२०७५-११-५ , आइतबार


बागबजारमा ‘दोहोरी साँझ’ ले बिथोल्यो हाम्रो निन्द्रा : प्रहरी र जनप्रतिनिधिहरूले सुन्दैनन् गुनासो 

श्रीमान सम्पादकज्यू

व्यवसायका नाममा मध्यरातसम्म गानाबजानाकै कारण छिमेकीको निन्द्रा बिथोलिने समस्या न प्रहरीले सुन्छ, न त काठमाडौं महानगरको २८ नम्बर वडा अध्यक्ष वा अन्य कुनै निकायले नै हामी पीडितको गुनासो सुनेको छ ।

 


राजधानीको बागबजार पद्म कन्या कलेज नजिकै आरधाना कम्प्लेक्स (श्रेष्ठ टेलरिङ)को अगाडि रहेको ‘रमाइलो चौतारी’ नाम गरेको दोहोरी साँझमा व्यवसायका नाममा हुँदै आएको गानाबजानाको समस्या हामी यस वरपरका दर्जन बढी छिमेकीले लामो समयदेखि ध्वनि प्रदुषण ब्यहोर्दै आएका छौं ।

 

नेपाल प्रहरीको वृत्त अनामनगर र कमलपोखरी प्रहरी वृत्तलाई गुनासो सुनाउँदा पनि चासो नदिने र समस्या सामाधानका लागि  काठमाडौं महानगरको २८ नम्बर वडा कार्यालय र वडा का अध्यक्षले समेत कुनै चासो नदिएको अन्य निकाय बारे जानकारी नहुँदा हामी छिमेकी बागबजारबासीले ‘रमाइलो चौतारी’ को होहल्लाले गर्दा लामो सयमदेखि समस्या भोग्दै आउनु परेको छ ।

 


‘मध्यरातसम्मै चर्काे आवाजमा गाउने, बजाउने गरिन्छ, जसले विरामी, बालबच्चालगायतका हामी छिमेकी पीडित भएका छौं । आवाज सानो गराउ भन्दा पनि व्यवसायीले अटेर गर्छन्, महानगरी प्रहरी वृत्त अनामनगर र कमलपोखरी प्रहरी वृत्तलाई बारम्बार भनिसकियो, तर सुनेकोनसुन्यै जस्तो भयो । हामीले सुने अनुसार, प्रहरी वृत्तहरूलाई मासिक घुस ख्वाएकाले स्थानीय जनताको गुनासो नसुन्ने गरेका हुन् । 

 


साँझ ८ बजेसम्म खासै चहलपहल नहुने ‘रमाइलो चौतारी दोहोरी साँझ’मा त्यसपछि मध्यरातिसम्म निकै चहलपहल हुन्छ । साना उमेरका युवतीदेखि वयश्क महिला समेतले उक्त दोहोरी साँझका लागि ग्राहक खिच्ने गर्छन् । त्यसरी ग्राहक डाक्ने महिलाका व्यवहार, हाउभाउ र  उनीहरूले कुराकानीका क्रममा गर्दै सम्वादका शब्दावली यतिसम्म अश्लील हुने गर्छन् कि ‘...लाई भन्दा देख्नेलाई लाज’को भान हुन्छ ।

 


‘दोहोरी साँझभन्दा सुन्दा लोक संस्कृतिको जर्गेना गर्ने व्यवसाय जस्तो लाग्छ तर, त्यहाँको धन्दा बेग्लै हो,’ जानकारहरू भन्छन्, ‘युवतीले ग्राहकलाई प्रलोभनमा पारेर डाक्ने दोहोरी सँँझवालाले लुट्ने धन्दा भइरहेको हुन्छ ।’ त्यसरी डाकिएका ग्राहकले तिरेको बिलकै कमिशन त्यहाँ कामदार महिलाको आम्दानीको स्रोत हो ।

 


राजधानीमा कहीँकतै सामान्य आवाज बाहिर आएको भन्दै प्रहरीले कडाइ गरिरहेको हामी सुन्छौं । तर, कमलपोखरी प्रहरी वृत्तमा बारम्बार खवर भइरहँदा र प्रहरी कन्ट्रोलको फोन १०० नम्बरमा समेत गुनासो टिपाउने क्रम जारी रहँदा पनि प्रहरीले मध्यरातसम्म हल्लीखल्ली मच्चाएर छिमेकीको निन्द्रा बिथोल्ने व्यवसायीमाथि किन कारवाही गर्न वा समस्याको निकास दिन चाहिरहेको छैन भन्ने अर्थ महिनाभर असुल गर्ने घुस नै हो भन्ने स्पष्ट हुँदैन र ?

 


हाम्रा विरामी, बाल, बृद्ध, विद्यार्थी छोरा–नातिले जाँचको बेलामा पनि पढ्न पाइएन भनेर गुनासो गर्छन् । न त प्रहरीले सुन्छ न त हाम्रँ अधिकार सम्पन्न काठमाडांै महानगरको २८ वडाका जनप्रतिनिधिले गुनासो सन्छन् । रेष्टुरेन्ट मालिकलाई आवाज सानो गराउ वा साउण्ड प्रुफ गराउभन्दा हाम्रो पनि कमाई खाने भाँडो यही हो, ग्राहकले नै आवाज चर्काे चाहान्छन् भनेर हाम्रो गुनासोलाई हावामा उडाइदिन्छन् ।

 

हामीले कसरी रात काट्ने ? प्रहरी र जनप्रतिनिधिले हामी पीडितको गुनासो सुन्न मिल्छ कि ?  – ‘रमाइलो चौतारी दोहोरी साँझ’ पीडित छिमेकीहरू, बागबजार, काठमाडौं 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal