२०७५-११-५ , आइतबार


अहिले पेरिसडाँडामा जनवादी गीत गाउनै दिँदैनन् ! 

० जनवादी गीत गाएर तपाईंले जनता ब्युँझाउने काम गर्नुभयो । तर, तपाईंका पछिल्ला गीतहरूका शब्दहरूमा विगतका भन्दा निकै भिन्न ‘जय गणेश, कृष्ण’ जस्ता भगवानका नाम आउन थालेका छन् । तपाईंको पहिचान बदलिएको हो ?
–एउटा गायकले जनवादी, पप, आधुनिक, भजन सबै गीत गाउँछ । जुन गीत गाए पनि समग्रमा ऊ एउटा कलाकार हो । त्यसैगरी म पनि एउटा कलाकार हुँ । 


० जनवादी गायनले तपाईंलाई पहिचान दियो । त्यसलाई चाहिँ किन छाड्नुभयो भन्ने मेरो प्रश्न ?
–जनवादसँग मेरो नसा–नसा गाँसिएको छ । जनवाद भनेको आमजनताले खान, लाउन पाउने समृद्धि हो । त्यसैले यसबाट बाहिर हुने कुरै भएन ।  


० तर, तपाईंले जनताका ती आवाजहरू गीतमार्फत बुलन्द पार्न त छाड्नु भयो नि ?
–क्रान्तिमा मसँगै होमिनु भएका कैयन साथीहरू शहीद हुनुभयो । कति घाइते अवस्थामा हुनुहुन्छ । घाइते साथीहरूको अवस्था अहिले दयनीय छ । तपाईं देखिरहनु भएको छ, विगतका ती वलिदानहरूमा नेताहरूले इमान्दारिता देखाएका छैनन्, गद्दारी गरेका छन् । धोका दिएका छन् । त्यसैले अब तत्काल जनवादी गीतहरू गाउने मेरो योजना छैन ।


 ० धोका त नेताले दिएका हुन्, जनताले होइनन् । जनताका आवाज बोल्न छाड्दा जनतामाथि विश्वासघात गरेजस्तो हुँदैन ?
 –यसको मतलब मैले जनवादी गायन छाडेँ भन्ने होइन । जनवादी गायन छाड्नु भनेको समाजबाट अलग हुनु हो भन्नेमा म प्रष्ट छु ।


० खासगरी कम्युनिस्टहरूले धर्मलाई अफिम मान्छन् । त्यही स्कुलिङबाट हुर्केको तपाईंमा यो सच्चाइ कसरी आयो ?
–माक्र्सवादी दर्शनले धर्म र जनवादलाई परस्पर विरोधी भनेको छैन । माक्र्सले पनि कहिल्यै भगवानविरुद्ध बोल्नु भएको छैन । कुरा मात्रै के हो भने माक्र्सको पालामा धर्मका नाममा शासकहरूले राज्य गरिरहेका थिए । नेपालमै पनि राजा विष्णुका अवतार हुन् भन्ने भ्रम थियो । यी उतैबाट आयातीत स्लोगन हुन् । युरोपमा धर्मका नाममा ज्यादति भएकाले माक्र्सले त्यसको मात्रै विरोध गर्नुभएको हो, भगवान र धर्मको होइन । धर्म र भगवान मान्नु फरक कुरा हो ।


० धर्म अफिम मान्ने तपाईंको विगतको स्कुलिङ गलत थियो उसो भए ?
–माओ भन्नुहुन्थ्यो–सामन्तीको बन्दुक खोसेर सामन्तीलाई नै ठोक्नुपर्छ । माओको यो मान्यतालाई गैरकम्युनिस्ट तथा पुँजीवादीहरूले अतिरञ्जित गरेर भगवान नै मान्दैनन् भन्ने दुष्प्रचार गरिदिए । कम्युनिस्ट स्कुलिङमै हुर्केका केही नेता पनि उस्तै भ्रमात्मक प्रचार गर्न रमाए ।


० नेताको भ्रमात्मक प्रचारले गलत बुझाइ रहन गयो भन्न खोज्नु भा हो ?
–१७ हजार गरीब नेपाली बाबुआमाका छोराछोरी जनयुद्धका क्रममा मारिए । तर, त्यसको साँवा, ब्याज, लाभ भने २–४ जना नेताले मात्रै पाएका छन् । ती अपराधी हुन् । यिनै अपराधी नेताहरूले हामीलाई गलत स्कुलिङ गरेर भिडाएका रहेछन् । भगवानमा आस्था राख्दा मान्छेमा दया, मायाँ, करुणा जाग्छ भनेर क्रूर बनाउन यिनले गलत स्कुलिङ गरेको सत्य हो ।  


० धार्मिक गीत तथा भजनको गायन विगतका गल्तीहरूको रियलाइजेसन हो भनेर बुझ्दा हुन्छ ?
–म सानो छँदा मेरो घरमा पूजाआजा हुन्थ्यो । त्यो मेरो संस्कार र पहिचान थियो ।  । त्यही संस्कार र संस्कृतिलाई मैले आज पछ्याएको हुँ । यसलाई यसरी नै बुझ्नु उचित हुन्छ ।


० धार्मिक भजनको रेकर्ड कतिवटा गर्नुभयो ?
 –संस्कृत भाषामा रहेको जय गणेश... जय गणेश... भजनलाई नेपालीमा अनुवाद गरेर गाएको छु । अरु भजन भने कार्यव्यस्तताका कारण रेकर्ड गर्न भ्याएको छैन । तिनलाई विस्तारै रेकर्ड गर्दै जाने योजना छ ।


० कस्तो प्रतिक्रिया पाइरहनु भएको छ त ? 
–राम्रो प्रतिक्रिया पाइरहेको छु । भजन गाउन अहिले मलाई भ्याइनभ्याइ छ । अहिले तपाईंसँग कुरा गरिरहँदा पनि म मैतीदेवी मन्दिरमा छु । बालुवाटारको एउटा भागवतमा अघि मात्रै ३–४ वटा भजन गाएँ । जसरी मैले गाउने जनवादी गीतबाट उहाँहरू उत्साहित हुनुहुन्थ्यो, भजन कीर्तनमा लाग्दा पनि उत्तिकै मायाँ पाइरहेको छु । आखिर भजनकीर्तन सुन्ने पनि जनता नै त हुन् नि ?

 

० विगतमा तपाईंकै गीतहरू सुनेर धेरै जनयुद्धमा मर्न तथा मार्न तयार भएका थिए । अहिले त्यो विगततर्फ फर्केर हेर्दा कस्तो लाग्छ ?
–अहो, धन्य मेरो भौतिक शरीरचाहिँ बाँचेछ । म र मजस्ता अन्य कार्यकर्ताले गल्ती गरेका थिएनौं तर अपराधी नेताहरूले हामीलाई प्रयोग गरेका थिए । यी नेता भनाउदा, कस्ता गलत मानिसहरू नेपाल र यो धर्तीमा जन्मिएछन् भनेर समीक्षा गरिरहेछु ।


० गलत बाटो हिँडियो भन्ने पश्चातापमा डुब्नु भएको छ ?
–बाटो गलत छँदै थिएन । अहिले पनि भन्छु, हाम्रो गन्तव्य सही थियो । चढेको गाडी पनि ठीक थियो । तर ड्राइभर गलत परिदियो । जानुपर्ने एकातिर थियो तर लगिदियो नसोचेको तिर ।


० राजनीतिबारेको तपाईंको पछिल्लो बुझाइबारे पनि जानौं न ?
–राजावादी, प्रजातन्त्रवादी र साम्यवादी यी तीनवटा विचार बोक्ने दलहरू अहिले नेपालमा छन् । तर, यिनको गतिमति उस्तै छ । विचार फरक भएपनि तात्विकरुपमा यिनमा म खासै भिन्नता देख्दिनँ । यी सबै आपराधिक र भ्रष्ट बाटोमा अघि बढिरहेका छन् । भन्नलाई जे–जे भने पनि जनताको वास्तविक हितैषी होइनन् यी । आफ्ना कमजोरीको समीक्षा गरेर यी दल र नेताहरूले सही दिशा पक्डिउन् भन्ने मेरो चाहना छ ।


० नेताले बेइमानी गरेको कुरा गर्नुभयो । राजनीतिक आवद्धता पूर्णरुपमा त्याग्नु भएको हो ?
–माओवादी त्यागेर म डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा जोडिएको हुँ । पहिले त्यहाँ जोडिए पनि अहिले कमिटेड छैन ।


० किन नि ?
–राजतन्त्र, प्रजातन्त्र र साम्यवादको कुरा गर्ने नेताहरूको नियत नै खराब छ । बाबुराम भट्टराईको नियत सफा त छ तैपनि आफ्नै दुखहरू छन् । पहिलो त  देशलाई समृद्धि दिनुपर्छ भन्ने बाबुरामसँग ढंग नै छैन । उनको सबैभन्दा ठूलो दुखचाहिँ प्राज्ञिक दम्भ हो । सारमा बाबुराम मान्छे लिँडे हुन् ।


० अब तपाईंको गायन यात्राबारे कुरा गरौं । गीत–संगीत क्षेत्रमा चाहिँ कसरी आइपुग्नु भयो ?
–नेपालीहरू रोजागारीका लागि मुग्लान जाने प्रचलन पुरानै हो । मेरो बुबा–आमा पनि रोजगारीका धुनमा भारतको कालिम्पोङस्थित एक गाउँमा पुग्नुभएको थियो । ५६ वर्षअघि त्यहीँ मेरो जन्म भयो ।


० अनि शिक्षादीक्षा नि ? 
–पढाइमा म औसत थिएँ । तर, गीत–संगीतमा सानैदेखि रुचि थियो । कालिम्पोङ भारत भएपनि नेपाली भाषा नै बोलिन्थ्यो, गायिन्थ्यो । नेपाली गीत संगीत सुनेकाले मलाई सानैदेखि यसतर्फ झुकाव थियो । विस्तारै विद्यालयमा हुने कार्यक्रममा मैले गीत गाउन थालेँ । मलाई अहिले पनि सम्झना छ हरेक शुक्रबार हुने कार्यक्रममा प्रथम हुने म नै हुन्थेँ । त्यतिबेला म रेडियो नेपाल खुब सुन्थेँ । रेडियोले मलाई यतिधेरै मोहित पा¥यो कि म कालिम्पोङबाट म काठमाडौं डोहोरिएँ । ०३८ सालमा काठमाडौं आएदेखि यतै छु । 


० काठमाडौं आएपछिको यात्राचाहिँ कसरी अघि बढ्यो, बताइदिनुहोस् न ? 
–सुरुमा मैले अम्बर गुरुङसँग संगीत सिकेँ । गीतारचाहिँ खिचापोखरीमा रहेको हार्मोनियम माइलाकोमा सिकेको हुँ । यही सिकाइले मलाई ०४२–४३ सालमा रेडियो नेपाल प्रवेश गरायो । त्यहाँ मैले गिटारिस्ट भएर काम गरेँ । ०४५ मा भ्वाइस टेस्ट पास भएपछि मेरो गायन यात्रा पनि सुरु भयो । ‘सल्किएको सलाइ झैं छोटो जिन्दगानी...’ मेरो पहिलो गीत हो । त्यसपछि अरु–अरु गीतहरू पनि गाउन थालेँ ।  ‘अरुण तरेर नाना तमोर तरेर...’ चाहिँ ०६० सालमा जन्मेको हो ।  


० रेडियो नेपालको जागिरे एउटा व्यावसायिक कलाकार माओवादी आन्दोलन र जनवादी गायनमा कसरी जोडिन पुग्नु भयो ?
–रेडियो नेपालको मेरो जागिर अस्थायी थियो । अरु साथीहरू पछि स्थायी हुनुभयो । म पनि निरन्तर हुन्थेँ भने स्थायी हुन्थेँ । तर ३ वर्षजति काम गरेपछि ०४५ सालमा त्यससँगको आबद्धता त्यागिदिएँ । देशको स्वास्थ्य राजनीतिले बिग्रँदै थियो । ०४६ सालको जनआन्दोलनले यसमा केही सुधार ल्याउने अपेक्षा थियो, तर त्यसले पनि आशालाई निराशामा बदलिदियो । भ्रष्टाचार, बेथिती, गुण्डागर्दी थप मौलायो ।

 

यही क्रममा ०५२ सालमा माओवादीले राज्यका तमाम बेथितीविरुद्ध लड्ने उद्घोष गर्दै जनयुद्ध सुरु ग¥यो । मलाई लाग्यो–अब यसमै जोडिएर सबल राष्ट्र निर्माण गर्न लाग्नुपर्छ । त्यसपछि विभिन्न कमिटीहरूमा जोडिँदै, जनता र युद्धका गीत गाएँ । 


० यो अवधिमा कतिवटा जनवादी गीत गाउनु भयो ?
–ठ्याक्कै कति पुगे भनेर गनेको त छैन । तर करीब २ दर्जन जनवादी गीत मैले गाएको छु । 


० यी गीत गाउँदाका केही अविष्मरणीय क्षणहरू आफ्ना पाठकसमक्ष बाँडिदिनुस् न ? 
–त्यस्ता अविष्मरणीय घटना त धेरै छन् । भोजपुर आक्रमणभन्दा अगाडिको घटना मेरो मनमा अहिले पनि गढेर बसेको छ । युद्धमा हाम्रा कैयन कमान्डरहरू मारिएका थिए । बाँचेकाहरूको मनोबल यसले निकै गिराएको थियो । उनीहरू निकै हतास र भयभीत थिए ।

हाम्रा कमान्डर अनन्त, मणि थापा र अनन्त हुनुहुन्थ्यो । तर, आफैंभित्र निकै अन्तरविरोध उत्पन्न भएको थियो । आफू–आफैं भिड्ने स्थिति त्यतिबेला बनेको थियो । मैले नेताहरूलाई भेटेर अन्तरविरोध हल गर्न अनुरोध गरिरहेको थिएँ । तैपनि स्थिति काबुमा आउन सकिरहेको थिएन । फागुन महिना हुनुपर्छ, वर्ष ठ्याक्कै याद भएन ।

 

मैले गीतार निकालेर गाउन थालेँ–अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर...।’ केही समयअघिसम्म हारेका र आफ्नै साथीहरूमाथि जाइलाग्न कस्सिएका साथीहरू यही गीतको डोजले ठीक ठाउँमा आउनु भयो । अझ भनौं उहाँहरू सम्हालिनुभयो । यति मात्रै होइन, लडाइँमा होमिन राजी हुनुभयो । परिणामतः हामीले भोजपुर पनि जित्यौं । यस्ता संस्मरण, स्मरण मेरा मानसपटलमा दर्जनौं छन् । 


० थाकेका हारेका, मनोबल गिरेका सिपाहीलाई युद्धमा जान उक्साए भन्नु भयो । तपाईंकै गीत सुनेर लडाइँमा भिडेकाहरू कतिको जीवनलीला समाप्त भयो होला । वर्तमानमा उभिएर त्यो विगतलाई हेर्दा बेक्कारमा मर्न र मार्न प्रेरित गरेछु जस्तो लाग्दैन ? 
–मानवीय स्वभाव के हुन्छ भने उसले अरुको गल्ती देख्छ, तर आफ्नो देख्दैन । ममा पनि कमजोरी छ । छैन भन्दिनँ । तर, म यो युद्धका कमान्डरहरूले गन्तव्यमा पु¥याउनेमा त्यतिबेला विश्वस्त थिएँ । मलाई यिनले यसरी गद्दारी गर्लान् भन्ने किञ्चित लागेको थिएन । तर, भइदियो नसोचेको । यिनले क्रान्ति र समृद्धिको गाडी त्रिशूलीमा लगेर खसाइदिए । यो परिस्थिति आउँछ भनेर भविष्यवाणी गर्न नसक्नु, दूरदृष्टि ममा नहुनु मेरो कमजोरी हो । 


० जनवादी गीतहरू निकै अब्बल र राम्रा छन् । सस्ता माया–प्रेमका गीतले बजार तताइरहेका बेला जनवादी गीतहरू किन छायामा परिरहेको छ ? 
–जनवादी गीत शासनसत्तासँग सम्बन्धित छ । त्यसैले सत्ताधारीहरूको सञ्चारमाध्यमहरूमा जनताका गीतले ठाउँ पाउँदैनन् । कुरो प्रष्ट छ । 


० तर, शासनमा त अहिले तपाईंहरूकै गीतका साहरामा पुगेकाहरू नै छन् नि होइन ? 
–देशमा दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्टको सरकार छ । तर रेडियो नेपाल र नेपाल टेलिभिजनका साथीहरू अझै पनि जनवादी गीत भन्न डराउँछन् । हाम्रै केही साथीहरू पेरिस डाँडामा कार्यक्रम हुँदा जनवादी गीत गाउन दिँदैनन् । हाम्रा नेताले त जनवादी गीत बुझेनन् बुझेनन् कलाकारले पनि बुझेका छैनन् ।  कहिलेकाहीँ समाज नै ढोंगी भएकाले यस्तो भएको हो कि जस्तो पनि लाग्छ । 


० जनवादी गीत जनताबाट स्वीकृत भए पनि शासकबाट भएन भनेर बुझ्दा हुन्छ ? 
–सतप्रतिशत सत्य यही हो । जसले हामीलाई क्रान्तिमा होमे । प्रयोग गरे  । उसैले नै हाम्रो गीतलाई छिः छिः र दूर दूर गरिरहेको छ । मेरो आफ्नै एउटा भोगाइ कै कुरा गरौं न । मैले नेपाल टेलिभिजनमा ‘आस्थाका स्वरहरू’ कार्यक्रम चलाउँथे । त्यसमा जनताको प्रतिनिधित्व थियो । आवाज थियो । बरु कांग्रेस, राजावादीहरूले मेरो कार्यक्रमको प्रशंसा गरे, तर माओवादी स्कुलिङबाट आएका हाम्रै नेताले चिन्दैनन् । 


० यो कार्यक्रमले निरन्तरता नपाउनुमा पनि नेताहरूको हात छ कि ? 
–यो कार्यक्रम मैले कन्ट्याक्टमा गरेको थिएँ । यसरी गरिएको कार्यक्रमको रिन्यू गर्नुपर्छ । तर, माधव नेपाल सरकारको पालामा मेरो कार्यक्रम रिन्यू नै गरिदिएनन् । व्यक्तिका लागि नभएर राष्ट्र र जनताका लागि मैले त्यो कार्यक्रम गरेको थिएँ । मेरो गाँस र बासको व्यवस्था त म मैतीदेवी र बानेश्वर चोकमा गीत गाएर पनि गर्न सक्छु । तर नेताहरूले कहिल्यै हाम्रो समर्पण र त्याग बुझेनन् । मात्रै भ¥याङ बनाइरहे । चाइना र भारतलाई कसरी खुसी बनाउने भन्नेबाहेकका कुरामा उनीहरूको ध्यान नै छैन । 


० अबको योजना के छ ? 
–उमेरले ५६ वर्ष भएँ । बाँकी जीवन पनि गीत संगीतमै समर्पित गर्ने सोच छ । जनवादी, जागृति, सन्देशमूलकलगायतका सबैखाले गीत गाएर देश र समाजप्रति समर्पित हुनेछ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal