रालय र प्रधानसेनापति थापाको ध्यान जावोस् । यस अपराधलाई यथाशीघ्र पारदर्शी बनाएर मिशनमा जानेहरूको मनोबल बढाइयोस् भन्ने माग गर्दछौं । हामी सेनाहरू घर परिवारलाई चट्टकै बिर्सेर सात समुन्द्रपारी गोली र बमका हजारौ गुञ्जनलाई सहेर ओठ मुख सुकाउदै जीवनमा एउटा वास बनाउने सपना जीवितै राखेको सिपाहीको सपनामाथि खेलबाड नहोस् यसको अन्त्य होस् । अन्य दर्जाको १४२८ अमेरिकी डलरबाट २०० देखि २५० अमेरिकी डलर मात्र कट्टी गरेर स्वयम् व्यक्तिलाई दिने व्यवस्था गरियोस् । मिशनमा खटिने पतिको प्रति महिना १०० अमेरिकी डलर मात्र कट्टी गर्दा सिपाहीको २५० अमेरिकी डलर सम्म काटियोस् । 

 


कल्याणकारी कोषको नाममा जबर्जस्ती काटिने गरेको  रकममा विचाराधीन होेस् । यो रकम पारदर्शी होस्, ताकि  जर्नेलहरूले मोजमस्ती गर्ने र तिनका श्रीमती र परिवारलाई मोजमस्ती गराउनका लागि बनाईएको कोष होइन भन्ने कुरा प्रधानसेनापति थापा चीफको पालामा सुधार होस् । कहाँ जान्छ अर्बौं अर्ब रकम, को हो यसको संरक्षक, नेपाली सेनाका सकल दर्जाको हो वा केही अवसरवादी भ्रष्टहरूको सात पुस्ते उतार्ने कोष ? यस कोषको सदुपयोग  गरियोस् र विगतमा भएका, गरिएका अनियमित खर्चहरूको पनि छानविन गरेर सत्यतथ्य सार्वजनिक गरियोस् ।

 

 
 सैनिक कल्याणकारी कोषको नाममा काटिएको पैसाबाट संचालित भएका सैनिक विद्यालयहरूमा कम्तीमा पनि सकल दर्जाको एक कक्षा देखिनै एक छोरा वा छोरीलाई अनिवार्यरुपमा भर्ना गरिदिने प्रावधान मिलाइयोस् । सातै प्रदेशमा सैनिक अस्पतालको ब्यवस्था गरियोस् । साथै हस्पिटल जस्तो संवेदनशील ठाउँमा दर्जाको वर्गीकरण नगरी उपचारमा समान अवसर प्रदान गरिदिनुहोस् किनकि रोगले कहिल्यै पनि धनी र गरीब भन्दैन, तेरो यो सानो दर्जा मेरो यस्तो ठूलो दर्जा पनि रोगले भन्दैन श्रीमान् चीफ सा’ब ।

 

हाल नेपाली सेनामा झाँ¨िएको नातावाद र कृपावादको जडलाई निमिट्यान्न पार्ने जुन अठोट चीफबाट गरिएको छ त्यो अभियान सफल होस् । हामी सिपाहीका छोरी, छोरा, श्रीमती तथा आमा बावु  भएकै नाताले पाउने सुविधामा भिन्नता नगरिदिनुहोस् । – पीडित सैनिकहरू, नेपाली सेना
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal